Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaक्रिसमसबाट अष्ट्रेलियाको आन्तरिक सीमाना खुल्ने, अन्तर्राष्ट्रिय नाका कहिले ?

क्रिसमसबाट अष्ट्रेलियाको आन्तरिक सीमाना खुल्ने, अन्तर्राष्ट्रिय नाका कहिले ?


ब्रिजवेन । अष्ट्रेलियाको आन्तरिक सिमाना क्रिसमसबाट खुल्ने भएको छ । प्रधानमन्त्री स्कट मोरिसन र आठवटा राज्यका मुख्यमन्त्री सम्मिलित राष्ट्रिय मन्त्रिपरिषदको भर्चुअल बैठकमा क्रिसमसबाट राज्यराज्यबीचको सिमाना खोल्ने प्रस्तावमा सहमती जुटेसँगै भएसँगै सातवटा राज्यबीचको सीमा खुल्ने भएको हो ।

राष्ट्रिय क्याबिनेट पछि बोल्दै प्रधानमन्त्री मोरिसनले पश्चिमी अष्ट्रेलिया प्रस्तावमा सहमत नभएको भन्दै बाँकी ७ राज्यको सीमा खोलिने जानकारी दिनुभयो । पश्चिमी अष्ट्रेलिया भने कोभिड–१९ को जोखिमले आर्थिक समस्या व्यहोर्नुपर्ने चिन्ताले सीमा खोल्ने प्रस्तावमा सहमत नभएको आँकलन गरिएको छ । कोरोना महामारी लगायतका प्रकोप नियन्त्रणमा द्रुत गतिमा काम गर्न सकेकोमा प्रधानमन्त्री मोरिसनले सबै राज्यका सरकार प्रमुखको प्रशंशा गर्नुभएको थियो । भर्चुअल बैठकमा जनस्वास्थ्य क्षमतामा बढी छलफल केन्द्रित भएको थियो । क्रिसमसमा विदेशमा रहेका २६ हजार अष्ट्रेलियालीहरु घर फर्कने आँकलन गरिएको छ । यस्तै, पश्चिमी अष्ट्रेलियाले नोभेम्बरमा थप १४० यात्रु लिन र क्वीन्सल्याण्डले १५० अन्तर्राष्ट्रिय आगमन लिन सहमति जनाएका छन् । अस्टे«लियाले यसअघिको बजेट घोषणा मार्फत कोरोना भ्याक्सिन बनेपछि अन्तर्राष्ट्रिय सीमानाका खुल्ला गर्ने निर्णय गरेको भएपनि कहिलेबाट खुल्ने अझै अनिश्चित देखिएको छ । Photo : the conversation

यस्तो थियो अस्ट्रेलियाले ६ महिना ढिला गरेर ल्याएको संघीय बजेट
अष्ट्रेलियाले ६ महिना ढिला गरि आज संघिय बजेट घोषणा गरेको होे । सरकारको कोषाध्यक्ष जोश फ्राइडेनबर्गले क्यानवेरास्थित संसद भवनमा घोषणा गर्नुभएको बजेटले रोजगार सृजनालाई पहिलो प्राथमिकतामा राखेको छ ।बजेटले कोरोनाका कारण बन्द अन्तराष्ट्रिय सिमाना तत्काल नखुल्ने संकेत गरेको छ । सन् २०२१ के उत्तरार्धसम्म अन्तराष्ट्रिय विद्यार्थी र आप्रवासीका लागि सिमाना खुल्ने संकेत नदेखिएको हो । कोरानाको खोप बन्ने क्रममै रहेको तथा खोप लगाएपछि पनि यसको प्रभावकारिता बारे एकिन नभइसकेकाले अष्ट्रेलियाले तत्काल सिमान खोल्ने विषय पछि सारेको छ ।
सिमाना बन्द भएकाले यसपाली अष्ट्रेलिया भित्रिने आप्रवासीको संख्या सन् १९४६ पछि कै सबैभन्दा कम देखिएको छ । आप्रवासीको आगामनको संख्या यो आर्थिक वर्ष सन् २०२०/२१ मा ८५ प्रतिशतसम्मले कमि आउने आँकलन बजेटले गरेको छ । सन् २०१८/१९ मा आप्रवासीको संख्या २ लाख ४० हजार थियो । यो वर्ष आप्रवासीको संख्याको ७२ हजार मा सिमित हुने बजेटमा उल्लेख छ । अष्ट्रेलिया आउने र यहि एक वर्ष बसोबास गर्ने तथा फर्कनेहरुको संख्याको भिन्नतालाई त्यस वर्षको कुल आप्रवासी मानिन्छ । कुल आप्रवासीको संख्या घटेपनि पिआरको कोटा भने यसअघि घोषणा भए सरह १ लाख ६० हजार नै रहने बजेटमा उल्लेख छ । यस बजेटले ग्लोबल ट्यालेन्ट अन्तर्गत तीन गुणा धेरै अर्थात १५ हजार मानिसलाई पिआर दिने तयारी गरेको छ । यसअघि यो भिषाको कोटा ५ हजार मात्र थियो ।

सिमाना बन्द भएपनि विदेशमा रहेका आफ्ना पार्टनरलाई ल्याउन भने केही खुकुलो गरिने भएको छ । खासगरी रिजनल क्षेत्रमा बसोबास गरिरहेकाहरुले विदेशबाट आफ्नो पार्टनर झिकाउनका लागि सरकारले फ्यामेली स्ट्रिम अन्तरगत प्राथमिकतामा राखेर भिषा जारी गर्ने तयारी गरिएको छ । यस्तै बजेटले विद्यार्थीसंगै आउने डिपेन्टडेण्टले पनि अग्रेजी परिक्षा पास गर्नुपर्ने नीति लिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ