Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपाल अपडेट : यस्ता छन प्रमुख पाँच खबर

नेपाल अपडेट : यस्ता छन प्रमुख पाँच खबर


काठमाडौं । कोरोनाको संक्रमण र जोखिम यथावत रहेको नेपालमा दलहरुबीचको आन्तरिक किचलो समेत यथावत छ । पछिल्लो २४ घण्टामा नेपालमा चर्चा र महत्व पाएका प्रमुख ५ खबर यस्ता छन् ।

हतियारसहित नेपाल छिरेका भारतीय सुरक्षाकर्मी लखेटिए
कञ्चनपुरको दक्षिणी सीमावर्ती क्षेत्रमा हतियारसहित प्रवेश गरेका भारतीय सुरक्षा बल (एसएसबी) का सुरक्षाकर्मीलाई स्थानीय वासिन्दाले लखेटेका छन् । जिल्लाको बेलौरी नगरपालिका–१० भुडास्थित नेपाल–भारत सीमा क्षेत्रमा एसएसबीका ६ जना सुरक्षाकर्मी शनिबार नेपाल प्रवेश गरेका थिए । डोरी, क्यामेरा र हतियारसहित रहेका उनीहरूलाई स्थानीयवासीले अनुमति बिना नेपाल प्रवेश गरेको भन्दै फिर्ता पठाएका हुन् । कोसँग सोधेर आएको भन्दै सोध्दा कसैलाई सोधका छैनौँ भन्ने जवाफ आएपछि करिब २५ जना युवाहरु मिले नेपालबाट लखेटेको बेलौरी नगरपालिका–१० का वडा सदस्य रामनाथ चौधरीले जानकारी दिनुभयो । यसअघि पनि पटक पटक नेपाली भूमिमा प्रवेश गरेर एसएसबीले ज्यादती गर्ने गरेको चौधरीले बताउनुभयो । नेपाली भूमिमा प्रवेश गरेर नापी गर्दैगरेका एसएसबीका कर्मचारी बिना जानकारी नेपाल आएको बेलौतरी नगरपालिका– १० का अध्यक्ष हरिलाल चौधरीले बताउनुभयो । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले भारतीय पक्षले समन्वय नै नगरी नेपाली भूमिमा प्रवेश गरेको बताएपनि सामान्य गस्ति भएको भन्दै भारतीय सुरक्षाकर्मीको ज्यादतिको बचाउ गरेका थिए ।

४ जना संक्रमितको मृत्युपछि अबैद्य कोभिड अस्पताल बन्द
विराटनगरको एक अस्पतालमा ४ जना कोरोना संक्रमितको मृत्यु भएपछि अनुमति नलिई कोभिड अस्पताल सञ्चालन भएको पाइएको छ । सरकारले कोरोना संक्रमित आफैंले उपचार खर्च व्यहोर्नुपर्ने निर्णय गरेपछि कात्तिक पहिलो सातादेखि म्याक्स इन्टरनेशनल अस्पतालले अरु सेवा बन्द गरी कोरोना संक्रमितको उपचार सुरु गरेको पाइएको हो । अस्पतालमा हालसम्म ४० जना संक्रमित उपचारका लागि भर्ना भएकोमा ४ जनाको मृत्यु भइसकेको, ११ जना उपचाररत रहेको र बाँकी डिस्चार्ज भएको अस्पतालका प्रशासन प्रमुख हेमनारायण मेहताले जानकारी दिनुभयो । यो अस्पतालले कोरोना संक्रमितको उपचारका लागि दैनिक शुल्क १० हजारदेखि ३० हजार रुपैयाँसम्म लिएको, भेन्टिलेटर आवश्यक पर्ने बिरामीले दैनिक ३० हजार रुपैयाँ शुल्क तिर्नुपरेको पाइएको छ । उपचारका लागि आउने संक्रमितसँग दैनिक ८० हजारसम्म शुल्क उठाएको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय मोरङले छापा मारेर अस्पताल बन्द गर्न निर्देशन दिएको छ ।

सीमा सुरक्षा तथा चोरी पैठारी रोक्न पर्सामा थपिए ३ वटा बीओपी
सीमा क्षेत्रको सुरक्षाका लागि पर्सामा सशस्त्र प्रहरीले थप तीन वटा बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गरेको छ । ठोरी गाउँपालिकाकाको ब्रम्हनगर, जिराभवानी गाउँपालिकाको महादेवपट्टी र छिपहरमाईको गाउँपालिकाको सम्भौतामा बीओपी स्थापना गरिएका हुन् । तीन वटै बीओपीको सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआइजी) कृष्णभक्त ब्रम्हाचार्य, पर्साका प्रमुख जिल्ला अधिकारी आसमान तामाङ र सम्बन्धित गाउँपालिकाका अध्यक्षले संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो । यसअघि जिल्लामा सशस्त्र प्रहरीका १० वटा बीओपी थिए । सीमा रक्षा तथा सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण, त्यस क्षेत्रको शान्ति सुव्यवस्था स्थापनाका लागि काम गर्ने बीओपीमा सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा ३५ जनासम्मको टोली खटाइनेगरेको छ ।

आन्दोलनको तयारीमा उखु किसान
उखु किसानहरुले मंसिर २७ गतेदेखि आन्दोलन थाल्ने घोषणा गरेका छन् । उखु मिलहरुले गत वर्ष आफूहरुसँग किनेको उखुको बक्यौता भुक्तानीमा ढिलाइ भएपछि किसानहरुले मंसिर २७ गतेदेखि आन्दोलन सुरु गर्ने घोषणा गरेका हुन् । आइतबार सिंहदरबारमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई ज्ञापनपत्र बुझाउँदै किसानहरुले सबै बक्यौता भुक्तानी नभए आन्दोलन गर्न बाध्य हुने चेतावनी दिए । उखु किसान संघर्ष समिति सर्लाहीका अध्यक्ष रामस्वार्थ रायले किसानमाथि चरम अन्याय हुँदा पनि सरकार मुकदर्शक भएको गुनासो गर्नुभयो । मन्त्री भट्टले भने बन्द भएका उद्यागको जायजेथा बेचेर भएपनि किसानको रकम दिलाउने प्रतिवद्धता दोहो¥याउनुभएको थियो ।

कोरोनाको जोखिम यथावत
पछिल्लो २४ घण्टामा २ हजार ८१७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ९४ हजार ४५३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या नै ३५ हजार ४१९ रहेको छ । पछिल्लो २४ घण्टामा २ हजार ८१२ जना देशका विभिन्न अस्पतालबाट डिस्चार्ज भएसँगै कोरोना जित्नेहरुको संख्या १ लाख ५७ हजार ९२६ पुगेको छ । पछिल्लो २४ घण्टामा थप २१ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या नै १ हजार १०८ पुगेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ