Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaविश्वलाई नेपाल किन चाहिन्छ ? नेपाल चिनाउन अष्ट्रेलियामा विशेष कार्यक्रम

विश्वलाई नेपाल किन चाहिन्छ ? नेपाल चिनाउन अष्ट्रेलियामा विशेष कार्यक्रम


ब्रिजवेन, नेपाललाई अष्ट्रेलियाली माझ परिचित गराउन नेपाल ट्युबले विशेष कार्यक्रम गर्न लागेको छ ।
शैक्षिक परामर्श क्षेत्रमा चिनिएको संस्था एक्सपर्ट एजुकेशन तथा भिषा सर्भिसेसको मुख्य प्रयोजनमा नेपाल ट्युबले आगामी डिसेम्बर ३ तारिखमा ब्रिजवेनमा विशेष कार्यक्रम गर्न लागेको हो ।
विश्वलाई नेपाल किन चाहिन्छ ? अर्थात ह्वाई वल्ड निड्स् नेपाल नामक कार्यक्रममा अष्ट्रेलियाका प्रख्यात दार्शनिक प्रशिक्षक बर्नी केलीले विशेष प्रस्तुती दिने कार्यक्रम छ । बर्नीले सन् २००९ देखि हरेक वर्ष कम्तिमा २५ जना अष्ट्रेलियाली युवालाई सगरमाथा बेसक्याम्पसम्म लगेर जीवन जिउने कला सिकाउदै आउनुभएको छ । यस वर्ष कोरोनाका कारण उक्त समुहको यात्रा अर्को वर्षलाई सरेको छ ।
नेपालको प्राकृतिक सुन्दरता, पर्यटन र अध्यात्म तथा ध्यानलाई निकै गहिरोसंग बुझ्नुभएका बर्नीले प्रस्तुतीका क्रममा आफ्ना प्रशिक्षार्थीहरुलाई नेपाल घुम्नै पर्ने ठाउ भएको भन्दै प्रचार गर्दै आउनुभएको छ । बर्नीकै प्रस्तुती सुनेर धेरै अष्ट्रेलियाली युवाहरु नेपाल पुगेका उदाहरण छन् । नेपालको सकारात्मकता बारे गहिरो ज्ञान राख्ने बर्नीले अष्ट्रेलियामा बस्दै आएका नेपालीलाई समेत अघि बढाउनुपर्ने धारणा राख्नुहुन्छ । अष्ट्रेलियाका कलेजका विद्यार्थी र कर्पोरेटका कर्मचारीलाई नेतृत्व विकास सम्बन्धी प्रशिक्षण दिन व्यस्त बर्नी कुइन्सल्याण्डका नेपाली अगुवासंग अन्तरक्रिया गर्न तयार हुनु भएको हो ।
कार्यक्रममा ब्रिजवेन र आसपास क्षेत्रमा बसोबास गर्ने नेपाली समाजका अगुवाहरुलाई निमन्त्रणा गरिने आयोजक नेपाल ट्युबले जनाएको छ । कोरोनाका कारण निश्चित मानिस मात्रै जम्मा हुन पाउने हुनाले हाललाई बढीमा ५० जना सहभागी हुने ट्युबका सम्पादक सरल गुरुङले जानकारी दिनुभयो । ‘हाललाई कुइन्सल्याण्डमा सार्वजनिक कार्यक्रममा ५० जना मात्र सहभागी हुन पाउने नियम छ’- गुरुङले भन्नुभयो -‘डिसेम्बरसम्ममा नियम परिवर्तन भएमा त्यहि अनुसार सहभागीको संख्या निर्धारण गरिनेछ ।’ कोरोनाका कारण प्रतिबन्ध भएकाले धेरै मानिसलाई चाहेर पनि निम्तो दिन नसकिने अवस्था रहेको गुरुङको भनाई छ ।
कार्यक्रम निर्धारित समयमै सुरु भएर डेढ घण्टामा नै सकिने छ । कार्यक्रममा बर्नी केलीले नेपाल बारे ४० मिनेट प्रस्तुती दिने र त्यसपछि २० मिनेट नेपाली अगुवासंग अन्तरक्रिया गर्ने तय भएको छ । कार्यक्रम स्थलमा कोभिडबाट सुरक्षित रहन डेढ मिटरको दुरी कायम गरि बस्ने व्यवस्था गरिनेछ ।
कार्यक्रममा कुइन्सल्याण्डका तीन मुख्य सामाजिक संस्था पनि सहआयोजकका रुपमा सक्रिय भएका छन् । गैर आवासिय नेपाली संघ कुइन्सल्याण्ड, नेपलिज एशोसियसन अफ कुइन्सल्याण्ड एनएक्यु र कुइन्सल्याण्ड नेपलिज कल्चरल सेन्टर क्युएनसिसि सहआयोजकका रुपमा रहेका छन् । नेपाल र नेपालीको शिर उचो बनाउने कार्यक्रम भएकाले आफु र आफ्नो संस्था सहआयोजकमा रहेर सहयोग गरिरहेको एनआरएनए कुइन्सल्याण्डका संयोजक उमेश खड्काले बताउनुभयो ।
त्यस्तै एनएक्युका अध्यक्ष अमृत पौडेलले पनि यस्तो कार्यक्रमले नेपालको प्रवर्धन गर्न सहयोग पुग्ने भएकाले समाजका सबै अगुवा सहभागी हुन अनुरोध गर्नुभयो ।
क्युएनसिसिका सचिव नारायण पन्थीले ब्रिजवेनमा पहिलो पटक यस्तो प्रकृतिको कार्यक्रम हुन लागेको भन्दै आफु सहभागी हुन आतुर रहेको बताउनुभयो । बर्नीको विचार नेपाली समाजका लागि महत्वपुर्ण हुने भन्दै पन्थीले यस्तो कार्यक्रमले नेपाली समाजको छवी उकास्न सहयोग पुग्ने बताउनुभयो ।
कार्यक्रमका मुख्य प्रायोजक एक्सपर्ट एजुकेशन तथा भिषा सर्भिसेसका ब्रिजवेन निर्देशक होम पौडेलले सामाजिक र देशप्रतिको उत्तरदायित्व बुझेर नै नेपाल प्रवर्धन गर्ने कार्यक्रममा आफ्नो संस्थाले साथ दिएको बताउनुभयो । नेपाली समाजको विकासका लागि एक्सपर्ट एजुकेशन सधै तत्पर रहने पौडेलको भनाई छ ।

नेपाललाई स्वर्ग ठान्ने अष्ट्रेलियन, ११ वर्षदेखि सगरमाथामा जिउने कला सिकाउदै

 

 


ट्याग : #bernie kelly, #nepali, #Nepali in Australia
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ