Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsकोरोना प्रभाव : जर्मनीमा अत्यावश्यक बाहेकका सबै पसल तथा कार्यालय बन्द गर्न आह्वान

कोरोना प्रभाव : जर्मनीमा अत्यावश्यक बाहेकका सबै पसल तथा कार्यालय बन्द गर्न आह्वान


काठमाडौं, एजेन्सी । जर्मनीमा कोरोना महामारीको दोश्रो लहरको प्रभाव तिब्र देखिएसँगै अत्यावश्यक बाहेकका सबै पसल, विद्यालयलगायत बन्द गर्न आह्वान गरिएको छ । कोरोनाभाइरसको सङ्क्रमण अत्यधिक बढेपछि चान्सलर एंगेला मर्केलले बुधबारदेखि अत्यावश्यक बाहेकका सबै पसल तथा कार्यालयहरू बन्द गर्न आह्वान गर्नुभएको हो ।

अहिलेको आशिंक लकडाउन कम्तीमा जनवरी १० तारिखसम्म रहने र त्यसपछि अवस्था हेरेर निर्णय गरिने जनाइएको छ । युरोपकै सबैभन्दा ठूलो अर्थतन्त्र भएको मुलुकमा महामारीले तिब्रता पाएपछि नियन्त्रणमा चुनौती देखिएको छ । अर्थतन्त्रमा धेरै नकारात्मक असर परिरहेकाले कामदारहरूलाई घरबाटै काम गर्न मर्केलले आग्रह गर्नुभएको छ । सार्वजनिक स्थलमा रक्सीको कारोबारमा प्रतिबन्ध लगाइएको छ भने कपाल काट्ने ठाउँ बन्द गर्न भनिएको छ । आंशिक लकडाउनका बारेमा र त्यसको व्यवस्थापनका बारेमा चान्सलर मर्केलले आइतबार १६ राज्यका नेताहरूसँग छलफल गर्नुभएको थियो ।

क्रिसमन, नयाँ वर्षलगायतका महत्वपूर्ण चाडपर्वहरू मनाउने बेला भएकाले पनि सङ्क्रमण थप फैलिन सक्नेतर्फ सरकारी अधिकारीहरूले चिन्ता व्यक्त गरेका छन् । चाडपर्व मनाउनका लागि भीडभाड हुने, किनमेल बढ्ने, रमाइलो गतिविधिहरू धेरै हुने भएकाले पनि तत्काल लकडाउनको आवश्यकता महशुस गरिएको दाबी सरकारी अधिकारीहरुको छ । बाभारिया राज्यका प्रमुख मर्कुस सोएडरले कोरोनभाइरसको महामारीको अवस्था नियन्त्रणभन्दा बाहिर गइसकेको भन्दै चान्सलर मर्केलको आह्वानलाई आफ्नो राज्यमा पूर्ण रूपमा कार्यान्वयन गराउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

जर्मनीमा यसअघि स्वास्थ्य सावधानीसहित महामारी नियन्त्रणका धेरै व्यवस्थाहरू लागू गरेकाले कोभिड–१९ न्युनीकरण भएको थियो । तर अहिले फेरी अत्यधिक बढ्न थालेपछि सर्वत्र चासो र सक्रियता बढेको छ । सरकारी अधिकारीहरूका अनुसार अहिलेसम्म १३ लाख २० हजारभन्दा बढी सङ्क्रमित भेटिएको जर्मनीमा २२ हजार १७१ जनाको कोरोनाका कारण ज्यान गएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ