Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपाल अपडेट : पढौँ पछिल्ला प्रमुख ५ खवर

नेपाल अपडेट : पढौँ पछिल्ला प्रमुख ५ खवर


काठमाडौं । खुल्लामञ्चको खाना खुवाउने कार्यक्रमको निरन्तरता, कफीको मुल्य निर्धारण, अमादब्लम हिमाल आरोहणमा बढेको आकर्षण, तिहारको विदायीसँगै कोरोनाको पछिल्लो अवस्था लगायतका पछिल्ला प्रमुख ५ खबर यस्ता छन् ।

खुल्लामञ्चमा खाना खुवाउने क्रमको निरन्तरता
भाइटीकापछि खुलामञ्चमा विपन्नलाई खाना खुवाउने अभियान बन्द गर्ने सहमति भए पनि मंगलबार समेत पुरानै तरिकाले खाना वितरण गरिएको छ । काठमाडौं महानगरपालिका र खाना खुवाउँदै आएका संस्थाहरुबीच भाइटीकापछि खाना खुवाउन वैकल्पिक ठाउँ खोज्ने सहमति भएपनि मंगलबार मानिसहरु विगत जस्तै गरेर खानाका लागि लाइन बसेपछि खाना बाँडिएको हाम्रो टीम नेपालका अध्यक्ष विमल पन्तले जानकारी दिनुभएको हो । खाना खुवाउन उचित ठाउँको व्यवस्था गर्न नसकिएका कारण प्याकेटमा खाना वितरण नगरेर लामबद्ध राखेर पुरानै तरिकाले खाना वितरण गरिएको थियो । खाना खान खुलामञ्च आउनेहरुले एक्कासी खाना वितरण रोक्दा आफूहरु समस्यामा पर्ने बताएका थिए । सडकमा बसेर खाना खानेहरुले रहर नभएर बाध्यता भएको बताउँदै आएका छन् । खुलामञ्चमा खाना खुवाउँदा स्वस्थ वातावरण नहुने, संक्रमण फैलिने र सहरको सौन्दर्य पनि नहुने भन्दै काठमाडौं महानगरपालिकाले खाना खुवाउने संस्थाहरुसँग पार्टी प्यालेसजस्तो बन्द ठाउँमा खाना खुवाउन सहमति गरेको थियो । तर भाइटीकापछि पनि उक्त सहमति कार्यान्वयन भएको छैन ।

कफीको मूल्य निर्धारण
राष्ट्रिय चिया तथा कफी विकास बोर्डले नेपालमा उत्पादित फ्रेस तथा तयारी कफीको न्यूनतम् मूल्य तोकेको छ । बोर्डले कृषकले उत्पादन गर्दा लाग्ने लागतमा २२.५ प्रतिशत मुनाफा निश्चित गरेर नयाँ न्यूनतम् मूल्य तोकेको हो । अब कृषकबाट उत्पादित ताजा फल (फ्रेश चेरी) ‘ए ग्रेड’ को प्रतिकिलो मूल्य ९० र ‘बी ग्रेड’ को ८० रुपैयाँ तोकिएको छ । ‘ए ग्रेड’ पार्चमेन्ट प्रशोधित कफीको प्रतिकिलो मूल्य ४५०, ‘बी ग्रेड’ पार्चमेन्ट कफीको प्रतिकिलो मूल्य ३९७ रुपैयाँ कायम गरिएको छ । बोर्डले चिसो प्रसोधन विधिबाट १२ देखि २४ घण्टाभित्र प्रसोधन गर्न नसकिएको ‘बी ग्रेड’ को कफीको मूल्य भने १४८ र ‘बी ग्रेड’ कफीको मूल्य प्रतिकिलो ९५ रुपैयाँ तोकेको छ । ‘ए ग्रेड’ चेरीको मूल्य गत वर्षभन्दा प्रतिकिलो ५ रुपैयाँ र प्रशोधित ‘ए ग्रेड’ को कफीको मूल्य भने गत वर्ष भन्दा प्रतिकिलो २५ रुपैयाँले बढेको छ । नेपालमा धेरै मात्रामा अरबिका जातको कफी फल्छ । समुद्र सतहबाट ८०० मिटरदेखि १६०० मिटरको उँचाइमा खेती हुने अरबिका कफी संसारभर पाइने कफीका प्रमुख चार प्रकारमध्ये उच्च गुणस्तरको मानिन्छ । सरकारी तथ्याङ्कअनुसार देशभर ४३ जिल्लामा कफी खेती विस्तार भएको छ । देशभित्र तथा बाहिर गरेर करिब १४ हजार मेट्रिक टन स्वदेशी कफीको माग हुदै आएको छ । गत वर्ष नेपालमा ११ करोड ८८ लाख बराबरको २६६ मेट्रिक टन कफी आयात भएको थियो भने नेपालबाट ५ करोड ७७ लाख रूपैयाँ बराबरको ४६.८९ मेट्रिक टन कफी विभिन्न मुलुक निर्यात भएको थियो ।

अमादब्लम हिमालमा आरोहणको आकर्षण
कोभिड–१९ महामारीका बीच सगरमाथा क्षेत्रमा पर्ने चर्चित अमादब्लम हिमाल आरोहण गर्नेहरुको आकर्षण बढ्दो क्रममा देखिएको छ । विदेशी उच्चपदस्थ व्यक्ति तथा स्वदेशी आरोही अहिले धमाधम अमादब्लम हिमालको आरोहण गरिरहेका छन् । पहिले सगरमाथा भन्दा चर्चित अमादब्लम हिमाल आरोहणमा धेरै विदेशी आरोही पुग्छन् । पछिल्लो समय नेपाली आरोहीको पनि लर्को यो हिमालान लाग्ने गरेको छ । यसअघि १४ पटक सगरमाथाको सफल आरोहण गरेका बेलायती क्यान्टन र उनको आरोहण दलका नेपाल र विदेशी सदस्य मंगलबार अमादब्लम हिमाल आरोहणका लागि आधारशिविर पुगेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले मंगलबार अमादब्लम हिमालको आधार शिविरमै पुगेर सामूहिक तस्वीर खिंचाउँदै आरोहणमा उत्साह थप्नुभएको थियो । कोभिड– १९ का कारण प्रभावित भएको नेपालको पर्यटन क्षेत्र विस्तारै लयमा फर्कन थालेको छ । नेपाल पर्वतारोहण सङ्घ (एनएमए) का पूर्वअध्यक्ष आङ्छिरिङ शेर्पा संसारकै सुन्दर हिमाल अमादब्लम आरोहणमा विदेशीको आकर्षण बढ्दो रहेको बताउनुँहुन्छ । कात्तिक २६ गते कतारका राजकुमार शेख मोहम्मद विल अब्दुल्लाले ६ हजार ८१४ मिटरको अमादब्लम हिमालको सफल आरोहण गर्नुभएको थियो । त्यसअघि बहराइनका राजकुमार नासिर बिन हामिद अल खलिफासहितको रोयल फोर्सको टोली ८ हजार १६३ मिटरको मनास्लु हिमाल चढेर कात्तिक पहिलो साता स्वदेश फर्किनु भएको थियो । कोभिड महामारीका अवस्थामा पनि स्वदेशी तथा विदेशी आरोहीको आरोहणले नेपालको पर्वतीय पर्यटन सुरक्षित रहेको सन्देश विश्वभर फैल्याइएको छ ।

किजापूजासँगै सकियो तिहार पर्व
प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि शुक्ल द्वितीयाका दिनसम्म मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व किजापूजा गरेसँगै समाप्त भएको छ । नेवार समुदायको केही समूहमा कात्तिक शुक्ल द्वितीयामा सूर्योदय भएका दिन नै भाइटीका लगाउने कूल परम्परा रहेकाले सो समूहका दाजुभाइले मंगलबार दिदीबहिनीबाट टीका लगाएका हुन् । नेवार समुदायका केही समूहका दिदीबहिनी र दाजुभाइले श्रद्धाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परानुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाइदिएका छन् । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता छ । यसैगरी दिदीबहिनी एवं दाजुभाइ नहुनेले भाइटीकाका अवसरमा दर्शन गर्ने रानीपोखरीबीचको बालगोपालेश्वर मन्दिरमा यो वर्षको भाइटीकामा बिहानदेखि नै खुला छ । यमपञ्चक भने सोमबार नै सकिएको थियो । तिहार सकिदैगर्दा सोमबारदेखि नेपाल संवत्अनुसारको नयाँ वर्ष ११४१ पनि सुरु भएको छ ।

परिक्षण घटेसँगै घट्यो कोरोनाको मिटर
पछिल्लो २४ घण्टामा थप ५०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै कोरोना संक्रमितको संख्या २ लाख ११ हजार ४७५ पुगेको छ । देशभरका प्रयोगशालामा ३ हजार ११२ नमुना परीक्षण गर्दा २०४ महिला र २९८ पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । पछिल्लो २४ घण्टामा ३३९ जना काठमाडौं उपत्यकामा मात्रै थपिएका छन् । हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ३० हजार ९८६ रहेको छ । पछिल्लो २४ घण्टामा थप २८७८ जना कोरोना संक्रमणमुक्त भएसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १ लाख ७९ हजार २४२ पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा थप १७ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या १२४७ पुगेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ