Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsखुल्लामञ्चमा भाइटीका : भोको पेटमा गाससँगै साटिएको त्यो आत्मियता

खुल्लामञ्चमा भाइटीका : भोको पेटमा गाससँगै साटिएको त्यो आत्मियता


काठमाडौं । कोरोना कहरकाबीच तिहार पर्व हर्स, उल्लासका साथ मनाइएको छ । घरघरमा दिदिबहिनीहरुले दाजुभाईलाई भाईटिका लगाएर दिर्घायु तथा सुस्वास्थ्यको कामना गरिरहँदा गाँस खोसिएका, दिदिबहिनी नभएकाहरुले समेत दिदिबहिनीको साथ पाएका छन् ।

कोरोना भाइरसको महामारी नियन्त्रण तथा रोकथामका लागि गरिएको लकडाउनले रोजीरोटी गुमेर समस्यामा परेका नागरिकहरुलाई निःशुल्क खाना खुवाउँदै आएको हाम्रो टीम नेपालले भोको पेट लिएर खुलामञ्च पुग्नेहरुलाई भाइटीका लगाइदिएको छ । हाम्रो टीम नेपालकी संस्थापक सदस्य कविता पौडेलले तिहारजस्तो चाडवाडमा कोही पनि दाजुभाइको निधार खाली नहोस र पीडा बस्नु नपरोस भनेर खुलामञ्चमै भाइटीका लगाइएको बताइन् ।

उनीसँगै स्वयमसेवकहरुले खुलामञ्च पुगेकाहरुलाई व्यवस्थित तरिकाले लाइनमा राखेर सप्तरंगी टीकासँगै मखमलीको माला र ढाका टोपी लगाइदिएका थिए । दाजुभाइ नहुनेले काठमाडौँको रानीपोखरीका बीचमा रहेको बालगोपालेश्वर मन्दिरमा पुगेर टीका लगाइरहेका छन् ।

यता, रानीपोखरीको बालगोपालेश्वरको मन्दिर परिसरमा विगत जस्तै दिदिबहिनी नहुने दाजुभाईले र दाजुभाई नहुने दिदिबहिनीले भाइटिका लगाएर आत्मियता साटासाट गरेका छन् । भूकम्पले क्षतिग्रस्त मन्दिर पुनःनिर्माण सम्पन्न भएसँगै पाँच वर्षपछि बालगोपालेश्वर मन्दिर पुगेर टीका लगाउनेको चहलपहल बढेको थियो । भाइटीका लगाउन रानीपोखरी पुगेकाहरूले स्वास्थ्य सावधानीको उपायस्वरूप मास्क लगाएका थिए ।

कोरोना कहरकाबीच यहाँपनि भाइटीकाको उल्लास देखिएको थियो । बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक भाइटीकाका दिन मात्र खुल्ने भएपनि यो वर्ष कतिपय नेवार समुदायले भोलि पनि टीका लगाउने भएसँगै मंगलबार पनि मन्दिर खुल्नेछ । विसं २०३५ पछि नियमित रुपमा रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिर खुल्न थालेको हो । कतिपय स्थानमा दाजुभाई नहुनेहरुले दिदिबहिनी टिका समेत लगाउँदै आएका छन् । विगतमा काष्ठमण्डप क्षेत्रमा भाइटीका लगाइदिने सबैकी दिदि अञ्जली दिदिले समेत भाईटिका लगाईदिएर दिदिबहिनी नहुनेहरुमा वर्षेनी खुसी भर्दै आएकी छिन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ