Friday, 5 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपाल अपडेट : पढौँ प्रमुख ५ खबर

नेपाल अपडेट : पढौँ प्रमुख ५ खबर


काठमाडौं । नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या एक हजार १ सय ८९ पुगेकोछ । कुल संक्रमितको संख्या २ लाख ४ हजार २४२ पुग्दा सक्रिय संक्रमित नै ३८ हजार ४६१ रहेका छन् । कोरोना कहर बढ्दै गरेको नेपालका पछिल्ला प्रमुख पाँच खबर यस्ता छन् ।

सिमानाकाको प्रतिबन्ध एक महिना लम्बियो
सरकारले कोरोना महामारी रोकथामका लागि भन्दै सिमानाकामा लगाएको प्रतिबन्ध थप एक महिना लक्बिएर मंसिर ३० गतेसम्म पुगेको छ । मन्त्रिपरिषद् बैठकले कात्तिक ३० गतेसम्म लगाइएको सिमानाकाको प्रतिबन्ध एक महिना बढाएको हो । कोरोना महामारीका कारण चैत ११ यता नेपालका सबै स्थल नाकाबाट नेपालीबाहेकलाई प्रवेशमा रोक लगाइएको छ ।

सिनेमा हलको १० अर्ब लगानी जोखिममा
कोरोना भाइरसको संक्रमण रोकथामका लागि सरकारले चैत ११ गते देखी जारी गरेको बन्दाबन्दीका कारण बन्द भएका सिनेमा हल अझै सञ्चालनमा आएका छैनन । हलहरु नचल्दा सञ्चालकदेखि चलचित्र निर्माता, कलाकार र प्राविधिकसम्मको रोजीरोटीमा समस्या परेको छ । नेपाल चलचित्र संघका अध्यक्ष मधुसुदन प्रधान हल जोगाउन बन्द भएको समयमा समेत मासिक १० लाखदेखि १२ लाखको जोहो गर्नुपरिरहेको बताउँछन् । देशभर २०० सिनेमा हल सञ्चालनमा छन् । त्यसमा ६० प्रतिशत सिंगल हल र ४० प्रतिशत मल्टिप्लेक्स छन् । सिंगलहरु अगग्रेड गर्न पनि पछिल्लो समयमा ठूलो लगानी भएको थियो । एउटा हलमा ३ करोडदेखि ८ करोडसम्म लगानी भएको अनुमानका आधारमा यो व्यवसायमा १० अर्बभन्दा बढी लगानी छ । लगानीको करिब ७० प्रतिशत बैंकको ऋण भएको चलचित्र क्षेत्रलाई सरकारले पूरै बेवास्ता गर्दा अर्बौं लगानी जोखिममा परेको छ ।

अब विदेशमा किताब छापेर स्वदेश ल्याउँदा १० प्रतिशत भन्सार
अब नेपाली प्रकाशकले विदेशबाट किताब छापेर ल्याउँदा १० प्रतिशत भन्सार महसुल तिर्नुपर्ने भएको छ । विदेशबाट आउने किताबमा लाग्दै आएको भन्सार महसुल छुट दिएकोबारे सरकारले थप व्याख्या गर्दै यो महसुल निर्धारण गरेको हो । गत आर्थिक वर्षमा नेपाली प्रकाशकले विदेशमा पुस्तक छापेर नेपालमा ल्याउँदा १५ प्रतिशत भन्सार लाग्दै आएको थियो । विदेशी किताब आयातमा भन्सार लगाउने निर्णय उल्टिएसँगै नेपाली प्रकाशकले विदेशमा किताब छाप्दा गरेको खर्च, भाडा र बीमा गरी हुन आउने खर्चको १० प्रतिशत भन्सार महसुल तिर्नुपर्ने भएको हो ।

अब गोर्खा राइफल्स रेजिमेन्टमा भारतीय युवालाई प्राथमिकता
नेपालमा गोर्खा भर्ती रोक्नुपर्ने माग बढिरहेका बेला भारतले गोर्खा राइफल्स रेजिमेन्टमा स्वदेशी युवाहरुलाई बढी प्राथमिकता दिने नीति अबलम्बन गरेको छ । हालै भारतीय सेनाले उत्तराखण्ड राज्यको गढवाल र कुमाउका युवालाई गोर्खा पल्टनमा भर्ना लिने नीतिगत निर्णय गरेको हो । यस अगाडिसम्म उनीहरुले गोर्खा पल्टनमा भर्ती पाउँदैनथे । नेपाल र भारतबीच अन्य विभिन्न विषयमा पुनरावलोकन गर्ने गृहकार्य भए पनि गोर्खा भर्तीका बारेमा भने अहिलेसम्म औपचारिक कुराकानी भने भएको छैन । भारतले केही दशकयता नेपाली युवाहरुको संख्यालाई कमी गर्दै आइरहेको छ । आसाम राइफलमा नेपाली युवा भर्ना गर्ने प्रक्रियालाई भारतले सन् २००० देखि नै रोकेको छ । अहिले भारतीय सेनामा ४० गोर्खा राइफल्स छन् ।

अर्थमन्त्रीले थाले सरकारी खर्च कटौती
अब सरकारी कर्मचारीले एक भन्दा बढी सरकारी गाडी चढ्न नपाउने भएका छन् । अर्थमन्त्री विष्णु पौडेलले चालु आर्थिक वर्ष २०७७\०७८ को बजेटमा उल्लेख भएबमोजिम सरकारी खर्च कटौतीको नीति कार्यान्वयन थालेसँगै मनलाग्दी सुविधा कटौती हुने भएको हो । अर्थ मन्त्रालयले ‘सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्ने सम्बन्धी मापदण्ड, २०७७’ तयार पारेसँगै अब चालु आर्थिक वर्षमा नेपाल सरकार र वैदेशिक ऋण कुनै पनि स्रोतबाट नयाँ सवारी साधन खरिद गर्न पाइने छैन । कुनै पनि सार्वजनिक निकायले नयाँ सवारी साधन खरिद गर्नु परेमा अर्थ मन्त्रालयको अनुमति अनिवार्य लिनु पर्ने व्यवस्था गरिएको छ । कार्यविधिमा एकजना हाकिमलाई एउटामात्र सवारी साधन प्रदान गर्र्ने व्यवस्था गरिएको छ । निवर्तमान अर्थमन्त्री युवराज खतिवडाले ल्याएको चालु आर्थिक वर्षको बजेटमा सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्ने कार्यक्रमलाई प्राथमिकता राखेपनि कार्यान्वयन भएको थिएन् । कार्यविधिअनुसार अब विशिष्ट अधिकारी (भीआईपी)ले हेलिकोप्टर चढेर उठाउने बिल समेत सरकारले नतिर्ने भएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ