Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsयमपञ्चकको चौथो दिन : आज गाई र गोरुको पूजा, भोली भाइटिका

यमपञ्चकको चौथो दिन : आज गाई र गोरुको पूजा, भोली भाइटिका


काठमाडौं । यमपञ्चकको चौथो दिन आज गाई र गोरुको पूजा गरिएको छ । गाईलाई पूजा गर्नाले गाईबाट आमाबाट पाएजस्तै माया पाइने धार्मिक विश्वास रहिआएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले गाईको दूध, गहुँत र गोबर पवित्र हुने भएकाले पनि गाईको पूजा गर्ने गरिएको जानकारी दिनुभयो ।

आधुनिक विज्ञानका विभिन्न अनुसन्धानले समेत स्थानीय गोरस विभिन्न रोगहरुमा अचुक औषधिका रूपमा प्रयोग गर्दा मानव स्वास्थ्यलाई फाइदा पुग्ने देखाएको छ । अनुसन्धानमा संलग्न गोब्रती योगी सोमराज गोरस रोगप्रतिरोधी क्षमता बढाउन र रोग निको पार्न समेत उत्तम हुने बताउँछन् । आजैका दिन कृषि कर्म गर्न हलो जोतेर वर्षभर साथ दिने गोरुलाई समेत पूजा गरी मीठो खान दिइएको छ । गोरुको साथमा जोत्ने हलीलाई समेत पूजा गरी खाना खुवाइन्छ । त्यसैले आजको दिनलाई गाईतिहार र हलीतिहार समेत भन्ने गरिन्छ । आज गोवर्द्धन पहाडको प्रतिमा बनाएर गोवर्द्धन पूजासमेत गरिन्छ ।

आजैका दिन बेलुकी घर घरमा ‘देऊ शुभ’ भनी देउसी खेल्ने परम्परा रहेपनि कोरोना महामारिका कारण देउसी भैलोका कार्यक्रम भने प्रभावित भएका छन् । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले देऊ शुभ भन्ने क्रममा अपभ्रंश भई ‘देउसी’ भएको बताउनुभयो । म्ह पूजा (आत्म पूजा) भने कात्तिक ३० गते गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिको मत छ । आइतबार बिहान ११ः२७ बजेसम्म औंसी तिथि छ । त्यसपछि कार्तिक शुक्ल प्रतिपदा प्रारम्भ हुने भएकाले म्ह पूजा यसै दिन गर्नुपर्ने समितिका अध्यक्ष प्राध्यापक डाक्टर गौतम बताउँछन् । म्हपूजा विशेषगरी नेवार समुदायले गर्ने परम्परा छ ।

तिहारअन्तर्गत शनिबार साँझ ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा गरिएको थियो । तिहारको मुख्य दिन सोमबार भाइटीका मनाइँदै छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार भाइटीकाको उत्तम साइत ११ बजेर ३७ मिनेटमा रहेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ