Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsअब थापाथलीमा निशुल्क खाना, रोजगारी खोसिएका ज्याला मजदूरलाई दाताकै आश

अब थापाथलीमा निशुल्क खाना, रोजगारी खोसिएका ज्याला मजदूरलाई दाताकै आश


काठमाडौं । भाइटीकापछि मंगलबार समेत खुवाइएको खुलामञ्चको खानाले अव थापाथली प्रसुती गृहको पछाडीपट्टीको चौरबाट निरन्तरता पाउने भएको छ । खुल्लामञ्चमा विपन्नलाई खाना खुवाउने अभियान बन्द गर्ने सहमति भए पनि मंगलबार वैकल्पिक ठाउँ व्यवस्थापन नहुदा पुरानै तरिकाले खाना वितरण गरिएको थियो । बुधबार भने काठमाडौं महानगरपालिकाले निःशुल्क खाना खुवाउने अभियानलाई थापाथलीस्थित प्रसूति गृहपछाडि सारिदिएको छ ।

खुलामञ्चमा खाना खुवाउँदा धुवाँधुलो हुने र यसबाट कोभिड १९ संक्रमणको जोखिम मात्र नभएर अन्य रोगको समेत सम्भावना भएको भन्दै महानगरपालिकाले मंसिर २ गते देखि खुलामञ्चमा खाना खुवाउने अभियान बन्द गर्न भनेको थियो । खाना खान खुलामञ्च आउनेहरुले एक्कासी खाना वितरण रोक्दा आफूहरु समस्यामा पर्ने बताएका थिए । सडकमा बसेर खाना खानेहरुले रहर नभएर बाध्यता भएको बताउँदै आएका छन् । अब थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको पछाडिपट्टि रहेको खुला ठाउँमा निःशुल्क खाना खुवाइने हाम्रो टिम नेपालका अध्यक्ष विमल पन्तले जानकारी दिनुभयो । नयाँ ठाउँमा शौचालय, खानेपानी, फोहोर फाल्ने ठाउँलगायत पूर्वाधार निर्माण छिट्टै निर्माण गरिने महानगरपालिकाले सम्झौता गरेको छ ।

काम नपाएर भोकै बस्नुपर्ने स्थिति आए प्रत्येक दिन बिहान ९ बजे थापाथलीस्थित व्यवस्था गरिएको ठाउँमा खाना खान आउन आग्रह गरिएको छ । काठमाडौं महानगरपालिकाले सार्वजनिक यातायात सुरु भएको अवस्थामा सार्वजनिक स्थलहरुमा भिड हुनेगरी खाना खुवाउँदा स्वास्थ्य मापदण्ड कार्यान्वयनमा जटिलता पैदा भएको भन्दै वैकल्पिक व्यवस्थाका लागि पहल गरेको हो । महानगरपालिकाका नगर प्रहरी प्रमुख धनपति सापकोटाले असाहय अशक्तलाई भोजन गराउने संघ–संस्थाकै अनुमतिमा नयाँ ठाउँको व्यवस्था गरिएको जानकारी दिए । यसबाहेक काठमाडौं महानगरपालिकाले काम गर्न सक्नेका लागि सातामा दुई दिन कामदिने व्यवस्था समेत गरेको नगर प्रहरी प्रमुख सापकोटाले बताए ।

यसरी रोेजगार बन्न आफ्नो वडा कार्यालयमा सम्पर्क गर्न भनिएको छ । काम गर्न सक्नेका लागि काम दिने र नसक्नेलाई निःशुल्क खाना खान खुवाउने नीति महानगरपालिकाले लिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ