Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपाल अपडेट : पढौँ नेपालका पछिल्ला ५ मुख्य खबर

नेपाल अपडेट : पढौँ नेपालका पछिल्ला ५ मुख्य खबर


काठमाडौं । विदेशबाट आउँनेलाई अनिवार्य क्वारेन्टिन, बलात्कारको घटनामा मिलापत्र गर्नेमाथी कारबाही, निजामती कर्मचारीलाई लोकसेवा ट्युसनमा प्रतिबन्ध लगायतका पछिल्ला प्रमुख ५ खबर यस्ता छन् ।

अब विदेशबाट स्वदेश आउने १४ दिन क्वारेन्टिन बस्नैपर्ने
अब विदेशबाट नेपाल आउनेले १४ दिनसम्म अनिवार्य रूपमा क्वारेन्टिनमा बस्नुपर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको इन्सिडेन्ट कमाण्ड सिस्टमको आइतबार बसेको बैठकले यसअघिका सबै व्यवस्था खारेज गर्दै हवाई र स्थल मार्गबाट नेपाल आउनेहरुले अनिवार्य १४ दिन क्वारेन्टिन बस्नुर्ने निर्णय गरेको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले १४ दिने क्वारेन्टिको निर्णय कार्यान्वयनका लागि कोरोना संकट व्यवस्थापन केन्द्रलाई पत्राचार गरिने जानकारी दिनुभयो । क्वारेन्टिन बसाइको क्रममा लक्षण वा चिन्ह देखिएका व्यक्तिको मात्र परीक्षण गरिने जनाइएको छ ।

अब बलात्कारका घटनामा मिलापत्र गर्नेलाई समेत जेल सजाय
बलात्कारका घटनामा मिलापत्र गराउने व्यक्तिलाई अब छ महिनादेखि तीन वर्षसम्म कैद र ३० हजारसम्म जरिवाना गराउने गरि कानूनी व्यवस्था गरिएको छ । मन्त्रिपरिषद् बैठक मार्फत यौनहिंसाविरुद्ध केही ऐनलाई संशोधन गर्न बनेको अध्यादेश स्वीकृत भई राष्ट्रपतिसमक्ष सिफारिस भएसँगै बलात्कारका घटनामा मिलापत्र गर्ने गराउनेमाथी समेत कडा कारबाही हुने निश्चित भएको हो । उक्त अध्यादेशमा बलात्कारका घटनामा मिलापत्र गर्न प्रोत्साहन गर्ने वा दबाब दिनेलाई कैद तथा जरिवानाको व्यवस्था गरिएको छ । बलात्कारमा मिलापत्र गर्नेलाई छ महिनादेखि तीन वर्षसम्म कैद र ३० हजारसम्म जरिवाना गराउने कानूनी व्यवस्था रहेको र सार्वजनिक पद धारण गरेको व्यक्ति भएमा थप छ महिना कैद हुने बताउनुभयो । सरकारले स्वीकृत गरेको उक्त अध्यादेश राष्ट्रपतिबाट प्रमाणित भएपछि कानूनी मान्यता पाउनेछ । अब लागू हुने कानूनमा १४ वर्षदेखि १६ वर्षसम्मका व्यक्तिको बलात्कारमा १२ देखि १६ वर्षसम्म कैद सजाय हुने व्यवस्था गरिएको छ । १६ देखि १८ वर्षको व्यक्तिको बलात्कारमा १० देखि १४ वर्षसम्म कैद सजाय हुनेछ । १८ वर्ष वा माथिका व्यक्तिको बलात्कारमा १० देखि १२ वर्षसम्म कैद सजाय हुनेछ । अध्यादेशमा पुरुषमाथी समेत हिंसा हुनसक्ने भन्दै पुरुषले समेत महिला बिरुद्ध हिंसाको उजूरी दिन प्रेरित गरिएको छ ।

नेपाल राष्ट्र बैंकले पौने १५ अर्बको ट्रेजरी बिल बिक्री गर्दै
नेपाल राष्ट्र बैंकले सोमबार १४ अर्ब ८१ करोड ३२ लाख रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले बोलकबोल प्रक्रियाका माध्यमबाट उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागिएको हो । राष्ट्र बैंकले सबै ट्रेजरी बिल नवीकरणका लागि बोलपत्र आह्वान समेत गरेको छ । कूूल दुई अर्ब २३ करोड ३२ लाख ९१ दिन अवधि, १२ अर्ब ४७ करोड कूल १८२ दिनका लागि र ११ करोड ३६४ दिनका लागि बिक्री गर्न लागिएको हो ।

अब निजामती कर्मचारीले अनुमति बिना लोक सेवा ट्युसन पढाउन नपाउने
निजामती कर्मचारीले अब अनुमति नलिइकन लोक सेवाको ट्युसन पढाउन नपाउने भएका छन् । लोक सेवा आयोगले लिने परीक्षाको ट्युसन पढाउन सरकारी कर्मचारीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र मन्त्रिपरिषदबाट स्वीकृति लिनुपर्ने भएको हो । राजपत्रांकित प्रथम श्रेणी वा सहसचिवदेखि माथिका कर्मचारीहरुले मन्त्रिपरिषदबाट र त्यसदेखि तल्लो तहका कर्मचारीले सामान्य प्रशासन मन्त्रालयबाट अनुमति लिएर मात्र निजी संस्थामा ट्युसन पढाउन पाउने छन् । यसअघि पनि निजी इन्ष्टिच्युटहरुमा ट्युसन पढाउन मन्त्रालयको अनुमति लिनुपर्ने नियम बनाइएको थियो । तर कार्यान्वयन भएको थिएन । पछिल्लो निर्णय समायोजन भएर प्रदेश वा स्थानीय तहमा पुगेका कर्मचारीहरुमा पनि लागु हुने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय जनाएको छ । यसअघि इन्सटिच्युटहरुमा पढाउने अनुमति पाएकाहरुको अनुमति पत्र आइतबारदेखि नै रद्द गरिएको छ ।

रत्नपार्कको नाम परिवर्तन नगर्न राप्रपा अध्यक्ष कम थापाको चेतावनी
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले रत्नपार्कको नाम परिवर्तन गर्ने निर्णय सच्याउन सरकारलाई चेतावनी दिनुभएको छ । सामाजिक संजाल ट्वीटमार्फत अध्यक्ष थापाले इतिहास मेटाउने कार्य स्वीकार्य नहुने भन्दै निर्णय नसच्याए अवरोध गर्न बाध्य हुने चेतावनी दिनुभएको हो । ‘रत्नपार्कको नाम परिवर्तन गर्ने काठमाडौँ महानगरपालिकाको निर्णय गलत छ । श्री ५ महेन्द्रको जीवनसंगीनी राजा वीरेन्द्र र ज्ञानेन्द्रकी माता र हाल बृद्ध जीवन बिताइरहनुभएकी श्री ५ मुमाबडामहारानी रत्नको इतिहास मेटाउने कार्य अस्वीकार्य छ । निर्णय सच्याईयोस्। जबरजस्ती गर्न खोजिए अवरोध गर्न बाध्य हुनेछौँ । इनअफ इज इनअफ,’ थापाले ट्वीटरमा लेख्नुभएको छ । थापाले राष्ट्रिय विभूति शंखधर साख्वा अरु कसैको नाममा बनेर व्यापक प्रचलनमा आइसकेको पार्कलाई नाम फेरेर राख्नेभन्दापनि शालिक अन्य कुनै स्थानमा स्थापना गर्न सुझाब दिनुभएको छ ।

 

 



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ