Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपाल अपडेट : यस्ता छन पछिल्ला प्रमुख पाँच खबर

नेपाल अपडेट : यस्ता छन पछिल्ला प्रमुख पाँच खबर


काठमाडौं । नेपालमा कोरोना कहर बढिरहेको छ । बजार पसल सामान्य अवस्थाको जस्तै चलाएमान हुँदा गाडीभाडा लगायतको गुनासो उस्तै छ । दशै सकिएर तिहार नजिकिदैगर्दा जुवाडे पक्राउ पर्ने क्रम पनि बढिरहेको छ । पछिल्लो २४ घण्टामा नेपालका प्रमुख पाँच खबर यस्ता छन् ।
बढी भाडा लिने र भाडादर नटास्नेमाथी कारबाही
काठमाडौं उपत्यकामा बन्दाबन्दी अगाडिको भाडादर कायम गर्न ट्राफिक प्रहरीले सक्रियता देखाएको छ । ट्राफिक प्रहरीले बढी भाडा लिने चालकलाई पाँच हजार रूपैयाँसम्म जरिवाना गर्न थालेको हो । लकडाउनका बेला सरकारले सिट क्षमताभन्दा ५० प्रतिशत कम यात्रु बोक्न निर्देशन दिदै भाडामा ५० प्रतिशत थप लिने छुट दिएको थियो । साउन २५ गते यता भने लकडाउन खुलेर सार्वजनिक सवारी साधनहरूले सिट क्षमता अनुसार यात्रु बोक्न थालेपनि कतिपयले बढी भाडा लिएको गुनासो बढेपछि चेकिङलाई तीव्रता दिँदै हरेक सार्वजनिक सवारीमा पुरानो भाडादर राख्न लगाउने र बढी भाडा लिनेलाई कारबाही गर्न थालिएको महानगरिय ट्राफिक प्रहरी महाशाखा प्रमुख भीम ढकालले जानकारी दिनुभयो । अब यात्रुवाहक हरेक सवारीसाधनमा भाडादरको विवरण अनिवार्य राख्नुपर्ने समेत उहाँले बताउनुभयो । शुक्रबार एकै दिन बढी भाडा लिने र भाडादर नटाँस्ने ४२९ वटा सवारीसाधन कारबाहीमा परेका थिए । शनिबार कम गाडी गुडेका कारण केही मात्रै कारबाहीमा परेका थिए ।

देशका विभिन्न स्थानबाट ६४ जुवाडे पक्राउ
प्रहरीले काठमाडौं, कैलाली, तनहुँ, डडेल्धुरा र महोत्तरीका विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा ६४ जना जुवाडेलाई पक्राउ गरेको छ । काठमाडौंको चन्द्रागिरी नगरपालिका–३ खरिबोटस्थित रुपचन्द्र श्रेष्ठको घरमा तास खेलिरहेका श्रेष्ठ सहित ५ जना ५५ हजार ३ सय ९० रुपैयाँ नगद सहित पक्राउ गरेका छन् । यसैगरी कैलालीको जोशीपुर गाउँपालिका–१ स्याउले बजार बस्ने ३५ वर्षीय यज्ञ बहादुर बिष्टको घरमा तास खेलिरहेको अवस्थामा बिष्ट लगायत २९ जनालाई नगद २ लाख ५१ हजार ४ सय रुपैयाँ सहित पक्राउ गरिएको छ । तनहुँको भानु नगरपालिका–१० चोकमैदान हानहटिया बस्ने सूर्य कुमार श्रेष्ठको घरमा कौडा खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ५५ वर्षीय अर्जुन उप्रेती लगायत १६ जना नगद ४८ हजार २ सय ७० रुपैयाँ सहित पक्राउ परेका छन् । डडेल्धुराको अमरगढी नगरपालिका–का मनोज सिजापतीको घरमा तास खेलिरहेको अवस्थामा ११ जनालाई नगद १८ हजार ३ सय ८५ रुपैयाँ सहित र महोत्तरीको मनराशिश्वा नगरपालिका–७ बासघारीबाट कौडा खेलिरहेको अवस्थामा ४० वर्षीय विनोद कुमार साह सहित ३ जनालाई नगद ३ लाख ३२ हजार ९ सय ६० रुपैयाँ सहित प्रहरीले पक्राउ गरेको छ ।

क्लिन फिडका नाममा शुल्क बढाइदै
विज्ञापन रहित (क्लिन फिड) पूर्णरुपमा कार्यान्वयनमा आएपछि मासिक रुपमा ग्राहकले तिर्ने शुल्क बढाउने तयारी टेलिभिजन वितरकहरुले गरेका छन् । विदेशी च्यानलहरुले नेपालका लागि छुट्टै क्लिन फिड दिँदा उपकरणको लागत उच्च हुने, सञ्चालन लागत र स्याटेलाइटको लागत बढ्ने भएकाले ग्राहकले तिर्नुपर्ने शुल्क पनि बढ्न सक्ने टेलिभिजन वितरकहरुले बताएका हुन् । कात्तिक ७ गते पछि किल्नफिड लागू भएपनि आवश्यक तयारी नपुगेको भन्दै अधिकांश विदेशी च्यानलहरुले क्लिन फिड गरिएको प्रसारण सामग्री नदिँदा धेरै च्यानल बन्द अवस्थामा छन् । नेपाल केबल टेलिभिजन व्यवसायी महासंघका अध्यक्ष ध्रुव शर्माले क्लिन फिडका लागि टेलिभिजन प्रसारकहरुले प्रविधिमा ठूलो लगानी गर्नुपर्दा खर्च बढेको बताउँनुभयो । क्लिन फिड गरिएका च्यानल लिएबापत नेपालका टेलिभिजन वितरकले प्रसारकलाई तिर्ने पैसा पनि बढ्ने र त्यसको भार उपभोक्तामाथि पर्ने उनको दबी छ । अहिले २५० रुपैयाँ न्यूनतम शूल्क राखेर त्यसमा ग्राहकले रोजेको च्यानलअनुसार शूल्क थप्दै लैजाने प्रस्ताव गरेपनि सरकारले अनुमति दिएको छैन । विदेशी टेलिभिजन प्रसारणमा क्लिन फिड लागू भएपनि नेपाली टेलिभिजनबाट डब विज्ञापन प्रसारण भइरहेकाले चुनौती अझैपनि बाँकी नै छ ।

तिहारमा भारतबाट फूल आयात नगरिने
यस वर्षको तिहारमा छिमेकी मुलुक भारतबाट फूल आयात नगरिने व्यवसायीहरुले बताएका छन् । बजारमा सयपत्री फूलको मागमा कमी र स्वदेशी उत्पादन राम्रो रहेकाले भारतबाट फूल नल्याइने भएको हो । तिहारमा प्रयोग हुने सयपत्री, मखमली र गोदावरी फूलमध्ये सयपत्री मात्रै भारतबाट ल्याउने गरिएको थियो । गत वर्षको तिहारमा २५ लाख माला खपत हुँदा तीन लाख माला भारतबाट आएको थियो । यसवर्ष १५ लाख मात्र मालाको माग रहेको र यो माग नेपाली उत्पादनले धान्ने फ्लोरीकल्चर एशोसिएशनका अध्यक्ष कुमार कसजू श्रेष्ठले जानकारी दिनुभयो । यस वर्ष समय समयमा पानी परिरहेकाले काठमाडौँ उपत्यकाकासहित तराईका अधिकांश जिल्लामा फूलको राम्रो उत्पादन भएको छ । अघिल्ला वर्षको तुलनामा यस वर्षको तिहारमा उपभोक्ताले केही बढी मूल्य अर्थात एउटा सयपत्री मालाको ६० देखि ७० रुपैयाँसम्म तिर्नुपर्ने भएको छ । अघिल्ला वर्षमा दुई अर्ब ४२ करोडको फूलको कारोवार हुने गरेकोमा चालू आवमा तीन अर्ब बराबरको फूलको कारोवार हुने अनुमान गरिएको छ ।

कोरोना संक्रमित पूर्वमन्त्रीको अवस्था गम्भिर
दुई साताअघि कोरोना भाइरस संक्रमण भएका पूर्वमन्त्री तथा कांग्रेस सांसद मीन विश्वकर्माको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ । अहिले नेता विश्वकर्माका ग्रान्डी अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । कात्तिक १ गते ५३ वर्षीय पूर्ववाणिज्य मन्त्री तथा कांग्रेस नेता विश्वकर्मालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएको ८ दिन होम आइसोलेसन बसेका विश्वकर्मालाई सास फेर्न असजिलो भएपछि कात्तिक ९ गते वीर अस्पताल पुर्याइएको थियो । तीन दिनसम्म वीर अस्पतालमा उपचार गर्दा स्वास्थ्यमा सुधार नदेखिएपछि थप उपचारका लागि कात्तिक १२ गते उनलाई ग्राण्डी अस्पताल सारिएको थियो । आइसीयुमा उपचाररत विश्वकर्माको स्वास्थ्य थप जटिल बनेपछि शनिबार भेन्टलेटरमा सारिएको हो । अस्पतालका निर्देशक डा. चक्रराज पाण्डेले विश्वकर्माको उपचारका लागि आफूहरुले सम्पूर्ण विधि प्रयोग गरिसकेका बताउनुभएको छ ।

यता, सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाह, उनकी श्रीमति र चालकलाई कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्री शाह होम आइसोलेसनमा उपचाररत छन् । नेपालमा पछिल्लो २४ घण्टामा २५०८ जनामा संक्रमण पुष्टि भएसँगै कोरोना संक्रमितको संख्या १ लाख ७० हजार ७४३ पुगेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ