Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपाल अपडेट : पढौँ प्रमुख ५ खबर

नेपाल अपडेट : पढौँ प्रमुख ५ खबर


काठमाडौं । कोरोना कहर बढ्दै गरेको नेपालमा दशैको माहौँल सुरु भएको छ । संक्रमणको सन्त्रासले चाडपर्वको उल्लास नभएपनि विभिन्न सञ्चारमाध्यममा चर्चा र महत्व पाएका प्रमुख पाँच खबर यस्ता छन् ।

तस्करी रोक्ने प्रहरीको हत्या
कैलालीको अस्थायी प्रहरी बिट, जुगेडाका इञ्चार्ज प्रहरी सहायक निरीक्षक (असई) गोविन्द विकले तस्करीको लाईन भत्काउन गरेको इमान्दार प्रयासकै कारण ज्यान गुमाउनुपरेको छ । नेपाल–भारत सीमामा हेर्ने यो बिटमा नेतृत्व सम्हालेसँगै विक सबैको तारो बनेका थिए । तस्करी नियन्त्रण गर्ने क्रममा शनिबार बेलुकी बिक जवान रामबहादुर साउदलाई लिएर बा ५८ प ५२८४ नम्बरको मोटरसाइकलमा गस्तीका लागि निस्किएका थिए । त्यसक्रममा तस्कर समूहले उनको योजनाबद्ध रुपमा घाँटी रेटेर हत्या गरेको अवस्थामा आइतबार बिहान मोहना नदीमा शव भेटिएको छ भने जवान साउद अझै बेपत्ता छन् । साउतको खोजीमा सशस्त्र प्रहरी बलको गोताखोरसँगै पौडिन जान्ने प्रहरीको दक्ष जनशक्ति परिचालन गरिएको सुदुरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) उत्तमराज सुवेदीले जानकारी दिनुभयो । ०७४ सालमा दिपालयस्थित प्रहरी तालिम केन्द्रबाट असईमा सेवा प्रवेश गरेका बिक कैलाली बहुमुखी क्याम्पसमा हालै स्नातकोत्तरमा समेत भर्ना भएका थिए । २८ वर्षीय उनले प्रहरी निरीक्षकमा प्रतिष्पर्धा गरेर काँधमा खुकुरी चिह्न भिरेर देशको सेवा गर्ने तयारी गर्दैगर्दा कानुन कार्यान्वयन गराउने क्रममै तस्करबाट ज्यान गुमाएका छन् । घटनामा संलग्नताको आशंकामा प्रहरीले त्यस क्षेत्रमा तस्करीमा संलग्न ११ जना बढीलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।

कोभिड–१९ संक्रमितको उपचारको दायित्वबाट भाग्दै सरकार
अब कोरोना भाइरस (कोभिड–१९) को परीक्षण र उपचार आम नागरिकले आफ्नै खर्चमा गर्नुपर्ने भएको छ । सरकारले आर्थिकरुपमा विपन्न, अशक्त, असहाय अवस्थामा रहेका नागरिक, असहाय एकल महिला, अति अपाङ्गता भएका नागरिक, जेष्ठ नागरिक, अग्रपंतिमा खटिने स्वास्थ्यकर्मी, सरसफाइ कर्मचारी, सुरक्षाकर्मीलगायत जोखिम क्षेत्रमा कार्यरत कर्मचारीमा लक्षण भएमा मात्र परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको हो । कोरोना बिमा गरेका सबैले परीक्षण र उपचार खर्च बिमा रकमबाट व्यहोर्नुपर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बिमा नगरेका सबै व्यक्तिको परीक्षण तथा उपचार व्यक्तिको आफ्नै खर्चमा गर्ने गराउने निर्णय भएको जानकारी दिनुभयो । यो निर्णय सरकारी, गैरसरकारी तथा निजी अस्पतालहरुमा कात्तिक २ गतेदेखि नै लागू हुने बताइएको छ ।

कोरोना अपडेट
पछिल्लो २४ घण्टामा देशभर २ हजार ९ सय ४२ जना संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ३२ हजार २ सय ४६ पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या नै ३९ हजार ३ सय ४१ पुगेको छ । देशभर संस्थागत आइसोलेशन १२ हजार ९ सय ३३ जना र होम आइसोलेशन २६ हजार ४ सय ८ जना रहेका छन् । पछिल्लो २४ घण्टामा १४ हजार ८ सय ७५ जनाको पीसीआर परिक्षण गर्दा काठमाडौँमा १ हजार ४ सय ६९, ललितपुरमा १ सय ३० र भक्तपुरमा ९९ जना गरी उपत्यकामा मात्रै १ हजार ६ सय ९८ जना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा २ हजार ३ सय २६ जना विभिन्न अस्पतालबाट डिस्चार्ज भएसँगै कोरोना जित्नेको संख्या ९२ हजार १ सय ६६ पुगेको छ । १२ जनाको मृत्यु भएपछि कोरोनाबाट हालसम्म ज्यान गुमाउनेको संख्या ७ सय ३९ पुगेको छ ।

पर्यटन प्रबर्द्धनको सहकार्य
नेपाल वायु सेवा निगम र नेपाल पर्यटन बोर्डबीच पर्यटन प्रबर्द्धनका विषयमा सहकार्य गर्ने बारे सम्झौता भएको छ । नेपाल भ्रमणमा आउने विदेशी सञ्चारकर्मी, ब्लगर तथा लेखकलाई निगमले नौ वटा अन्तर्राष्ट्रिय गन्तव्यबाट निःशुल्क टिकट उपलब्ध गराउने सहमति भएको हो । पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृति (सीईओ) धनन्जय रेग्मीले निगमले एउटा गन्तव्यबाट ९ जनाका दरले टिकट उपलब्ध गराउने गरी सम्झौता भएको जानकारी दिनुभयो । निगम र बोर्डबीच भएको यस्तो सम्झौतामा दुवै निकायले नेपालको पर्यटन प्रवर्द्धन सम्बन्धमा सहकार्य गर्ने, बोर्ड पुगेको स्थानमा निगमको प्रवर्द्धन गर्ने, निगमले पनि बोर्डलाई पर्यटन प्रवर्द्धनमा सहजीकरण गर्नेसहितका बुदाहरु रहेका छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान गर्ने राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम र नेपाल पर्यटन बोर्डबीच भएको सम्झौताले कोरोनाको महामारीका कारण शिथिल बनेको पर्यटन क्षेत्रलाई प्रबर्द्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ ।

सार्वजनिक यातायातको यात्रामा फेस सिल्ड अनिवार्य
सरकारले सार्वजनिक यातायातमा यात्रा गर्दा यात्रुले अनिवार्य फेस सिल्ड लगाउनुपर्ने निर्णय गरेको छ । यातायात व्यवस्था विभागका प्रवक्ता लोकनाथ भुषालले सार्वजनिक यातायातमा सबै सिटमा यात्रु राख्न पाउने निर्णय गरेसँगै कोरोना संक्रमणको जोखिम रोक्न स्वास्थ्य सुरक्षाको लागि फेस सिल्ड अनिवार्य गरिएको जानकारी दिनुभएको हो । यसअघि गाडीमा आधा मात्रै यात्रु राख्ने निर्णय गरेको सरकारले गत सोमबारदेखि सिटभरी यात्रु राख्न पाउने निर्णय गरेको थियो । पुरानै भाडामा यात्रु बोक्ने निर्णय सहितको परिपत्र भएपनि अहिले काठमाडौं उपत्यकामा चल्ने अधिकांश सवारी साधनले ५० प्रतिशत थप गरिए अनुसारकै भाडा अशुल्दै आएका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ