Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपाल अपडेट : पढौँ यी प्रमुख खबर

नेपाल अपडेट : पढौँ यी प्रमुख खबर


काठमाडौं । कोभिड–१९ संक्रमण र मृत्युदर बढ्दैगर्दा, कतिपय उड्डयन सेवा प्रभावित भएका छन् । शिक्षकले व्यहोरेका समस्या लगायत विभिन्न सञ्चारमाध्यममा महत्व पाएका प्रमुख पाँच खबर यस्ता छन् ।

लुक्ला विमानस्थल बन्द
सोलुखुम्बुको लुक्ला विमानस्थल अनिश्चितकालका लागि बन्द गरिएको छ । पछिल्लो समय कोरोना भाइरस संक्रमण बढेको भन्दै खुम्बु पासाङल्हामु गाउँपालिकाले सबै हेलिकप्टर कम्पनी, तारा, समिट र सीता एयरलान्सलाई पत्र लेखी कात्तिक ७ देखि अनिश्चितकालसम्म लुक्लामा पर्यटक नल्याइदिन आग्रह गरेको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद भट्टराईले पालिकाका स्थायी वासिन्दा, राष्ट्रसेवक कर्मचारी र शिक्षकबाहेक अरुले प्रवेश गर्न नपाउने बताउनुभयो । कोरोना भाइरस संक्रमण फैलिन नदिन गाउँपालिकाभित्रका होटल तथा लज पनि बन्द गरिएको छ । गाउँपालिकाका वासिन्दा, शिक्षक, कर्मचारीले गाउँ जाँदा समेत ७२ घण्टाभित्र पीसीआर रिपोर्ट नेगेटिभ आएको रिपोर्ट देखाउनुपर्ने भएको छ ।।

हत्या गरिएका प्रहरी द्धयको परिवारलाई २/२ लाख सहयोग
सुदूरपश्चिम प्रदेश सरकारले तस्करी नियन्त्रण गर्ने क्रममा मारिएका प्रहरी सहायक निरीक्षक (असई) गोविन्द बिक र प्रहरी जवान रामबहादुर साउदको परिवारलाई २÷२ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ । बिहीबार बिहान बसेको मन्त्रिपरिषद बैठकले उनीहरुको परिवारलाई जनही २ लाख दिने निर्णय गरेको हो । आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले तत्काल परिवारका सदस्यहरुलाई १÷१ लाख रुपैयाँ उपलब्ध गराउने र बाँकी १ लाख उनीहरुको सन्तानको लागि मुद्धति खातामा राखिदिने जानकारी दिनुभयो । तस्करी नियन्त्रण गर्ने क्रममा तस्करद्वारा अस्थायी प्रहरी पोष्ट जुगेडाका प्रमुख समेत रहेका (असई) गोविन्द बिक र प्रहरी जवान रामबहादुर साउदको सामुसहक आक्रमणबाट हत्या भएको थियो । शनिबार साँझ ड्युटिमा गएका बेला दुबै जना बेपत्ता भएकोमा असईको शव आइतबार र प्रहरी जवानको शव मंगलबार मोहना नदीमा फेला परेको थियो । प्रहरीले हत्या अभियोगमा ८ जनालाई पक्राउ गरेर आवश्यक कारबाही अघि बढाएको छ ।

कोरोना संक्रमण अपडेट
पछिल्लो २४ घण्टामा ३ हजार ६ सय ३७ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या एक लाख ४८ हजार ५ सय ९ पुगेको छ । काठमाडौं उपत्यकामा मात्र बिहीबार १ हजार ५ सय ५२ जना संक्रमित थपिएका छन् । काठमाडौंमा १ हजार २ सय ८३, ललितपुरमा १ सय ५७ र भक्तपुरमा ११२ मा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ४४ हजार ८ सय ७७ पुगेको छ। यी मध्ये संस्थागत आइसोलेशनमा १३ हजार ३ सय ३९ जना रहेका छन् भने होम आइसोलेशनमा आधाभन्दा बढी ३१ हजार ५ सय ३८ जना रहेका छन्। यस्तै, क्वारेन्टाइनमा तीन हजार ७ सय ५१ जना छन् । बिहीबार ३ हजार २ सय १५ जना देशका विभिन्न अस्पतालबाट डिस्चार्ज भएसँगै कोरोना जित्नेहरुको संख्या एक लाख दुई हजार ८ सय २० पुगेको छ। पछिल्लो २४ घण्टामा २१ जनाले कोरोनाका कारण ज्यान गुमाएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या नै ८ सय १२ पुगेको छ ।

नीजि तथा संस्थागत विद्यालयका शिक्षक कर्मचारीले तलब भत्ता पाएनन
निजी तथा संस्थागत विद्यालयमा कार्यरत अधिकांश शिक्षक–कर्मचारीहरू तलब तथा दसैं बोनस नपाएको गुनासो गरेका छन् । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) का अध्यक्ष होमकुमार थापाले औंलामा गन्न सकिने विद्यालयले मात्रै शिक्षक–कर्मचारीलाई दसैं बोनस दिएको जानकारी दिनुभएको हो । गत चैतमा लकडाउन सुरु हुनुभन्दा पहिलेकै तलबसमेत नपाएका शिक्षकहरूले दसैंमा बोनस र दुई महिनाको तलब मागेपनि नपाएको अध्यक्ष थापा बताउँछन् । अनलाइन परीक्षा सञ्चालन गरेर प्रायः बोर्डिङ सञ्चालकले अभिभावकबाट शुल्क उठाइसकपनि शिक्षक शिक्षिकाले पाएका छैनन । इस्टुले शिक्षक–कर्मचारीहरूलाई चाडवाडसम्म धैर्यधारण गर्न आग्रह गर्दै पछि समेत समस्या यथावत रहे कडा आन्दोलन गर्ने चेतावनी दिएको छ ।

दशैभर विद्युत सेवामा समस्या नहोस् : मन्त्री पुन
ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तले दसैँ पर्वका समयमा देशैभर विद्युत सेवा थप चुस्त, भरपर्दो र प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ । चाडपर्वका बेला अन्य समयमा भन्दा विद्युत् खपत बढ्ने भएकाले चनाखो भएर सेवा प्रवाह गर्न तथा विद्युत अनियमित हुन नदिन मन्त्री पुनले निर्देशन दिनुभएको हो । मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे, विद्युत प्राधिकरणका निमित्त कार्यकारी निर्देशक लेखनाथ कोइराला, प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक ब्रजभुषण चौधरी, सोही निर्देशनालयका दीर्घकुमार श्रेष्ठ र भार प्रेषण केन्द्रका निर्देशक सुरेश भट्टराईसँग बिहीबार बैठक गरी ग्राहकलाई नियमित विद्युत सेवा उपलब्ध गराउन मन्त्री पुनले निर्देशन दिनुभएको थियो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ