Techie IT
Monday November 30, 2020  |   सोमवार, मंसिर १५, २०७७
गृहपृष्ठ » Breaking News » कोरोनाका कारण पहिलो पटक हाँडीगाउँको जात्रा स्थगन

कोरोनाका कारण पहिलो पटक हाँडीगाउँको जात्रा स्थगन


91 Views

काठमाडौं । प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाको भोलिपल्ट काठमाडौँ महानगरपालिका–५ स्थित हाँडीगाउँ क्षेत्रमा प्रदर्शन गरिने चोक्काथुनारायणको जात्रा स्थगन गरिएको छ । तीननारायण एवं ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ समेत भनिने यो जात्रा यस वर्ष उपत्यकामा बढ्दै गएको कोरोना महामारिका कारण स्थगन गरिएको काठमाडौँ महानगरपालिका–५ का अध्यक्ष रमेश डङ्गोलले जानकारी दिनुभयो ।

जात्रा नगरिए पनि वार्षिकरूपमा गरिने पूजा आराधनाको विधि भने पुजारीलगायत सीमित गुठियारले सम्पन्न गर्ने बताइएको छ । चोकेटनारायण समेत भनिने चोक्काथुनारायणको नाममा गुठी जग्गासमेत राखी जात्रा चलाउने व्यवस्था गरिएको छ । मन्दिरको ढोकामा रहेको नेवारी भाषाको अभिलेखअनुसार राजा नरेन्द्र मल्लको पालादेखि यो जात्रा शुरु भएको पाइन्छ । चोक्काथुनाराणको मन्दिर बूढानीलकण्ठबाट ल्याई यहाँ स्थापना गरिएको हाँडीगाउँ क्षेत्रको सांस्कृतिक परम्पराका बारेमा अध्ययन गरिरहेका यज्ञनाथ आचार्यले जानकारी दिनुभयो ।

जात्रा शुरु भएका सम्बन्धमा एउटा किंवदन्ती प्रचलित छ । जनश्रुतिअनुसार मध्यकालमा हाँडीगाउँमा दुई दिदीबहिनी थिए । दिदी भगवान्प्रति पूर्णरूपमा आस्था राख्थिन् । बहिनी घमण्डी हुनुका साथ भगवान्प्रति पनि उनको आस्था थिएन । विवाहपछि दुवै दिदीबहिनी गर्भवती भए । दिदीले समयमै बच्चा जन्माइन् । बहिनीको गर्भ रहेको १२ वर्षसम्म पनि बच्चा जन्मिएन । बहिनीले श्रीमानसहित नारायणको आराधना गरिन् । सपनामा बूढानीलकण्ठ नजिकको पहाडमा रहेको नारायणको मूर्ति ल्याई उल्टो छाताकारका तीन खटको जात्रा चलाउनु तब तिमीहरुको उद्धार हुनेछ भन्ने आज्ञा भयो । गर्भ रहेको १२ वर्षसम्म बच्चा नजन्मिएको दम्पतीले त्यसबेलाका राजा नरेन्द्र मल्लसँग गुहार मागे । राजआज्ञाबमोजिम तान्त्रिकहरु धिमे बाजा बजाई रङ्गीबिरङ्गी लुगा लगाएर बूढानीलकण्ठ नजिकको पहाडमा गए । मैनको फूल चढाई नारायणको आराधना गरे । चोक्काथुनारायण (तीननारायण) जात्राको परम्परा चलाउने वचन दिए । नारायणलाई हाँडीगाउँ ल्याई यहाँका जनतालाई पर्ने दुःख तथा पीडालाई अन्त गर्न भनी चोक्काथुनारायण मन्दिर स्थापना गरे । यसै बेलादेखि जात्राको पनि शुरुआत भयो ।

मन्दिर स्थापना भएपछि प्रसव वेदनाको समयमा नारायणको मूर्तिमा तेल लगाउँदा वा जात्राको समयमा प्रयोग हुने मैनको फूल सिरानीमा राख्नाले वेदना कम हुने गरेको स्थानीयवासी समेत अनुभव सुनाउछन् । नारायणको शिरमा तेल खन्याउँदा दायाँतर्फबाट तेल खसे छोरा र बायाँतर्फबाट तेल खसे छोरीको जन्म हुन्छ भन्ने जनविश्वास छ । नारायणको जात्रा कमलासनको तीन खट (बाबु, आमा, छोरा) बनाई खटको गजुरलाई उल्टो पारी घुसारेर तीन टोल घुमाई गजुर घुसारेको स्थानमा पुजा गरिन्छ । देशका अन्य स्थानमा हुने जात्रा खटको गजुर उल्टो नपारी गरिने यहाँको नारायण जात्रा भने उल्टो पारेर गरिने भएकाले कहीँ नभएको जात्रा भन्ने गरिएको हो ।

यो जात्रामा पाँच जनाले धिमेबाजा बजाउनुपर्ने र ३० जनाले खट बोक्नेगर्दछन् जात्रा हेर्न हाँडीगाउँ क्षेत्रका सबै गुठियार जम्मा हुनुपर्ने नियम रहेकाले कोरोनाको महामारीका नबढोस भनेर जात्रा स्थगन गरिएको वडा कार्यालयले जनाएको छ ।

क्याटेगोरी : Breaking News, Nepal, News



प्रतिक्रिया दिनुहोस

-Advertisement-