Friday, 5 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपाल अपडेट : पढौँ पछिल्ला ५ खबर

नेपाल अपडेट : पढौँ पछिल्ला ५ खबर


काठमाडौं । सत्तारुढ दल नेकपा र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबीचको आन्तरिक कलह अझै साम्य नभएको नेपालमा राजनीतिक, सामाजिक लगायतका विभिन्न घटना क्रमबारे बहस र समिक्षा भैरहेका छन् । एक पटक पछिल्लो २४ घण्टाका यी प्रमुख ५ खबर पढौँ ।

कुल जनसंख्याको २ प्रतिशत कोरोना संक्रमित हुने सरकारको पूर्वानुमान

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले नेपालमा कुल जनसंख्याको दुई प्रतिशतलाई कोरोना भाइरसको संक्रमण झेल्नुपर्ने बताउनुभएको छ । काठमाडौँमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा मन्त्री ढकालले पछिल्लो परिस्थिति अनुसार कुल जनसंख्याको २ प्रतिशतसम्म संक्रमण हुने अनुमान सरकारले गरेको जानकारी दिनुभएको हो । अबको चार महिनामा करिब १ लाख ४८ हजार जनामा संक्रमण पुष्टि हुनसक्ने अनुमान सरकारले गरेको उहाँले बताउनुभयो । सुरुमा कुल जनसंख्याको २ प्रतिशतमा पीसीआर परीक्षण गर्ने नीति लिइए पनि संक्रमण नियन्त्रणमा आउन नसक्दा अहिलेसम्म १६ लाख ५० हजार जनाको परीक्षण भइसकेको मन्त्री ढकालले जानकारी दिनुभयो । सामर्थ्य अनुसार संक्रमण रोकथामका लागि सरकार युद्धस्तरमा लागिरहेको उहाँको दाबी थियो ।

नलगाड जलविद्युत आयोजनाको डीपीआर तत्काल सक्न निर्देशन

ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री बर्षमान पुनले जाजरकोटमा बन्न लागेको ४ सय १७ मेगावाटको जलासययुक्त नलगाड जलविद्युत आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) को काम तत्काल सक्न सरोकारवाला निकायलाई निर्देशन दिनुभएको छ । जाजरकोटका प्रतिनिधिसभा सदस्य तथा वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाही, ऊर्जा मन्त्रालयका सह–सचिव प्रवीणराज अर्याल र नलगाड हाइड्रोपावर कम्पनीका अध्यक्ष मोहनराज पन्त र कार्यकारी अधिकृत रामगोपाल लगेजु सहभागी छलफलमा मन्त्री पुनले तत्काल डिपीआर सक्न निर्देशन दिनुभएको हो । एमडब्लुएच कन्सलटेन्टले डिपीआर ३२ महिनाभित्र डिपीआर सक्ने गरी कम्पनीसँग सम्झौता गरेपनि चार वर्षभन्दा लामो समयदेखि डिपीआरको काम जारी रहे पनि अझै सकिएको छैन । छ । मन्त्री पुनले कर्णाली प्रदेशको मुहार फेर्ने आयोजना भएकाले पटक पटक म्याद थप्ने भन्दा पनि डिपीआरको काम तत्काल सकेर आयोजना निर्माण थाल्नुपर्नेमा जोड दिनुभएको हो । जापानी सहयोग नियोग (जाइका) ले नलगाडमा लगानीको इच्छा देखाएको छ ।

जुम्लाको प्रशासन तथा शैक्षिक कार्यक्रम ३९ दिनदेखि ठप्प

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको प्रशासन तथा शैक्षिक कार्यक्रम ३९ दिनदेखि ठप्प रहदै आएको छ । प्रतिष्ठानका उपकुलपति प्रा डा राजेन्द्रराज वाग्लेले एक महिनाअघि असोज २६ गते प्राध्यापक मुन्निराज क्षेत्रीलाई प्रतिष्ठानको डिनमा नियुक्त गरेको विरोधमा असोज २८ गतेदेखि तालाबन्दी गरिएको प्रतिष्ठान अहिलेसम्म खुल्न नसकेको हो । उपकुलपति प्रा डा वाग्लेले प्रतिष्ठानको डिनमा सरस्वती गौतमलाई नियुक्ति गरिसकेपछि दोस्रो डिनका रूपमा केशर रानालाई र तेस्रो डिनका रूपमा मुनिराज क्षेत्रीलाई नियुक्ति दिनुभएको थियो । डिन नियुक्तिमा एकाधिकार लादेर अधिकारको दुरुपयोग गरी संस्थालाई आर्थिक व्ययभार पारेको भन्दै त्यसको विरोधमा प्रतिष्ठानको कर्मचारी कल्याणकारी समाजले तालाबन्दी जारी राखेको छ । तालाबन्दी खुल्ने वा नखुल्ने अहिलेसम्म कुनै अत्तोपत्तो छैन भने प्रतिष्ठानका कर्मचारीले तिहारमा समेत तलब पाएका छैनन् । प्रतिष्ठानमा ३९ दिनसम्म भएको तालाबन्दी खोल्न चासो नदेखाउदा ३५० कर्मचारी प्रभावित भएका छन् ।

बीड प्रथम र छैठौं सेमेस्टरको परीक्षा तालिका सार्वजनिक

बीएड प्रथम र छैठौं सेमेस्टरको परीक्षा काठमाडौं उपत्यकाको हकमा भने क्याम्पसमै हुने भएको छ । त्रिभुवन विश्वविद्यालय, शिक्षा संकाय, परीक्षा नियन्त्रण महाशाखाले काठमाडौं उपत्यका बाहिर ‘होम सेन्टर’मा परीक्षा सञ्चालन हुने भएपनि काठमाडौं उपत्यकाका लागि ताहचालस्थित महेन्द्ररत्न क्याम्पस, कुलेश्वरस्थित जनमैत्री क्याम्पस र भक्तपुरस्थित सानोठिमी क्याम्पसलाई केन्द्र तोकेको हो । बीएड प्रथम सेमेस्टरको १७ पुस र छैठौं सेमेस्टरको परीक्षा २० पुसदेखि सुरू हुने भएको छ ।

यस्तो छ, नेपालमा कोरोना संक्रमणको पछिल्लो अवस्था

पछिल्लो २४ घण्टामा १ हजार ६ सय ७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख १८ हजार ६ सय ३९ पुगेको छ । काठमाडौँ उपत्यकामा मात्रै पछिल्लो २४ घण्टामा थप ८९९ जना संक्रमित थपिएका छन् । नेपालमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १३ सय नाघेको छ । पछिल्लो २४ घण्टामा थप ७ जनाको कोरोनाबाट मृत्यु भएसँगै मृतकको संख्या १ हजार ३ सय ५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । शनिबार देशभर २ हजार ३ सय २३ जना कोरोना संक्रमित विभिन्न अस्पतालबाट डिस्चार्ज तथा होम आइसोलेसनबाट संक्रमणमुक्त भएसँगै कोरोना जित्नेको संख्या संख्या १ लाख ९३ हजार ३ सय २५ पुगेको छ । हाल देशभर २४ हजार ९ जना सक्रिय संक्रमित रहेकोमा ३३६ जनाको आईसीयुमा र ४७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ