Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपाल अपडेट : यी हुन पढ्नैपर्ने प्रमुख पाँच खबर

नेपाल अपडेट : यी हुन पढ्नैपर्ने प्रमुख पाँच खबर


काठमाडौं । नेपालमा कोरोनाको जोखिम बढ्दो क्रममा छ । तरपनि यो बिचमा स्वास्थ्य सावधानिसहित विभिन्न पेशा व्यवसाय सञ्चालित छन् । विभिन्न सञ्चारमाध्यममा प्राथमिकता पाएका प्रमुख पाँच खबर यस्ता छन् ।

पछि सर्दै मेलम्चीको भाका
सरकारले मेलम्ची खानेपानी आयोजना सम्पन्न भएर काठमाडौं उपत्यकामा पानी आउने नयाँ भाका राखेको छ । प्रधानमन्त्री कार्यालयमा ठेकदार र आयोजनाले बुझाएको कार्यतालिकाअनुसार काम भएमा मेलम्ची आयोजनको काम सन् २०२१ अप्रिल १५ सम्म सम्पन्न हुने भएको छ । २०७८ वैशाख २ गतेसम्म आयोजना निर्माणको सबै काम सकाउने योजना सरकारले अघि सारेको हो । मेलम्ची आयोजनाको म्याद पटक–पटक थपिनु र यसको निर्माण सकिने भाका पर सर्दै जानु सामान्य विषय जस्तै बनेको छ । यसअघिको पछिल्लो भाका अनुसार दशैंसम्म काठमाडौंबासीलाई पानी खुवाउने सरकारको बाचा पनि अधुरो देखिएको छ । खानेपानीमन्त्री बिना मगरले गत फागुन १ गते पत्रकार सम्मेलनमार्फत श्वेतपत्र जारी गर्दै मेलम्चीको पानी २०७७ असार मसान्तसम्म काठमाडौंमा आइपुग्ने घोषणा गर्नुभएको थियो । यो आयोजनालाई पनि कोभिड–१९ को कारण देखाएर पछि धकेलिएको छ ।

असार २९ मा परीक्षणका लागि सुरुङमा पानी भर्न सुरु गरेको २४ घण्टा नबित्दै अम्बाथानको अडिट टनेलको गेट भत्किएपछि आयोजना अर्को समस्यामा फस्यो । अहिले अडिट टनेलका गेटलाई सुधार गरेर जोड्ने काम भइरहेको छ । आयोजनाका सहायक प्रवक्ता राजेन्द्र पन्तले महामारीका कारण असर परे पनि सिमित कर्मचारी राखेर भएपनि काम नरोकिएको बताए । सुरुङमा पानी भर्न सुरु गरेपछि भएको दुर्घटनाले आयोजना थप पछि धकेलेको र लडाउनका कारण आयोजनामा रहेका सुरुङको गेट लगायतको काम गर्न उच्च दक्ष कामदार र विज्ञहरु विभिन्न देशबाट ल्याउनुपर्नेमा त्यो सम्भव नभएर ढिलाई भएको आयोजनाको दाबी छ । चैतभित्र काम सक्ने भनिएपनि सिमित कामदार र आवश्यक सामाग्रीको सहज उपलब्धता नहुँदा ढिलाई भएको आयोजनाको जिकिर छ । ०६४ सालमै सक्ने गरी थालिएको मेलम्चीको म्याद पटक–पटक थपिँदा पनि अझै पुरा भएको छैन । ०७५ पुसमा काम छाडेर इटालियन कम्पनी सीएमसी भागेपछि आयोजना ९ महिना रोकिएर अहिले नयाँ ठेकेदारमार्फत काम भइरहेको छ । आयोजनाको मुहानमा बन्ने हेडवर्क्स निर्माणको काम अहिले चिनियाँ कम्पनी सिनो हाइड्रोमार्फत भइरहेको छ ।

पोखरामा बढ्यो पर्यटकिय चहलपहल
विश्वव्यापी स्वास्थ्य समस्या बनेको कोभिड–१९ को महामारीका कारण गत चैतयता सुनसान बनेको पर्यटकीय नगरी पोखरा दशैँ लागेसँगै चलमलाउन थालेको छ । दशैंसँगै सुरु भएको आन्तरिक पर्यटककको चहलपहलले पोखराका पर्यटन व्यवसायीमा थोरै भएपनि आशा जगाएको हो । विगतका वर्षमा दशैँ तिहारको समयमा पोखराका तालतलैया, गुफा, धार्मिकस्थल जहाँतहीँ आन्तरिक र बाह्य पर्यटकको चाप देखिने गरेको भए पनि यतिबेला व्यवसायीहरु पर्यटक कुरेर बसेका छन् । चाँदी जस्तै टलक्क टल्केको माछापुच्छ्रे हिमालसहितका हिमाली शृङ्खला पर्यटक स्वागतको पर्खाइमा छन् । फेवाताल र पोखरा आसपासका बेगनासताल, रुपाताललगायतका विश्व रामसार सूचीमा सूचीकृत तालमा पानी टलपलाइरहँदा हिमाल र तालको अचम्मको सुन्दरता यतिखेर पोखरामा भरिएको छ ।

फेवातालमा डुङ्गा शयरदेखि सराङ्कोट, विश्वशान्ति स्तूपलगायतका स्थान पुगी सूर्योदयसहित हिमशृङ्खलाको अवलोकनका लागि आउने पर्यटकका कारण विगतमा जस्तो चहलपहल नदेखिए पनि पछिल्ला दिनमा पोखराको लेकसाइड र आसपासका पर्यटकीय स्थलमा आन्तरिक पर्यटक देखा पर्न थालेका छन् । लामो समयदेखि शून्यतामा रुमल्लिएको पोखरा दशैँ तिहारको आगमनसँगै केही मात्रामा भए पनि चहलपहलमय बनेको पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेलले बताउनुभयो । पर्यटकको स्वास्थ्य सुरक्षाप्रति सजग बन्दै यहाँका पर्यटन व्यवसायीले होटेल तथा रेष्टुरेन्ट सञ्चालन गर्दा स्वास्थ्य सुरक्षा मापदण्डलाई आत्मसात गरिहेको पश्चिमाञ्चल होटेल सङ्घका अध्यक्ष विकल तुलाचनले जानकारी दिनुभयो । पोखराको तालबाराहीसहित विन्ध्यवासिनी, भद्रकाली, गुप्तेश्वर महादेव गुफा धार्मिक पर्यटकीय स्थल हुन् भने यहाँका पातले छाँगो, सेती नदीको गल्छी, महेन्द्र गुफा, चमेरे गुफा, अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय पर्यटक लोभ्याउने स्थान हुन् ।
लेखनाथ क्षेत्रका बेगनास, रुपा, दीपाङ, मैदी, गुँदे जस्ता तालले पनि पर्यटकलाई आकर्षित गर्ने गरेका छन् ।

बढ्दै कोरोनाका गम्भिर बिरामी
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर ३ सय ७१ जना कोरोना संक्रमित आईसीयू र भेन्टिलेटरमा उपचाररत रहेको जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार देशका विभिन्न अस्पतालमा ७१ जनाको भेन्टिलेटरमा र ३०० जना संक्रमित आईसीयूमा उपचाररत छन् । संक्रमित मध्ये सबैभन्दा बढी बागमती प्रदेशमा १९१ जना र भेन्टिलेटरमा ५५ जना उपचाररत छन् । लुम्बिनी प्रदेशमा ४० जना आइसियु र २ जना भेन्टिलेटरमा, प्रदेश १ मा ३४ जना आइसियु र ८ जना भेन्टिलेटरमा र प्रदेश २ मा १३ आइसियु र २ जना भेन्टिलेटरमा, सुदुरपश्चिममा ५ आईसीयूमा, गण्डकी प्रदेशमा १५ आईसीयू र २ जना भेन्टिलेटरमा र कर्णाली प्रदेशमा ४ आइसियु उपचाररत रहेका छन् । ३८ हजार ३५७ सक्रिय संक्रमितमध्ये ३१ हजार ३८७ जना होम आइसोलेसनमा छन् । बाग्मती प्रदेशमा १७ हजार ७ सय १८ जना होम आइसोलेसनमा छन् ।

शान्ति मिसनको टोली सुडान जाँदै
संयुक्त राष्ट्रसंघको अनुरोधमा शान्ति स्थापनार्थ फर्मड पुलिस युनिट (एफपियु) को रुपमा सुडानको डारर्फरस्थित युनामिड मिसन १७ औँ समूहमा जाने प्रहरीलाई औपचारिक रुपमा बिदाइ गरिएको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहकाबीच समूहका नेतृत्वकर्ता प्रहरी उपरीक्षक सुरेन्द्रप्रसाद मैनालीलाई नेपालको राष्ट्रिय झण्डा हस्तान्तरण गरेर टोलीको बिदाइ गर्नुभएको हो । यो मिसनका लागि १८० जना प्रहरी त्यसतर्फ जाने छन् । एक प्रहरी उपरीक्षक, चार प्रहरी नायब उपरीक्षक, सात प्रहरी निरीक्षक, २४ प्रहरी नायब निरीक्षक, १७ प्रहरी सहायक निरीक्षक, ५५ प्रहरी हबल्दार, ६५ प्रहरी जवान र सात प्रहरी कार्यालय सहयोगी सहितको टोली दुई समूहमा विभाजन भएर २०७७ कात्तिक १७ र मङ्सिर ११ गते त्यसतर्फ प्रस्थान गर्नेछन् ।

संसदिय समितिको निर्देशनमा सरकारकै अटेरी
किन कार्यान्वयन संघीय संसदका समितिहरुले दिएका निर्देशनहरु सरकारी तहमा कार्यान्वयन नहुने समस्या बढ्दो क्रममा देखिएको छ । कोभिडपछिको अवस्थामा विभिन्न समितिले आफ्नो कार्यक्षेत्रभित्र रहेका निकायहरुलाई दिएको निर्देशन सरकरबाटै पालना नगरेको पाइएको हो । समितिले जनताको पीसीआर परीक्षण, क्वरेन्टिन व्यवस्थापन, उपकरण, अत्यावश्यक औषधि, नियमित स्वास्थ्य जाँच उपचार लगायतका विषयमा दिएको निर्देशन पालना भएको छैन । चीनको हुबेइको वुहानमा कोरोना देखिएपछि नेपालमा पर्नसक्ने प्रभावका विषयमा कानुन न्याय तथा मानवअधिकार समितिको जनसंख्या अनुसारको आईसीयू, आइसोलेसन बेड, अत्यावश्यक औषधि खरिद, बजार अनुगमन, सम्भावित जोखिम क्षेत्रको पहिचान र संरक्षण लगायतका विषयमा सरकारलाई निर्देशन दिएको थियो ।

त्यसपछि विभन्न समितिले दुई दर्जनभन्दा बढी बैठक बसी कोरोना नियन्त्रण रोकथाम र नागरिकको स्वास्थ्य उपचारसम्बन्धी निर्देशन दिए । पछिल्लो निर्देशन २०७७ असोज १८ गते अन्तर्राष्ट्रिय सम्बन्ध समितिले कोरोनाको कारण पर्यटन क्षेत्रमा परेको असरका बारेमा अध्ययन विश्लेषण गर्दै हवाई सेवा र होटल व्यवसाय सञ्चालन कसरी गर्न सकिन्छ भनेर सरकारसँग राय मागेको छ । तत्काल कार्यान्वयन गर्नुपर्ने, कुनै नीति बनाउनुपर्ने, कुनै कानुन परिमार्जन गर्नुपर्नेलगायतका निर्देशन संसदीय समितिबाट जारी भएपनि सरकारले अधिकांस निर्देशनमा बेवास्ता गर्दै आएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ