Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaकन्फेसनका नाममा अष्ट्रेलियाका नेपालीबिच झुठको खेति । मनगणन्ते लेखेर छोरीचेलीको बेइज्जत ।

कन्फेसनका नाममा अष्ट्रेलियाका नेपालीबिच झुठको खेति । मनगणन्ते लेखेर छोरीचेलीको बेइज्जत ।


सरल गुरुङ/ब्रिजवेन
अष्ट्रेलियाका नेपालीबिच एउटा फेसबुक पेज परिचित छ । कन्फेसन अफ नेपलिज इन अष्ट्रेलिया नामको उक्त पेजले झुठो र कपोकल्पित कुरालाई प्रचार गरि यहाँको सिंगो नेपाली समाजको बेइज्जत गर्ने काम गरिरहेको छ । नेपाल ट्युवले गरेको एक अनुसन्धानले उक्त कन्फेसन नामक पेजमा जसले जे लेखेर पठाए पनि पोष्ट हुने तथ्य फेला परेको छ । जसले जे लेखेर पठाएपनि बिना कुनै जाँच र भेरिफाइ बिनै पोष्ट गरिदिने भएपछि यो पेजलाई मानिसहरुले रिस साध्न, महिला र सामाजिक अभियन्ताको बेइज्जत गर्न र सिंगो नेपाली समाजको मानमर्दन गर्न दुरुपयोग हुन थालेको छ ।
उक्त पेजको परिचयमा भनिएको छ –अन्त कतै भन्न नसकिएका आफ्ना समस्यालाई परिचय नखुलाइ पोष्ट गर्नुस । यो पेजमा कन्फेसन अर्थात स्विकारोक्ती गरेपछि अरुलाई सहयोग पुग्ने, शान्त बनाउने र केही हासो ल्याउन पेजले सहयोग गर्ने दाबी गरेको छ । तर, वास्तविकतामा भने यो पेजले झुठो र कपोकल्पित सुचना पोष्ट गरेर मानिसलाई शान्त होइन कि बरु उल्टै तनाव सृजना गरिदिएको छ । पेजमा प्रकाशित हुने कथित कन्फेसन सबै साचो हुन् त ? हामीले गरेको खोजको अंश यहाँ उल्लेख छ ।
कन्फेसन नामक उक्त पेजमा कस्ता कस्ता सुचना छापिदो रहेछ भनेर हामीले पनि कन्फेसर अर्थात स्विकार गर्ने व्यक्ति बनेर पेजलाई नाटकिय कन्फेसन पठायौ । पेजमा उपलब्ध नेपसाइडर्स डट कम गएपछि कन्फेसन लेख्न गुगल फारम भेटिन्छ । हामीले पनि यसअघि पेजमा पोष्ट भइरहने गाली गौलज, यौन, महिला जस्ता विषयमा नै आधारित रहेर नाटकिय कन्फेसन लेख्यौ ।

तथ्य नं १ श्रीमतीले धोका दियो

हामीले अक्टोबर २३ तारिखमा तयार पारेको कन्फेसनमा २५ वर्षको बिवाहित पुरुषले मेलवर्नबाट लेखेको उल्लेख गरेका थियौ । कन्फेसन पेजले हामीलाई इमेलमा पठाएको गुगल फारम यो लिंकमा छ । हामीले उक्त पुरुषको श्रीमतिले नर्स बनिसकेपछि विदेशी युवकसंग अनैतिक सम्बन्ध राखेर धोका दिएको उल्लेख गरेका थियौ । उक्त विवरण २०२० अक्टोबर २४ अर्थात भोलिपल्टै हुवहु पेजमा पोष्ट भएको छ । जानकारी होस् उक्त पोष्ट प्रकाशन गर्नु अघि कन्फेसनले हामीलाई घटना बारे कुनै पनि सोधखोज गरेन । २३३७३ नम्बरमा पोष्ट भएको उक्त पोष्टमा हालसम्म १ सय ८९ जनाले कमेन्ट गरेका छन् । कमेन्ट गर्नेमा समाजका गन्यमान्य पनि छन् । कमेन्टमा अधिकांशले ती काल्पनिक युवतीलाई तथानाम गाली गरेका छन् । केहीले कानुनी सुझाव पनि दिएका छन् ।

हामीले भरेको कन्फेसनको फराम हेर्नुस

छापिएको पोष्ट यस्तो छ

तथ्य नं २ एनआरएनएलाई गाली

एउटा पोष्टकै आधारमा कन्फेसनमा जे पनि छापिन्छ भनेर विश्वास गर्नु जायज होइन । त्यसैले हामीले अर्को पनि कन्फेसन पठायौं । कन्फेसन पेजमा छापिरहेने सामाजिक अभियन्तालाई गाली गौलज गर्ने खालकै तयार पार्यौ । यो कन्फेसन तयार पार्दा हामीले एनआरएनए अष्ट्रेलियाका अध्यक्ष केशव कँडेलसंग छलफल समेत गरेका थियौ । हामीले यसपटक एनआरएनए अभियन्तालाई चोर भनेर सम्बोधन गरेका छौ । सत्य कुरा बाहिर ल्याउनका लागि गरिएको यो प्रयासमा हामीले अभियन्तालाई चोर भन्ने शब्द प्रयोग गर्न बाध्य भएकाले माफी समेत चाहान्छौ । कन्फेसन हामीले २५ वर्षे सिड्नीकी नेपाली विद्यार्थीका नाममा लेखेका थियौ । खासगरी कोभिडको समय एनआरएनएले राहत बाडेपनि आफुले नपाएको र नेताहरुबाट आश्वसन मात्रै पाएको कन्फेसनमा उल्लेख छ । नोभेम्बर ६ तारिखमा २३५६७ नम्बर दिएर छापिएको कथित कन्फेसमा पनि समाजका गन्यमान्यले कमेन्ट गरेका छन् । हालसम्म ८६ वटा रहेको अधिकांश कमेन्टमा एनआरएनएका नेताहरुलाई उग्र शैलीमा गाली गरिएको छ ।

पोष्ट यस्तो छ

यी दुइ तथ्य त उदाहरण मात्रै हुन् । कन्फेसन पेजमा छापिने केही विवरण सत्य पनि होलान् तर त्यसलाई पुष्टी नगरिकनै प्रकाशित गरिने भएकाले त्यसको सत्यतामा नै प्रश्न चिन्ह उठ्छ । बिना कुनै आधार, खोधीखोजी र सत्यको जाँच नै नगरि जे आउछ भटाभटा उक्त विवरण पोष्ट गर्ने हुनाले यो पेजमा छापिएका विवरणलाई विश्वास गर्ने आधार छैनन् ।
पेजमा खासगरी यौन, महिला चरित्रहत्या, सामाजिक अभिन्यताको खेदो खन्ने जस्ता विषयहरु प्राथमिकताका साथ छापिन्छन् ।

झुठो कन्फेसनले डिप्रेसनमा पुगे एनआरएनए नेता

कन्फेसन पेजको झुठो र भ्रामक पोष्टले धेरैलाई अप्ठ्यारोमा पारेको छ । त्यसमा पनि समाजमा चिनिएका व्यक्तिलाई त यो गलपासो नै बन्ने गरेको छ । एउटा उदाहरणबाट नियालौ । गत वर्ष १३१९४ नम्बरमा ब्रिजवेनका युवकको नाममा कथित कन्फेसन पोष्ट भयो । उक्त पोष्टमा युवकले आफुले जागिर नपाएको र कुइन्सल्याण्डका एनआरएनए नेता अमृत खत्रीले समेत काम नखोदिएको भन्दै दुख व्यक्त गरिदिएको थियो । खासगरी ब्रिजवेनको युवा जमातमा निकै लोकप्रिय र नयाँ विद्यार्थीलाई काम, डेरा र बाटो देखाइदिने अभियन्ता अमृत खत्रीलाई यो पोष्ट निकै भारी पर्यो । खत्रीले यो कन्फेसन गर्ने युवाको खोजी गर्नुभयो तर भेटिएन । समाजमा भित्रभित्रै गाइगुइ चल्न थाल्यो । विद्यार्थीका सहयोगी भनेर चिनिएका अमृत रातारात राक्षस बने । यहि चिन्ताले खत्री मानसिक तनावमा पुग्नुभयो । कन्फेसनको पेजमा कसैको नाम किटान गरि कन्फेसन गर्न नपाइने कुरा उल्लेख छ । तर, व्यवहारमा लागू भएको छैन । अमृत खत्री बारे छापिएको कन्फेसनमा स्पष्ट नाम लेखिएको छ ।  नाम रातो धर्कामा हेर्नुसयो घटना पछि माइल्ड खालको डिप्रेसनमा पुगेका अमृत उक्त पोष्ट सबै झुठ भएको कामका लागि आफुलाई कसैले सम्पर्क नगरको भन्दै नेपालट्युबको सम्पर्कमा आउनुभएको छ ।  कन्फेसन पेजसंग च्याट गरि पटक पटक अनुरोध गरेपछि  पेजबाट उक्त पोष्ट हटाइएको थियो । निकै पछि पोष्ट डिलिट भएपनि त्यसले आफुलाई क्षति पुराइसकेको बताउने खत्री भन्नुहुन्छ -‘यो त मरेपछि औषधी जस्तो भयो ।’ यस्ता झुठा र कपोकल्पित पोष्टले आफु सिकार भएपनि अरुलाई हुनबाट रोक्न यस्ता प्रवृत्ति रोकिनुपर्ने खत्रीको जोड छ ।

कन्फेसनमा छापिने सबै कुरा विश्वास नगर्नुस केशव कँडेल

एनआरएनए अष्ट्रेलियाले यो विषयलाई कसरी हेरिरहेको छ भन्ने कुरा महत्वपुर्ण छ । गत वर्ष कन्फेसनको पेजमा आत्महत्या सम्बन्धि विवरण आएपछि एनआरएनए अष्ट्रेलियाका अध्यक्ष केशव कँडेलले कमेन्टमा मेसस गरेर ती व्यक्तिसंग सम्पर्क गर्ने प्रयास गर्नुभएको थियो तर, कोही पनि सम्पर्कमा नआएको कँडेलको भनाई छ । त्यसपछि आफुलाई यो पेजमा छापिने सबैकुरा सत्य होइन रहेछ भन्ने लागेको उहाँको भनाई छ । आफुलाई समस्या परे सिधै एनआरएनएको फेसबुक पेजमा सम्पर्क गर्न पनि कँडेलले अनुरोध गर्नुभएको छ ।

कन्फेसन पेजले दिएन सुचना

जे पनि पोष्ट भएको तथ्य भेटिएपछि हामीले कन्फेसन अफ नेपलिन इन अष्ट्रेलिया पेज र यसको संचालक संस्था भनिएको नेपसाइडर्स डट कमलाई इमेल लेखेर केही विवरणहरु माग्यौ । पेजमा छापिएका कथित कन्फेसनले सामाजिक बेइज्जति गरेको भन्दै हामीले पेजको संचालक, दर्ता विवरण, सूचनाको छानविन प्रकृया र कन्फेसरको व्यक्तिगत विवरणको सुरक्षा कसरी हुन्छ भन्ने विवरण माग गरि इमेल लेखेका थियौ । तर, पेजको संचालकको विवरण उल्लेखको इमेलबाट हामीलाई कन्फेसन पेजले संक्षिप्त जवाफ मात्रै पठाएको छ । उक्त संक्षिप्त जवाफमा पेजले यसअघि पनि झुठो विवरण छापिने गरेको स्विकार गरेको छ । त्यस्ता झुठो विवरणलाई पत्ता लगाएर सहि सुचना मात्र छाप्नको लागि संयन्त्र भएको पेजको दाबी छ । तर, हामीले मागेका बाकी विवरण कन्फेसन पेजले दिन मानेन । हामीले पुन उक्त विवरण माग गरेर इमेल लेखेपनि जवाफ आएको छैन ।

कानुनले के भन्छ ?

अष्ट्रेलियामा विद्युतिय कारोबार र मानहानीको कानुन निकै कडा छ । संघियस्तरमा राज्यराज्य अनुसार यी कानुनको दायरा र सजाय फरक फरक छन् । सिड्नीका कानुन व्यवसायी भरत पोखरेलका अनुसार सामाजिक संजालमा अरुलाई गालीगौलज गरेर लेख्दा मानहानीको मुद्धा लाग्न सक्ने अवस्था रहेको बताउनुहुन्छ । स्विकारोक्ति अर्थात कन्फेसन भन्दै मनका कुरा लेख्न छुट भएपनि त्यसमा कुनै समुदाय, व्यक्ति, लिंङ, धर्म, जाति वा भाषालाई ठेस पुग्ने वा मानहानी हुने कुरा उल्लेख छ भने उक्त कुरा कानुनी दायरामा आउन सक्ने अवस्था रहने पोखरेलको भनाई छ ।
यदि कसैले मानहानी भएको भन्दै उजुरी गरेमा कन्फेसन लेख्ने र प्रकाशन गर्ने दुबै सजायको भागिदार हुनसक्ने अवस्था रहने उहाको भनाई छ । त्यसैले सामाजिक सन्जालमा कसैको विरुद्ध लेख्दा विचार पुर्याउन पोखरेलले अनुरोध गर्नुभयो । ‘हामी नेपालमै जस्तो ठानेर जे पनि गर्न तम्सन्छौ’- पोखरेलले भन्नुभयो -‘नेपालमा हामीलाई सामान्य लाग्ने विषय पनि अष्ट्रेलियामा अपराध हुनसक्छ ।’

६८ हजार ९ सय जनाले फलो गरिरहेको उक्त कन्फेसन पेज युवा जमातमा चर्चित छ । अष्ट्रेलियाका गन्यमान्यहरुले समेत फलो गरिरहेको उक्त पेजमा दैनिक एक सय भन्दा बढी कथित कन्फेसन छापिने गरेका छन् । इमेल पठाएको केही घण्टामा नै पोष्ट हुने उक्त पेजमा छापिएका कतिपय विषय समाजले पचाउनै नसक्ने खालका छन् । अरु त अरु कन्फेसरको व्यक्तिगत विवरण समेत पेजले संकलन गर्ने गरेका छन् । त्यस्ता विवरणहरुको सुरक्षाको प्रश्न पनि उठेको छ । हालैमात्रै पेजले कन्फेसन बाहेक पैसा लिएर विज्ञापन गर्ने तथा कन्सलटेन्सी र भिषा बारे सुचना दिने समेत गर्न थालेको छ । यसले झुठ र भ्रमले समाजलाई कलंकित पारेर पैसा कमाउने मेलो समेत गरेको भान हुन्छ ।

भित्रैभित्रै भुसको आगोसरी फैलिएको यो कथित कन्फेसनले व्यक्तिको चरित्र हत्या गर्ने, सामाजिक प्रतिष्ठा र व्यक्तित्वमाथी नै प्रहार मात्रै गरिरहेको छैन, बरु अष्ट्रेलियाका सिंगो नेपाली समाजको छवी धमिलो पारिरहेको छ । सत्य कुरा बाहिर आउनुपर्छ, सत्य लेख्दा समाजको बेइज्जत भयो भन्नु जायज पनि होइन, तर, झुठो विवरणमा कसैको चरित्र हत्या गर्न पाइन्छ त ? यो सोचनिय विषय हो । तर, हामी पेजमा पोष्ट आएपछि लुकीलुकी हेर्ने र मनमनै त्यसलाई ठिक परेछ भन्नेर रमाउन मै व्यस्त छौ । तर, भोली अरु कसैले मेरो विरुद्ध पनि यस्तै कपोकल्पित र झुठो कुरा लेखेर छापिदिए के होला ? भनेर बेलैमा यस्ता प्रवृत्तिलाई रोक्न अष्ट्रेलियाका नेपाली समाज चुकेको छ । उता कन्फेसन पेज संचालकले पनि आफ्नो प्लाटफर्मलाई थप विश्वासिलो बनाउने हो र घोषणा गरे जस्तै नेपालीको सेवा गर्ने हो भने आफ्नो पहिचान खुलाएर प्राप्त कन्फेसनको सत्यता परिक्षण गरेर मात्र प्रकाशित गर्न ढिला गर्नुहुन्न ।

यो समाचारमा जनाए जस्तै तपाई पनि कन्फेसन अफ नेपलिज इन अष्ट्रेलियाको पेजमा प्रकाशित सामाग्रीबाट प्रभावित हुनुहुन्छ भने कृपया हामीलाई इमेल वा हाम्रो अफिसियल फेसबुक पेजमा गएर सम्पर्क गर्नुहोस् ।

 

 

 

 

 

 


ट्याग : #Australia, #confession of nepali in australia, #Nepali in Australia, #news
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ