Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपाल अपडेट : पढौँ पछिल्ला प्रमुख पाँच खबर

नेपाल अपडेट : पढौँ पछिल्ला प्रमुख पाँच खबर


काठमाडौं । स्थानीय तहमा अस्पताल निर्माण बारे सरकारले देखाएको चासो, नेपालका विमानस्थलको क्षमता अभिवृद्धिमा एडीबीले दिने सहुलियत ऋण, क्रिकेट खेलाडीको बन्द प्रशिक्षण, कोरोना संक्रमणको अवस्था लगायत पछिल्लो २४ घण्टाका प्रमुख पाँच खबर यस्ता छन् ।

अब ३९६ स्थानीय तहमा अस्पताल बन्दै
सङ्घीय सरकारले सबै स्थानीय तहमा अस्पताल निर्माण गर्ने लक्ष्यसहित पहिलो चरणमा कूल ३९६ अस्पतालका लागि स्रोत सुनिश्चित गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ५७ अर्ब ९७ करोड ११ लाख ९० हजार बराबरको निर्माण संरचना अगाडि बढाउने गरी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई सहमति दिनुभएको हो । अर्थ मन्त्रालयका प्रवक्ता रामेश्वर दङ्गालले पाँचदेखि १५ शैयाका आधारभूत अस्पताल दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी बहुवर्षीय ठेक्का प्रक्रिया अघि बढाउन अर्थ मन्त्रालयले सहमति दिएको बताउनुभयो । यसरी कायम हुने रकम स्वास्थ्य मन्त्रालयको वार्षिक बजेटमा समावेश गरी स्थानीय तहमा सशर्त अनुदानका रुपमा उपलब्ध गराइनेछ । अर्थ मन्त्रालयले आधारभूत अस्पताल निर्माणका लागि यसअघि नै स्थानीय तहमा ६ अर्ब १२ करोड २६ लाख पठाइसकेको छ । चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा सबै स्थानीय तहमा पाँचदेखि १५ श्ययासम्मका आधारभूत अस्पताल स्थापना गर्ने उल्लेख गरिएको थियो ।

नेपाली विमानस्थलको क्षमता अभिवृद्धिका लागि एडीबीको सहुलियत ऋण
एशियाली विकास बैंक (एडीबी)ले नेपाल सरकारलाई १७ अर्ब ७० करोड सहुलियत ऋण उपलब्ध गराउने भएको छ । मनिलास्थित बैंकको प्रधान कार्यालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र निर्माणधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता अभिवृद्धिका लागि उक्त रकम उपलब्ध गाराउने सहमति भएको जानकारी गराएको हो । त्रिभुवन विमानस्थलमा समानान्तर ‘ट्याक्सी वे’ र ‘ह्याङ्गर एप्रोन’ बनाउन तथा गौतमबुद्ध विमानस्थलमा ‘टर्मिनल’ भवन निर्माणका साथै त्यसको क्षमता बढाउन ऋण रकम स्वीकृत गरिएको बैंकले जनाएको छ । भैरहवामा निर्माणाधीन वैकल्पिक क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलले नेपालको धार्मिक पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउनाका साथै कोभिड–१९ का कारण थलिएको पर्यटन उद्योगलाई महामारीपछिको समयमा भरथेग गर्ने अपेक्षा बैंकले गरेको छ । परियोजना पूरा भएपछि त्रिभुवन विमानस्थलको मौजुदा सुरक्षा व्यवस्था सुदृढ हुने एवं सेवा प्रवाह सहज हुने विश्वास बैंकले लिएको छ ।

अब नेपाली क्रिकेटर बन्द प्रशिक्षणमा
नेपाल क्रिकेट संघ (क्यान) ले आगामी अन्तर्राष्ट्रिय प्रतियोगितालाई मध्यनजर गर्दै २२ जना राष्ट्रिय खेलाडीलाई बन्द प्रशिक्षणका लागि बोलाएको छ । मंसिर दोस्रो सातादेखि शुरु गर्ने भनिएको बन्द प्रशिक्षणका लागि क्यानले राष्ट्रिय टिमका व्यवस्थापक विक्रम न्यौपानेलाई पत्र लेख्दै २२ खेलाडी र प्रशिक्षकको नाम सार्वजनिक गरेको हो । प्रशिक्षकको जिम्मेवारी भने जगत टमाटाले नै पाएका छन् । सेन्ट्रल कन्ट्रयाक्टमा नभएकामध्ये किशोर महतो र भुवन कार्कीलाई सूचीमा राखिएको छ । आगामी अन्तर्राष्ट्रिय प्रतियोगिताहरुलाई मध्यनजर गर्दै नेपाल सरकारको नीति निर्देशन अनुसारको सावधानीका उपाय एवं सुरक्षा नीतिको अबलम्बन गर्दै मंसिर १० गतेदिख काठमाडौंमा बन्द प्रशिक्षण शिविर सञ्चालन गर्न लागिएको क्यानले जनाएको छ । प्रशिक्षणका लागि मंसिर ८ गते पिसिआर परिक्षण गरिने भएकोले छनोट भएका २२ खेलाडीलाई र प्रशिक्षकलाई उक्त मितिभित्र क्यानमा सम्पर्कमा आउन भनिएको छ ।

साउदीमा थप २९ नेपालीलाई बहिर्गमन भिसा
साउदीस्थित नेपाली राजदूतावाससमक्ष बहिर्गमन भिसाका लागि आवेदन दिएका थप २९ जनाले बहिर्गमन भिसा पाएसँगै अहिलेसम्म १२ सय ८० जनाले बहिर्गमन भिसा पाएका छन् । साउदी अरेबियाका विभिन्न कम्पनी, प्रतिष्ठानहरुमा कार्यरत रहँदा साउदी आवासीय अनुमतिपत्र (अकामा) नबनाइएका वा नवीकरण नगरिएका कारण स्वदेश फर्कन चाहने नेपालीहरुलाई स्वदेश फर्काउन आवश्यक बहिर्गमन भिसा सहज र शीघ्र रुपमा प्रदान गर्दै आएको दूतावासले जनाएको छ । बहिर्गमन भिसा जारी भएको मितिले ६० दिनभित्र साउदी अरब छाडिसक्नुपर्ने भएकाले स्वदेश फर्किने तयारी गर्न अनुरोध गरिएको छ ।

नेपालमा कोरोना संक्रमणको अवस्था
काठमाडौं । पछिल्लो २४ घण्टामा १९४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १६ हजार ९६५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिले सक्रिय संक्रमितको संख्या २४ हजार ६६५ रहेको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार १०७ जना कोरोना संक्रमित थपिएसँगै काठमाडौं उपत्यकामा मात्रै संक्रमितको संख्या एक लाख ८७२ पुगेको छ । पछिल्लो २४ घण्टामा ५ हजार ३६४ जना कोरोना संक्रमणमुक्त भएसँगै नेपालमा निको हुनेको संख्या १ लाख ९१ हजार २ पुगेको छ । पछिल्लो २४ घण्टामा २२ जनाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १२९८ पुगेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ