Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsकिन तत्कालीन राजा वीरेन्द्रको निजी निवास श्री सदन खुल्न समय लाग्यो ?

किन तत्कालीन राजा वीरेन्द्रको निजी निवास श्री सदन खुल्न समय लाग्यो ?


काठमाडौ । नारायणहिटी दरबारभित्र रहेको तत्कालीन राजा वीरेन्द्रको निजी निवास ‘श्री सदन’ अब सबैले अवलोकन गर्न पाउने भएका छन् । शनिबार दिउँसो २ बजे संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले श्री सदन खुला भएको औपचारिक शुभारम्भ गरेसँगै आइतबारबाट सर्वसाधारणले अवलोकन गर्न पाउने भएका हुन् ।

श्री सदनमा राजा वीरेन्द्रसहित रानी ऐश्वर्य, छोरी श्रुति र छोरा नीराजन बस्ने गरेका थिए । २०५८ साल जेठ १९ गते भएको दरबार हत्याकाण्डमा राजा वीरेन्द्रको वंश नास भएदेखि अहिलेसम्म श्री सदन बन्द रहेको छ । २०७७ वैशाख १ गतेको नयाँ वर्षको अवशर पारेर श्री सदन खुला गर्ने योजना भए पनि कोरोना संक्रमण र बन्दाबन्दीका कारण सम्भव भएको थिएन । नारायणहिटी दरबार संग्रहालय विकास समितिका अनुसार आइतबारबाट ‘श्री सदन’ का साथै गणतन्त्र स्मारकसमेत अवलोकनका लागि खुल्ला हुनेछ । २०७६ जेठ १५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र स्मारक उदघाटन गरे पनि अवलोकनका लागि खुल्ला गरिएको थिएन ।

के–के देख्न पाइन्छ सबैको चासो रहेको श्री सदनमा ?
२०२३ सालमा राजा वीरेन्द्रकै डिजाइनमा बनाइएको तीन तले भवनमा १२ वटा कोठा छन् । भुइँतलामा तत्कालीन राजा वीरेन्द्र र रानी ऐश्वर्यको निजी कार्यालय, सुत्ने कोठा, भान्सा कोठा, खाना खाने कोठा, मदिरा पिउने बार र विश्राम गर्ने कोठा रहेका छन् । तत्कालीन युवराज दीपेन्द्र पनि भुइँतलामै बस्दथे । उमेर पुगेपछि अलग बस्नुपर्ने नियमअनुसार दीपेन्द्र भने पछि श्री सदनबाट त्रिभुवन सदनमा सरेका थिए ।

रानी ऐश्वर्यको कोठामा उनले हेर्ने गरेको टेलिभिजन, गीतका क्यासेट र क्यासेट प्लेयर छन् । दोस्रो तलामा कान्छा छोरा निराजन र छोरी श्रुतीका कोठा छन् । तत्कालीन राजा त्रिभुवन, महेन्द्र र वीरेन्द्रले चढ्ने गाडी दीपेन्द्र, श्रुती र निराजनका खेलौना गाडीहरु पनि अब सबैले देख्न पाउने भएका छन् । वीरेन्द्रले प्रयोग गरेको हेलिकप्टर र हवाईजहाज पनि अब अवलोकनका लागि खुल्ला गरिएको छ ।

श्रीसदनबाटै गणतन्त्र स्मारकमा जान सकिने भएपनि बीचमा पर्ने टुकुचा खोलामा पुल नबनिसकेकाले नारायणहिटी दरबारबाट बाहिरिएर नागपोखरी नजिकको पूर्वी गेटबाट गणतन्त्र स्मारक प्रवेशको व्यवस्था गरिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ