Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपाल अपडेट : पढौँ पछिल्ला प्रमुख ५ खबर

नेपाल अपडेट : पढौँ पछिल्ला प्रमुख ५ खबर


काठमाडौं । बालिका बलात्कारपछि हत्याको बिषयलाई लिएर सुरु भएको आन्दोलनले थप विस्तार पाएको नेपालमा कोरोनाको कहर पनि उस्तै छ । मुर्ती चोरीको अभियोगमा प्रदेश सांसदकी श्रीमति पक्राउ, पूर्व युवराज पारस शाह विरामी परेपछि सीएमसीमा भर्ना, उद्योग वाणिज्य महासंघको चुनावी सरगर्मी लगायत नेपालका पछिल्ला प्रमुख ५ खबरहरु यस्ता छन् ।

बालिका हत्याको विरोधमा सुरु भएको आन्दोलन थप विस्तार हुँदै
बालिका हत्याको विरोधमा महोत्तरीका विभिन्न ठाउँमा बुधबार दिनैभरि प्रदर्शन भएको छ । महोत्तरीको बर्दिवास, जलेश्वर र सम्सीमा स्थानीयहरूले दिनैभरि प्रर्दशन गरेका हुन् । बर्दिवास नगरपालिकाकी ६ वर्षीया बालिकाको परिवारलाई उचित क्षतिपूर्ति र प्रहरीको गोली लागि उपचारको क्रममा ज्यान गुमाएका सञ्जय न्यौपानेलाई शहीद घोषणालगायतका माग राख्दै प्रर्दशन भएको थियो । प्रदर्शनका क्रममा बर्दिवासमा मेयर र डीएसपीको पुतला दहन गरिएको छ । जिल्ला प्रशासन कार्यालय महोत्तरीले जारी गरेको निषेधाज्ञाको बेवास्ता गर्दै स्थानीयहरू प्रर्दशनमा उत्रिएका थिए । सदरमुकाम जलेश्वरमा मुखमा कालोपट्टी बाँधेर युवाहरूले प्रर्दशन गरेका थिए । गएको आइतबारदेखि हराएकी ६ बर्षीया बालिकाको शव सोमबार मध्यरातमा भेटिएको थियो । बालिकाको बलात्कारपछि हत्याको आरोपमा गौशाला नगरपालिका ५ का अरुणकुमार साहलाई प्रहरीले पक्राउ गरिसकेको छ ।

प्रदेश सांसद राजीव गुरुङकी श्रीमति पक्राउ
गण्डकी प्रदेशका सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेकी श्रीमती चोरीको आरोपमा पक्राउ परेकी छन् । जिल्ला प्रहरी कार्यालय कास्कीको अनुरोधमा मकवानपुर प्रहरीले मनाङेकी श्रीमती डोल्मा लामालाई बुधबार पक्राउ गरेको हो । कास्कीमा मुर्ती चोरीको मुद्धा दर्ता भएपछि मकवानपुरबाट पक्राउ गरेर थप अनुसन्धानका लागि कास्कीमै पठाइएको मकवानपुरका एसपी सुशीलसिंह राठौरले जानकारी दिनुभयो । गत कात्तिकमा कास्की अदालतले उनीविरुद्ध पक्राउ पूर्जी समेत जारी गरेको थियो । लामा गत दसैंदेखि नै मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१२ पदमपोखरी स्थित माइतीमा बस्दै आएकी थिइन् । उनलाई माइतीघरबाटै प्रहरीले पक्राउ गरेको थियो ।

पूर्व युवराज पारस शाह विरामी, चितवनको सीएमसीमा उपचार हुँदै
चितवनमा रहेका पूर्व युवराज पारस शाहको स्वास्थ्यमा समस्या आएसँगै चितवन मेडिकल कलेजमा भर्ना गरेर उपचार थालिएको छ । मंगलबार साँझ नारायणगढस्थित एक होटलमा बसेका शाहलाई बुधबार साँझबाट छातीमा समस्या देखिएको थियो । शाह बिरामी भएको खबर पाएपछि चितवन मेडिकल कलेजका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. श्यामराज रेग्मीसहित पाँच जनाको टोली परीक्षणका लागि होटल पुगेर ईसीजीका साथै रगत परीक्षण गरेको थियो । यसपछि थप उपचारका लागि अस्पताल भर्ना गरिएको बताइएको छ । शाहमा मुटुसम्बन्धी पुरानै समस्या रहेकाले सोही समस्या बल्झिएको छ ।

उद्योग वाणिज्य महासंघको चुनाव संघारमा, रोक्न रिट
बिहीबार बिहान ११ बजे सुरु हुने नेपाल उद्योग वाणिज्य महासंघको साधरणसभा रोक्न माग गर्दै सर्वोच्चमा रिट दायर भएको छ । शुक्रबार हुने निर्वाचनका मतदाता अवैधानिक रुपमा ल्याइएको दाबी गर्दै उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर दुईका अध्यक्ष शिवशंकर शाहले साधरणसभा नै रोक्न माग गर्दै मंगलबार रिट हालेका हुन् । रिटको सुनुवाइ शुक्रबार तोकिएको छ भने निवेदक शाहलाई बिहान १० बजे नै उपस्थित हुन आग्रह गर्दै सर्वोच्च प्रशासनले पेशी तोकेपछि १० बजे नै सुनुवाई गरेर साधरणसभा रोक्ने हो कि भन्ने आँकलन गर्न समेत थालिएको छ । शाहले यसअघि जिल्ला प्रशासन कार्यालय काठमाडौँमा पनि अधिवेशन रोक्क उजुरी दिएका थिए । रिट निवेदक शाहले महासंघ राष्ट्रिय निर्देशन ऐन २०१८ अन्तर्गत दर्ता भएको संस्था भएकोले सरकारको प्रत्यक्ष निगरानी रहने हुँदा कार्यकालमै रहेका पदाधिकारीले चुनाव गराउन नहुने जिकिर गर्दै आएका छन् । यसपटक महासंघको वरिष्ठ उपाध्यक्षका लागि किशोर प्रधान र चन्द्र ढकाल प्रतिस्पर्धामा छन् । महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था छ । प्रतिष्ठान कमलादीमा उद्योग वाणिज्य समूह, कार्की व्याङकेट माइतीघरमा एशोसिएट सदस्य समूह र महासंघको कार्यालयमा बस्तुगत संघ समूहको मतदानस्थल तोकिएको छ । महासंघको निर्वाचनमा कोरोना संक्रमित मतदाताहरुले पनि मतदान गर्न पाउने भएका छन् । कोभिड—१९ पोजेटिभ देखिएका मतदाता आफैले मतदान गर्नुपर्ने अवस्थामा तीनै समूहका मतदाताहरुलाई नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा मतदानको व्यवस्था गरिने जनाइएको छ ।

कोरोना मिटरमा नेपाल
पछिल्लो २४ घण्टामा १ हजार ९४८ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख २६ हजार २६ पुगेको छ । संक्रमितमध्ये १३८९ जनाको मृत्यु भएको छ भने २ लाख ७ हजार ९९८ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र २१४० जना संक्रमणमुक्त हुँदा सोही समयमा २८ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । देशभर १६ हजार ६३९ संक्रिय संक्रमित रहेकोमा ३४५ जनाको आईसीयू र ६३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । संक्रमितमध्ये १० हजार १ सय ८४ जना होम आइसोलेसनमा रहेका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ