Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsधानमा ठगिदै किसान, सस्तोमा उठाएर महंगोमा बेच्दै बिचौलिया

धानमा ठगिदै किसान, सस्तोमा उठाएर महंगोमा बेच्दै बिचौलिया


काठमाडौं । किसानलाई प्रोत्साहन र सुनिश्चित बचतको ग्यारेन्टी गर्न भन्दै सरकारले २०७७ असार २ मा धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको थियो । धान लगाउनुअगावै पहिलो पटक मोटा धानको प्रतिक्विन्टल २७ सय ३५ र मध्यम धानको २८ सय ८५ रुपैयाँ मूल्य निर्धारण गरेपनि धान बेच्ने समयमा सो मुल्यमा भने किसानले धान बेच्न पाएका छैनन् ।

आर्थिक वर्ष २०७६\७७ को तुलनामा यो प्रतिक्विन्टल २ सय रुपैयाँ बढी हो । तर किसानले समर्थन मूल्य भन्दा पनि विचौलियाले तोकेको मुल्यमा धान बेच्नु परेको छ । सरकारी संयन्त्रको कमजोरीका कारण मुल्य निर्धारण गरेको दरभन्दा प्रति क्विन्टलमै ८ सय रुपैयाँभन्दा कम मुल्यमा धान बेच्न किसान बाध्य भएका छ  । किसानले गत भदौ अन्तिमसम्म धानको मूल्य २९ सय रुपैयाँ प्रतिक्विन्टलमा बिक्री गर्दै आएकोमा अहिले १९ सय रुपैयाँमा बेच्नु परेको छ । ग्रामीण भेगमा मिल सञ्चालक तथा गल्ला खरिदकर्ताहरूले मनपरी हिसाबले मूल्य तोकेर धान खरिद गर्दै आएका छन् । उनीहरूले १९ सय ५० देखि २ हजार ५० रुपैयाँसम्ममा धान किनिरहेका छन । सरकारले तय गरेको समर्थन मुल्यकै आधारमा जिल्ला प्रशासनबाट समयमा मुल्य निर्धारण नगर्दा आफूहरु मारमा परेको किसानहरुको गुनासो छ ।

समर्थन मूल्यको फाइदा बिचौलियाले उठाइरहेको किसानहरुको गुनासो छ । किसानले प्रतिक्विन्टल २ हजार १ सयमा बिक्री गरेको धान विचौलियाले प्रतिक्विन्टल न्यूनतम २ हजार ५ सय रुपैयाँमा बिक्री गरिरहेका छन् । गाउँकै काँटामा धानको मुल्यमा मनोमानी दररेट रहेको पाइएको छ । प्रतिक्विन्टल बिक्री गर्दा आउने रकम मल, श्रमिक, सिँचाइमै सकिने किसानहरु बताउँछन् । बिचौलिया, काँटावाला र मिलले किसानको धान सस्तोमा खरिद गरेर बढी नाफा लिई बिक्री गर्दै आए पनि नियमन गर्ने निकाय मौन छ ।

खाद्यले धान खरिद प्रक्रिया ढिलाइ गर्दा गोला र मिलले सस्तो दरमा किनिरहेका छन । खाद्यको पहुँच नभएको क्षेत्रमा बिचौलियाकै मनोमानी चलिरहेको छ । बारा, सिरहा, कैलाली, कञ्चनपुर, बाँकेलगायत क्षेत्रमा सस्तो दरमा धान बिक्री भइरहेको राष्ट्रिय कृषक समूह महासंघले जनाएको छ । सरकारले कार्यविधि बनाउन ढिलाइ गर्दा किसानले धानमा उचित मूल्य पाउन नसकेका हुन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ