Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपाल अपडेट : पढ्नैपर्ने प्रमुख पाँच खबर

नेपाल अपडेट : पढ्नैपर्ने प्रमुख पाँच खबर


काठमाडौं । नेपालमा कोरोना कहर जारी नै रहँदा कानुन व्यवसायी र सरकारबीच निशुल्क परिक्षण र उपचार बारे जुहारी चलेको छ । भारतीय सेनाध्यक्ष दिल्ली प्रस्थान, सम्पदाको पुनर्निर्माण लगायत प्रमुख ५ खबर यस्ता छन् ।

कोरोना परिषण र उपचार निशुल्क गर्न निर्देशन
संसदको शिक्षा तथा स्वास्थ्य समितिले अन्य क्षेत्रको बजेट कटौती गरेर भए पनि कोभिड–१९ को निःशुल्क परीक्षण र उपचार गर्न सरकारलाई निर्देशन दिएको छ । शुक्रबार भर्चुअल माध्यमबाट बसेको समितिको बैठकले अन्य क्षेत्रको बजेट कटौती गरेर भए पनि कोरोना परीक्षण र उपचार निशुल्क गर्ने व्यवस्थाका लागि सुझाव र निर्देशन दिएको हो । निजी अस्पतालमा कोरोना संक्रमितको उपचार कति खर्चमा भइरहेको छ भन्ने अनुगमन गरेर बढी लिएको पाइएमा कारबाही गर्न सरकारलाई निर्देशन समेत दिएको छ । कोरोना उपचारमा खटिएका स्वास्थ्यकर्मीहरुको स्वास्थ्य सुरक्षा र भत्ताको विषयमा समेत गम्भिर बन्न सरकारलाई समितिले निर्देशन दिएको छ ।

स्वदेश फर्किए भारतीय सेनाध्यक्ष नरवणे
भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणे तीन दिने नेपाल भ्रमण सकेर स्वदेश फर्किनुभएको छ । पत्नी विनासहित काठमाडौं उनुभएका नरवणे शुक्रबार साढे ४ बजे भारतीय वायु सेनाको चार्टर्ड विमानमार्फत दिल्ली जानुभएको हो । भ्रमणको अन्तिम दिन नरवणेले प्रधानमन्त्री एवं रक्षामन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ । भेटका क्रममा ओलीले नेपाल र भारतबीच असल मित्रता रहेको र कतिपय विषयमा दुई देशबीच रहेका समस्या संवादमार्फत् समाधान हुने विश्वास व्यक्त गर्नुभएको बताइएको छ । शुक्रबार नै नरवणेले सगरमाथाको आधार शिविर क्षेत्रमा माउन्टेन फ्लाइट गर्नुभएको थियो । बिहीबार नरवणेले राष्ट्रपति विद्यादेवी भण्डारीबाट मानार्थ महारथीको सम्मान लिएसँगै नेपाली सेनाको मानार्थ महारथीको सम्मान पाउने १८ औं भारतीय सेनाध्यक्ष बन्नुभएको थियो । त्यसअघि उनले समकक्षी प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेटवार्ता गर्नुभएको थियो । नेपाल भ्रमणको पहिलो दिन बुधबार नरवणेले बसन्तपुर, पशुपति लगायतका धार्मिक क्षेत्रको भ्रमण गर्नुभएको थियो ।

काष्ठमण्डप निर्माणको काम तिब्र
बैशाख १२ गते उद्घाटन गर्नेगरी सरकारले काष्ठमण्डप पुनर्निर्माणको कामलाई तिब्रता दिएको छ । २०७२ साल बैशाख १२ गते गएको बिनासकारी भूकम्पले क्षतिग्रस्त भएको काष्ठमण्डप आगामी वैशाखमा उद्घाटन गर्ने गरि पुनर्निर्माण गरेको हो । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले काष्ठमण्डप ध्वस्त भएकै दिन पारेर उद्घाटन गरिने जानकारी दिनुभयो । शुक्रबार दिउँसो शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठसँग काष्ठमण्डप पुननिर्माणको प्रगतिको बारेमा जानकारी लिन मन्त्री ज्ञवाली वसन्तपुर दरबारक्षेत्र पुग्नुभएको थियो । काष्ठमण्डप पुननिर्माण सम्पन्न गर्न करिब १३ करोड रुपैयाँ लाग्ने बताइएको छ । सरकारको तर्फबाट पुननिर्माण गर्दा करिब १९ करोड रुपियाँ लागत अनुमान गरिएको छ । काठमाडौं महानगरपालिकाको पुर्ण आर्थिक सहयोगमा पुननिर्माण भैरहेको सो सम्पदाको लागि महानगरपालिकाले करिब साढे १० करोड रुपैयाँ निकासा गरिसकेको छ ।

नेपाली बैंकलाई राहत
८ बर्षअघिदेखी मेलम्ची खानेपानी आयोजनाको जमानतको रकम फिर्ता सम्बन्धी चीनमा चलेको मुद्दा नेपाली बैंकले जितेका छन् । यद्यपी विपक्षीहरु पुनरावेदनका लागि उच्च अदालतमा जाने सम्मावना भने कायमै छ । विहीबार चीनको माथिल्लो अदालत हेनान प्रोभिन्स पिपल्स कोर्टले गरेको सुनुवाइमा नेपाली बैंकले मुद्द जितेका हुन् । हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले शुक्रबार मुद्दा जितेको खवर पाएको जानकारी दिँदै बैंक अफ काठमाडौं बैंकसँग समेत सल्लाह गरेर रकम फिर्ताको लागि तत्काल पहल थाल्ने जानकारी दिनुभयो । मुद्दा जितेसँगै दुवै बैंकले मेलम्ची जमानतको रकम भुक्तानी पाउनेछन् । मेलम्ची आयोजनाको जमानत रकम फिर्ता आएमा बैंक अफ काठमाण्डूको ९४ करोड ९८ लाख रुपैयाँ र हिमालयन बैंकको ६६ करोड रुपैयाँ फिर्ता आउने छ ।

कांग्रेसका पाँच केन्द्रीय सदस्यमा कोरोना
नेपाली काँग्रेसका पाँच जना केन्द्रीय सदस्यमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दिलेन्द्रप्रसाद बडु , केन्द्रीय सदस्य सुरेन्द्र पान्डे , केन्द्रीय सदस्य एवं सांसदय सुजाता परियार, केन्द्रीय सदस्य किरण यादव, केन्द्रीय सदस्य मोहमद नसिर सिद्दिकी, र आमन्त्रित केन्द्रीय सदस्य कृष्णकिशोर घिमिरेलाई कोरोना संक्रमण पुष्टि भएको हो । बिहीबार पार्टी कार्यालय सानेपामा गरिएको पीसीआर परीक्षणमा रिपोर्ट पोजेटिभ आएको हो । पार्टी विवाद समाधान नहुँदा र केन्द्रीय सदस्यमा कोरोना देखिएपछि कांग्रेसको बैठक पटक पटक प्रभावित हुँदै आएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ