Friday, 5 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपाल अपडेट : यस्ता छन्, पछिल्ला प्रमुख ५ खबर

नेपाल अपडेट : यस्ता छन्, पछिल्ला प्रमुख ५ खबर


काठमाडौं । विद्यालय निर्मलीकरणको अभियान, किसानले धानको मुल्य नपाएको गुनासो, विरामी र नर्सको भाइटीका लगायतका विभिन्न घटनाक्रमले नेपालमा चर्चा र महत्व पाएका छन् । पछिल्लो २४ घण्टाका प्रमुख ५ खबर यस्ता छन् ।

विद्यालय आसपासका क्वारेन्टिन र आइसोलेसन हटाउन निर्देशन
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय भवन तथा परिसरमा कोभिड–१९ कोे परिक्षण तथा उपचारका नाममा क्वारेन्टाइन र आइसोलेसन सम्बन्धी कार्यहरू सञ्चालन नगर्न निर्देशन दिएको छ । कोभिड–१९ महामारीको अवस्था हेरेर भौतिक रुपमै विद्यालय सञ्चालनको अनुमती दिएको मन्त्रालयले विद्यार्थी आवतजावतमा बाधा पर्ने कुनै पनि गतिविधि नगर्न नगराउन भन्दै यस्तो निर्देशन दिएको हो । मन्त्रालयद्वारा जारी विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा, २०७७ मा विद्यालय र विद्यालय परिसर भित्र तथा विद्यार्थी आवागमनमा प्रतिकुल असर पर्ने गरी वा विद्यालय क्षेत्रको निकट हुने गरी कोभिड–१९ रोकथाम र नियन्त्रण सम्बन्धी संरचनाहरू नराख्ने भनिएको छ । यसअघि क्वारेन्टाइन र आइसोलेसनका रुपमा प्रयोग भएका विद्यालयहरूलाई सरकारले निर्धारण गरेको मापदण्ड बमोजिम निर्मलीकरण गर्न सम्बन्धित स्थानीय तहहरूलाई आग्रह गरेको छ ।

सहकारीले किन किनेनन किसानको धान ?
सरकारले मोटा धानको समर्थन मुल्य २ हजार ७३५ र मोटा मसिनोको २ हजार ८८५ रुपैयाँ प्रतिक्वीन्टल तोकेपनि किसानले समर्थन मुल्य भन्दा निक्कै सस्तोमा धान बेच्नु परेको छ । किसानको लागत र व्यवस्थापन खर्च मात्र नभई भारतीय र नेपाली बजार मूल्य समेतको मुल्यांकनका आधारमा न्यूनतम समर्थन मुल्य तोकेको सरकारले दाबी गरिरहँदा किसानले भने सरकारले निर्धारण गरेको मुल्य समेत पाउन नसकेका हुन् । समर्थन मुल्य किसानले पाउने ग्यारेन्टी गर्न सरकारले सहकारीलाई धान किन्न आग्रह गरेपनि सहकारीहरूले यो भाउमा धान किन्न चासो देखाएका छैनन् ।

सहकारीहरूलाई बढीमा १८ प्रतिशत चिस्यान भएको धान न्युनतम समर्थन मुल्यमा खरिद गर्न भनिएको छ । त्यो भन्दाबढी चिस्यान भए १ प्रतिशत चिस्यान बराबर १२०० ग्राम प्रतिक्विन्टलका दरले हुन आउने तौल घटाई खरिद गर्न भनिएको छ । समर्थन मूल्यमा धान खरिदबिक्रि परीक्षणकालको समन्वय गर्ने जिम्मेवारी प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले पाएपनि पर्सा, धनुषा, झापा, सर्लाही लगायतका जिल्लाहरुमा विभिन्न सहकारी सूचीकृत भएर पनि सरकारले तोकेको मुल्यमा धान किन्न कुनैपनि सहकारी तयार देखिएका छैनन । व्यापारीहरुले २२ सयदेखि २३ सयमा धान खरीद गरिरहेको र सहकारीहरुले चासो नदिएको स्थानीय किसानको गुनासो छ ।

विरामी र नर्सको भाइटीका
चाडपर्वको समयमा अस्पतालको बसाई विरामी भएर उपचार गराउनेदेखी विरामीको उपचार गर्न जाने स्वास्थ्यकर्मी सम्मलाई खल्लो हुन्छ । सोमबार देशभर भाइटीका लगाएर आत्मियता साटासाट गर्दा धेरै विरामी र स्वास्थ्यकर्मीले भनइटीका लगाउन पाएनन् । तर चितवन मेडिकल कलेजमा भने नर्सहरुले बिरामीहरुलाई भाइटीका लगाइदिएका छन् । अस्पतालका प्रमुख प्रशासकिय अधिकृत प्रताप देवकोटाका अनुसार यहाँका नर्सहरुले बेडमा सुतिरहेका १ सय ५७ जना बिरामीहरुलाई भाइटीका लगाएको जानकारी दिनुभयो । सेवा गर्ने नर्सलेसेवासँगै भाइटीका समेत लगाईदिदा विरामीहरु खुसी भएका थिए । अस्पतालकी नसिङ अफिसर अंकिता कुँवरले पुरुष बिरामीहरुलाई उहाँहरुकै बेडबेडमा पुगेर भाइटीका लगाएर दीघायूको कामना गरिएको जनाकारी दिनुभयो ।

मौसममा बदली आएसँगै बढ्यो चिसो
अकस्मात मौसम बदली भएसँगै काठमाडौं उपत्यकासहित देशभर नै चिसो बढेको छ । सोमबार बिहानैदेखि मौसममा आएको बदलीका कारण देशैभरको मौसम चिसिएको हो । जल तथा मौसम विज्ञान विभागले पश्चिमी वायुको प्रभावले आगामी तीन दिन देशको अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जानकारी गराएको छ । सोमबार सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १ दशमलव शून्य डिग्री र सबैभन्दा धेरै विराटनगरको अधिकतम तापक्रम ३२ दशमलव ७ डिग्री सेल्सियस मापन गरिएको थियो । देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपातको आँकलन गरिएको छ ।

कोरोना अपडेट
पछिल्लो २४ घण्टामा देशभर १ हजार १९७ जना कोरोना संक्रमित थपिएसँगै नेपालमा हालसम्म कुल कोरोना संक्रमितको संख्या २ लाख १० हजार ९ सय ७३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर २ हजार ९ सय ३४ जना डिस्चार्ज भएसँगै कोरोना जित्नेहरुको संख्या १ लाख ७६ हजार ३ सय ६४ पुगेको छ । अहिले देशभर ३३ हजार ३७९ जना सक्रिय संक्रमित छन् । पछिल्लो २४ घन्टामा ९ जना संक्रमितको मृत्यु भएसँगै कोरोना भाइरसको संक्रमणले ज्यान गुमाउनेको संख्या १ हजार २ सय ३० पुगेको छ ।

 



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ