Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsपुस पहिलो साताबाट काठमाडौंको फोहोर बञ्चरेडाँडाको ल्याण्डफिल साइटमा

पुस पहिलो साताबाट काठमाडौंको फोहोर बञ्चरेडाँडाको ल्याण्डफिल साइटमा


काठमाडौं । बञ्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन स्यानिटरी ल्याण्डफिल साइटमा पुस पहिलो साताबाट सञ्चालनमा आउने भएको छ । निर्माणले गति लिएको भन्दै शहरी विकास मन्त्रालयले पुस पहिलो सातादेखि काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन गर्न सकिने जानकारी दिएको हो ।

केही समय कोरोना भाइरस सङ्क्रमणका कारण ल्याण्डफिल साइड निर्माणको काम प्रभावित भएको थियो । कोरोना र निर्माण कम्पनीको आलटालका कारण रोकिएको कामलाई मन्त्रीस्तरमा भएको अनुगमन र ताकेताले गति दिएको थियो । मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद दवाडीले ल्याण्डफिल साइट निर्माणको कामअन्तर्गत अहिले माटो मिलाउने काम भइरहेको जानकारी दिनुभयो । दुई हप्ताअघि शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले स्थलगत अवलोकनका क्रममा यही मङ्सिर १५ गतेदेखि फोहर व्यवस्थापन गर्न मिल्ने गरी काम गर्न निर्माण कम्पनीलाई निर्देशन दिएका थिए । हाल निर्माण भइरहेको दीर्घकालीन ल्याण्डफिल साइट नुवाकोट र धादिङको सीमानामा क्षेत्रमा रहेको छ । काठमाडौँ महानगरपलिकाले केन्द्र सरकारले नै निर्माण गर्नुपर्छ भन्ने माग गरेपछि मन्त्रिपरिषद् बैठकले दीर्घकालीन फोहर व्यवस्थापनस्थल निर्माणको जिम्मेवारी शहरी विकास मन्त्रालयलाई दिएको थियो ।

करिब १५ मिटर अग्लो बाँध र अन्य पूर्वाधारसहितको फोहर विसर्जनस्थल निर्माण गरिदैछ । बञ्चरेडाँडामा स्यानिटरी ल्याण्डफिल साइट निर्माण गर्न २०७६ वैशाख २२ गते एक वर्षभित्र काम सम्पन्न गर्ने गरी लुम्बिनी कोशी एण्ड न्यौपाने जेभी (उपक्रम) सँग ठेक्का सम्झौता गरिएको थियो । विसर्जन स्थल निर्माण गर्न ३४ करोड ६८ लाख ७४ हजार ८९५ सम्झौता भएको छ । बाँध निर्माणको काम शहरी विकास मन्त्रालयले र विजर्सनस्थलसम्म जाने बाटो निर्माणको काम सडक विभागले अघि बढाएका थिए । तेह्र वर्षदेखि नुवाकोटको सिसडोलमा उपत्यकाकाको १८ स्थानीय तहको फोहर विसर्जन हुँदै आएको छ । उपत्यकाबाट दैनिक करिब एक हजार मेट्रिक टन फोहर निस्कन्छ । सबैभन्दा बढी कामपाबाट निस्कने गरेको आँकडा छ ।

काठमाडौं उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहरमध्ये करिब ७५ प्रतिशत सिसडोलमा व्यवस्थापन गरिँदै आइएको छ । हरेक दिन उपत्यकाबाट निजी र कामपाको गरी २०० गाडी फोहर सिसडोल पुग्नेगरेको छ । फोहोरमैलाको दुर्गन्धले आजित भएको भन्दै स्थानीयको बिरोधपछि सुरु गरिएको बञ्चरेडाडाको फोहोर व्यवस्थापन स्थलले ८, १० वर्ष उपत्यकाको फोहोर धान्ने आँकलन गरिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ