Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपालको एकीकृत परराष्ट्र नीति, विदेशमा रहेका आप्रवासी नेपालीलाई के फाइदा ?

नेपालको एकीकृत परराष्ट्र नीति, विदेशमा रहेका आप्रवासी नेपालीलाई के फाइदा ?


काठमाडौं । सरकारले एकीकृत परराष्ट्र नीति सार्वजनिक गरेको छ। आइतबार परराष्ट्र मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरेर परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले ‘नेपालको परराष्ट्र नीति, २०७७’ सार्वजनिक गर्नुभएको हो ।

परराष्ट्रमन्त्री ज्ञवालीले कोहीमाथी शत्रुता नभइ सबै मित्रता हुने गरी परराष्ट्र नीति अवलम्बन गरिएको जानकारी दिनुभयो । संसारमा राजनीति, शक्ति र व्यवस्थाका हिसाबले भिन्दाभिन्दै प्रणालीहरु रहेको भएपनि नेपालको परराष्ट्र नीति तर्जुमा गर्दा निश्चित विचारधारा र राजनीतिक प्रणालीलाई आधार बनाइएको परराष्ट्रमन्त्री ज्ञवालीको दाबी थियो । कुनैपनि देशसँग नजिकको वा टाढाको भनेर कुटनीतिक व्यवहारमा फरक पार्न नखोजिएको मन्त्री ज्ञवालीले बताउनुभयो । परराष्ट्र नीतिले आर्थिक कूटनीतिलाई प्राथमिकता दिँदै जलवायु परिवर्तन, अन्तर्राष्ट्रिय क्षेत्रीय मञ्चमा नेपालको स्थान लगायतका विषयमा समेत जोड दिएको बताइएको छ ।

छिमेकी लगायत सबै मुलुकसँग सार्वभौमिक समानता, पारस्परिक लाभ र सम्मानका आधारमा द्विपक्षीय सम्बन्ध विस्तार र सुदृढ गरिने पनि परराष्ट्र नीतिमा उल्लेख छ। यस्तै अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मञ्चमा नेपालको पहिचान र प्रतिनिधित्व अभिवृद्धि गरी राष्ट्रिय हितको प्रवर्द्धन गर्ने विषयलाई समेत परराष्ट्र नीतिमा समावेश गरिएको छ। विदेशमा पेशा, व्यवसाय र रोजगारीमा संलग्न नेपाली समुदाय र कानुनी व्यक्तिको हितको संरक्षण गर्ने विषय पनि परराष्ट्र नीतिमा समेटिएको मन्त्री ज्ञवालीले बताउनुभयो ।

नेपालले लामो समयदेखि अपनाउँदै आएको असंलग्न नीतिलाई निरन्तरता दिने समेत उहाँले प्रष्ट पार्नुभयो । स्वतन्त्र र सन्तुलित परराष्ट्र नीतिको सञ्जालबाट सार्वभौमिक समानता, पारस्परिक लाभ र सम्मानमा आधारित बाह्य सम्बन्ध सुदृढ गर्दै समग्र राष्ट्रिय हितको सम्वर्द्धन र प्रवर्द्धन गर्ने लक्ष्य परराष्ट्र नीतिमा राखिएको मन्त्री ज्ञवालीले जानकारी दिनुभयो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ