Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपाल अपडेट : यी हुन पछिल्ला प्रमुख पाँच खबर

नेपाल अपडेट : यी हुन पछिल्ला प्रमुख पाँच खबर


काठमाडौं । राजदूतको सक्रियता, अल्ट्रालाइट सञ्चालन, औषधी खरिद तथा कोभिड खोप परिक्षणको सहजताका लागि अध्यादेश, कोरोना अपडेट लगायतका प्रमुख पाँच खबर यस्ता छन् ।

प्रधानसेनापति र भारतीय राजदूतबीच भेटवार्ता
प्रधानसेनापति पूर्णचन्द्र थापा र नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राबीच शिष्टाचार भेट भएको छ । बुधबार जङ्गी अड्डामा भएको भेटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको हो । यस किसिमको नियमित भेटवार्ताले दुई देश बीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेना अघि सारेको छ ।

कतार एयरवेज र एयर क्यानडाबीच कोडसेयरसम्बन्धी सम्झौता
कतार एयरवेज र एयर क्यानडाबीच कोडसेयरसम्बन्धी सम्झौता भएको छ । यो सम्झौतासँगै आगामी डिसेम्बर १५ देखि क्याडाको टोरन्टो र कतारको दोहासम्म वान स्टप हवाई सेवा विस्तार हुनेछ । कतारले क्यानडाको मोन्ट्रियमा सातामा ४ उडान र कोडिभ १९ को बेलामा टोरन्टोमा चार्टर्ड उडान भर्ने गरेको छ । चार्टर्ड उडानबाट ४० हजारलाई सेवा दिएको कतार एयरवेजले जनाएको छ । यो सम्झौतासँगै क्यानडालाई विश्व हवाई क्षेत्रसँग जोड्ने, पर्यटन र व्यापार अभिबृद्धिमा सहयोग पु¥याउने आशा कतार एयरवेजले गरेको छ । कतार एयरवेजले सन् २०११ देखि क्यानडाको मोन्ट्रियमा उडान भर्दै आएको थियो ।

पोखरामा अल्ट्रालाइट सञ्चालनमा
पोखरामा कोरोना भाइरस महामारीका कारण ८ महिनादेखि बन्द रहेको साहसिक खेल ’अल्ट्रालाइट’ सञ्चालनमा आएको छ । एक हप्तादेखि सञ्चालन भइरहेको अल्ट्रालाइटले पर्यटनलाई चलायमान बनाउने आशा गरिएको छ । पोखरा अल्ट्रालाइटका संचालक पोमनारायण श्रेष्ठले ७ हजार शुल्क लिइने अल्ट्रालाइटले हाल ५५ सय रुपैयाँमा उडान गरिरहेको जानकारी दिनुभयो । अल्ट्रालाइटले एक पटकमा १५ मिनेटमात्रै उडान भर्नेछ । दिनमा चार पटकसम्म उडान गरिएको छ । पोखरामा जम्मा चारवटा मात्रै अल्ट्रालाइट छन् । चारवटा अल्ट्रालाइट दिनमा एक÷एकपटक मात्र उडान गरिएको र स्वास्थ्य मापदण्डलाई ध्यान दिएर उडान गरिएको कम्पनीले जनाएको छ ।

औषधी खरिद र प्रयोगका सहजिकरणका लागि अध्यादेश
राष्ट्रपति विद्यादेवी भण्डारीले औषधि (तेस्रो संशोधन) अध्यादेश, २०७७ जारी गर्नुभएको छ । मन्त्रिपरिषद्को सिफारिसमा बुधबार भण्डारीले सो अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयले जानकारी गराएको हो । राष्ट्रपति कार्यालयका प्रवक्ता केशव प्रसाद घिमिरेले बुधबार विज्ञप्ति जारी गर्दै नेपालको संविधानको धारा ११४ को उपधारा (१) बममोजिम मन्त्रिपरिषद्को सिफारिसमा सो अध्यादेश जारी गरेको जानकारी गराउनुभएको छ । यो अध्यादेशसँगै कोभिड खोपलाई नेपालमा क्लिनिकल ट्रायलकोलागी सहज हुने आशा गरिएको छ ।

कोरोना अपडेट
पछिल्लो २४ घण्टामा थप १४४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै कोरोना संक्रमितको संख्या २ लाख १२ हजार ९१७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या नै २८ हजार ८७८ रहेको छ । पछिल्लो २४ घण्टामा थप ३५३८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना जित्नेहरुको संख्या हालसम्म १ लाख ८२ हजार ७८० पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा थप १२ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या १ हजार २५९ पुगेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ