Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsहुम्लामा बिरामी बोकेको जीप दुर्घटना : ४ को मृत्यु, ७ जना घाइते (नामावलीसहित)

हुम्लामा बिरामी बोकेको जीप दुर्घटना : ४ को मृत्यु, ७ जना घाइते (नामावलीसहित)


हुम्ला, काठमाडौं । हुम्लामा बिरामी बोकेको जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । अन्य सात जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार हेप्काखोलाबाट बिरामी बोकेर सदरमुकाम सिमकोट जादै गरेको लु २ च २१०२ नम्बरको जीप डाँडाफयामा राति ११ बजेतिर जीप दुर्घटनामा परेको हो ।

दुर्घटनामा सिमकोट ७ का ३० वर्षीय पर्वत सुनार, सिमकोट २ का पारस बोहरा, नाम्खा १ हेप्काका ४५ वर्षीय डुकी तामाङ, उनका श्रीमान ४५ वर्षीय गुरु तामाङको मृत्यु भएको छ । सिमकोट २ ठेहेका जिप चालक सिंगम भण्डारी, सिमकोट ६ बस्ने प्युठानका अजय बस्नेत, सिमकोट ८ खोल्सीकी कल्पना सिंह, सिमकोट ८ खाल्सीका एक वर्षीय बालक मिलन सिंह, सिमकोट ८ खोल्सीकी सम्झना शाही नाम्खा गाउँपालिका वडा नं। १ की झुमझुम लामा र सिमकोट बजारमा बस्ने बाजुराका कवि सिंह घाइते भएका छन् ।

घाइते सबैको हुम्ला जिल्ला अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये दुईको अवस्था गम्भीर रहेको र बच्चासहित पाँचको अवस्था सामान्य रहेको जिल्ला अस्पतालले जानकारी दिएको छ । अधिकांश घाइतेको छाती, टाउको र हातखुट्टामा चोट लागेको जनाएको छ ।

प्रहरी निरीक्षक सीताराम बिष्टले बेलेरो जिप मूल सडकभन्दा करिब ६०० मिटर दक्षिणमा खसेको जानकारी दिए। जिप दुर्घटना भएको खबर पाएलगत्तै घटनास्थल पुगेका नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीले उद्धार गरेका थिए । राति भएकाले उद्धारमा केही समस्या भएपनि घाइतेलाई समयमै उद्धार गरेर अस्पताल लगिएको घटनास्थल पुगेका सशस्त्र प्रहरी बल हुम्लाका प्रमुख डिएसपी मोहन विष्टले जानकारी दिए ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ