Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsरानीपोखरीको बालगोपालेश्वरको मन्दिर सोमबार बिहान ५ देखी साँझ ५ बजेसम्म खुल्ने

रानीपोखरीको बालगोपालेश्वरको मन्दिर सोमबार बिहान ५ देखी साँझ ५ बजेसम्म खुल्ने


काठमाडौं । यस वर्षको भाइटीकाका दिन बिहान ५ देखि साँझ ५ बजेसम्म रानीपोखरीस्थित बालगोपालेश्वरको मन्दिर दर्शन खुल्ला गरिने भएको छ । भाइटीकाका दिनमा मात्रै खुल्ने रानीपोखरी बीच भागमा रहेको बालगोपालेश्वर मन्दिर र रानीपोखरीको पुनःनिर्माण सम्पन्न भएसँगै काठमाडौं महानगरपालिका र राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको सहकार्यमा पहिलोपटक बिहान ५ देखि साँझ ५ बजेसम्म दर्शनको व्यवस्था गरिएको हो । आगामी मङ्सिर १ गते सोमबार भाइटीका परेका कारण सोही दिन उक्त मन्दिर रानीपोखरी खुल्ला हुनेछ ।

विसं २०७२ वैशाख १२ को गोरखा भूकम्पले पूर्णरूपमा क्षति पुर्‍याएको रानीपोखरी र बालगोपालेश्वर मन्दिरको पुनःनिर्माणमा सम्पन्न भएपछि मन्दिर प्रवेश गरी दर्शन गर्ने व्यवस्था मिलाउन लागिएको कामपा वातावरण महाशाखा प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिए । भाइटीकाकै लागि कामपाले मन्दिर पोखरीलाई बेहुलीझैँ झिलीमिली र सुरक्षा व्यवस्था गरेको छ बालगोपालेश्वरको मन्दिर क्षेत्रमा दाजुभाइ नभएका दिदीबहिनी र दिदीबहिनी नभएका दाजुभाइ जम्मा भएर भाइटीका लगाउने परम्परा रहिआएको छ । भूकम्पपछिका पाँच वर्षसम्म हरेक वर्ष बालगोपालेश्वरको मन्दिरलाई पोखरीको बाहिरी भागमा राखी दर्शनको व्यवस्था गरिएकोमा यो वर्ष भने दर्शनार्थीले मन्दिरभित्र नै प्रवेश गरी पूजाआजा गर्न पाउने छन् ।

यस्तो छ रानीपोखरी र बालगोपालेश्वर मन्दिर बारेको किंवदन्ती
प्रताप मल्लका छोरा चक्रवर्तेन्द्र मल्लको निधनपछि रानीको चित्त बुझाउन विसं १७२७ मा रानीपोखरीको निर्माण गराएको शिलालेखमा उल्लेख छ । पोखरीको बीचमा त्यसैबेला बालगोपालेश्वर मन्दिर स्थापना गरिएको हो । प्रताप मल्लले आफ्ना छोरा चक्रवर्तीन्द्रका नाममा यो पोखरी बनाए । पोखरीको निर्माण करिब पाँच वर्षभित्र अर्थात् नेसं ७८९ अर्थात विसं १७२५ मा सम्पन्न भएको थियो । नेसं ७९० अर्थात् विसं १७२७ अर्थात् इसं १६७० मा शिलापत्र राखिएको थियो ।

रानीपोखरी निर्माणका क्रममा १०८ तीर्थको जल हालिएको इतिहासकारहरु बताउँछन् । प्रताप मल्लले निर्माण गर्दा पोखरीको चारैतिर चार मन्दिर स्थापना गर्न लगाएको पाइन्छ । सोमध्ये उत्तर–पश्चिम कुनामा शक्तिसहितको भैरवको मन्दिर, उत्तर–पूर्व कुनामा भैरवको मन्दिर, दक्षिण–पूर्व कुनामा देवीको मन्दिर र दक्षिण–पश्चिममा सोह्रहाते गणेश स्थापना गरेको देखिन्छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट भूकम्पपछिको पुनःनिर्माण सुरुवात गरेको रानीपोखरीको काम लामो समयको बिवादपछि सम्पन्न भएसँगै अन्य सम्पदाको पुनःनिर्माणले समेत छिट्टै पुर्णता पाउने आशा गरिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ