Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपाल अपडेट : यस्ता छन् पछिल्ला प्रमुख ५ खबर

नेपाल अपडेट : यस्ता छन् पछिल्ला प्रमुख ५ खबर


काठमाडौं । कोरोना कहर जारी रहेको नेपालमा किसानलाई मलको अभाव छ । अन्तर्राष्ट्रिय उडानमा समस्या, सबै पर्यटन व्यवसाय खुलाउने तयारी, राष्ट्र बैंकमा पुनकर्जाको माग लगायत पछिल्ला प्रमुख पाँच खबर यस्ता छन् ।

पैंचोमा मल दिने समझदारीबाट पछि हट्यो बंगलादेश
नेपाललाई ५० हजार मेट्रिक टन यूरिया मल पैंचो दिने समझदारीबाट बंगलादेश पछि हटेको छ । दुई देशका प्रधानमन्त्री बीच पैँचो मल लिन दिन भदौ १६ गते भएको मौखिक समझदारीबाट बंगलादेश पछि हटेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जानकारी गराएको हो । पैंचोमा मल दिन बंगालेदेशले अविश्वास गरे जस्तो देखिएपछि अब मल किन्नै पर्ने अवस्था देखिएको मन्त्रालयका अधिकारीहरुले बताए । जीटूजी मार्फत खरिद गर्नका लागि मोडालिटी अन्तिम चरणमा पुगेको र स्वीकृतिका लागि केही दिन भित्रै मन्त्रिपरिषदमा पेश गर्ने तयारीमा कृषि मन्त्रालय जुटेको छ । मल खरिद टुङ्गिएको २० दिनमै नेपालमा मल आइपुग्ने दाबी गरिएको छ । अन्तिममा आएर बंगालादेशले पैंचोमा मल नदिने बताएपछि गहुँ, तोरी र तरकारी बालिको लागि मल अभाव हुने भएको छ ।

अझै एक महिना नेपाल–भारत हवाई उडान नहुने
नेपाल र भारतबीच २०७६ चैत ११ बाट रोकिएको हवाई उडान अझै कम्तीमा एक महिना सुरु नहुने भएको छ । भारतमा रहेका विभिन्न मुलुकका नागरिकलाई फिर्ता लैजान सक्ने गरी भारत सरकारले ल्याएको ‘एयर बबल स्किम’ नेपाल सरकारले अस्वीकार गरेपछि नेपाल र भारतबीच तत्काल हवाई उडान सुचारु नहुने देखिएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले असोज दोस्रो साता एयर बबल स्किममा सहभागी भई भारतमा उडान सञ्चालन गर्ने गरी प्रस्ताव कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)मा पठाएको थियो । सीसीएमसीबाट मन्त्रिपरिषद् पुगेपनि प्रस्ताव पास भएको थिएन् । यहि कारण तत्काल भारतका लागि नेपालबाट हवाई उडान हुने छैनन । भारत सरकारले ३० नोभेम्बर २०२० सम्म लागू हुने गरी अन्तराष्ट्रिय व्यवसायिक उडानमा प्रतिवन्ध लगाएको छ । सोहीकारण नेपाल भारतमा कम्तिमा १ महिना उडान नहुने भएको हो । भारततर्फको उडान रोकिदा नेपाल एयरलाइन्सले भने ठूलो आम्दानी गुमाउदै आएको छ ।

धरौटी लिने सरकारी अस्पताललाई स्पष्टीकरण
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितहरुको उपचारका लागि धरौटी नलिन सरकारी अस्पतालहरुलाई निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले धरौटी मागेका सरकारी अस्पतालहरुसँग स्पष्टीकरण सोधिएको जानकारी गराउँदै धरौटी बिनै उपचार गर्न निर्देशन दिनुभएको हो । मन्त्रालयले २ कात्तिकमा विपन्न, अशक्त अति अपाङ्गता भएका, ७० वर्ष नाघेका जेष्ठ नागरिक र फ्रान्टलाइनमा खटिएकाहरुमा लक्षण देखिए मात्र परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको थियो । अरुले आफ्नै खर्चमा उपचार गर्नुपर्ने मन्त्रालयको निर्णय थियो । अस्पतालहरुले संक्रमितहरुको दैनिक उपचार शुल्क तोकेर धरौटी रकम जम्मा गर्न लगाउन थालेका छन् । तर मन्त्रालयले भने सक्नेसँग उपचार खर्च लिने, नसक्नेहरुको निःशुल्क उपचार गर्ने नीति रहेको दाबी सहित निः शुल्क उपचारको दायित्वबाट नभागेको बताउँदै आएको छ ।

सबै पर्यटनका क्षेत्र खुल्ला गर्ने तयारी
सरकारले स्वास्थ्य मापदण्ड पालना गर्दै पर्यटनका सबै क्षेत्र खोल्ने तयारी गरेको छ । कोभिड(१९ महामारीकै बीच सुरक्षित रहँदै पर्यटनका सबै क्षेत्र खुला गर्ने तयारी भइरहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले जानकारी दिनुभएको हो । सरकारले कात्तिक १ गतेदेखि पदयात्रा र हिमाल आरोहणका लागि विदेशी पर्यटक आगमन खुला गरिसकेको छ । मन्त्री भट्टराईले स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गर्दै पर्यटनका अन्य क्षेत्र पनि खुला गर्ने गरी मन्त्रालयले तयारी गरेको र यो प्रस्ताव छिट्टै मन्त्रिपरिषद्मा लगिने जानकारी दिनुभयो । पदयात्रा र पर्वतारोहण खुला भएसँगै हालै बहराइनका राजकुमारसहितको टोली सफलतापूर्वक नेपालका हिमाल आरोहण गरी फर्किएको छ । एनमएका अध्यक्ष सन्तवीर लामा र टानका अध्यक्ष खुमबहादुर सुवेदीले व्यवसाय चलायमान बनाउन सरकारले थप राहतका प्याकेज ल्याउनुपर्ने बताउनुभएको थियो । कोभिड महामारीका कारण थला परेको नेपालको पर्यटन क्षेत्रलाई टेवा पु¥याउने र आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ सोमबारदेखि विश्व साइकल यात्री पुष्कर शाहको नेतृत्वमा देशव्यापी साइकल यात्रा हुने भएको छ ।

७२ अर्व पुनकर्जा माग्दै नेपाल राष्ट्र बैंकमा आवेदन
नेपाल राष्ट्र बैंकमा ७२ अर्व रुपैयाँ बराबरको पुनकर्जाका लागि विभिन्न बैंक तथा वित्तिय संस्थाको आवेदन परेको छ । असोज मसान्तसम्ममा ४४ वटा बैंक तथा वित्तीय संस्थाबाट ७२ अर्ब रुपैयाँ बराबरको पुनर्कर्जा माग गर्दै आवेदन पेश भएको हो । कोभिड–१९ का कारण प्रभावित उद्योगरव्यवसायलाई राहत दिनका लागि राष्ट्र बैंकले राहत स्वरुप पाँच प्रतिशत व्याजदरमा पुनकर्जा प्रदान गर्ने मौद्रिक नीति मार्फत घोषणा गरेको छ । पुनर्कर्जाका लागि राष्ट्र बैंकले असोज मसान्तसम्ममा सम्बन्धित बैंकमा आवेदन दिइसक्नुपर्ने र सम्पूर्ण आवेदन संकलनपछि सम्बन्धित बैंकलाई एकमुष्ट पुनकर्जा उपलव्ध गराउने जानकारी गराएको थियो । पुनकर्जाको लागि आवेदन दिएकाहरुलाई मंसिरभित्र ऋण दिने गरी राष्ट्र बैंकले प्रक्रिया अघि बढाएको जानकारी दिएको छ । राष्ट्र बैंकले बनाएको कार्यविधिमा कोभिड प्रभावित उद्योगलाई अति प्रभावित, मध्यम प्रभावित र न्यून प्रभावित गरी तीन भागमा बाडेर कर्जा प्रवाह गर्ने व्यवस्था छ । गभर्नर महाप्रसाद अधिकारीले पुनकर्जा माग धेरै भए पनि रकम अभाव हुन नदिने बताउनुभएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ