Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsसरकारविरुद्ध नेपाली कांग्रेसको शक्ति प्रदर्शन, ७७ जिल्लामै सरकारको आलोचना

सरकारविरुद्ध नेपाली कांग्रेसको शक्ति प्रदर्शन, ७७ जिल्लामै सरकारको आलोचना


काठमाडौं । ‘भ्रष्टाचार, अनियमिततासहित सरकारको निरंकुश कार्यशैलीको विरोध’ भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले देशभर शक्ति प्रदर्शन गरेको छ । नेपाली कांग्रेसले देशका ७७ जिल्लामै उल्लेख्य जनसहभागितासहित सरकारविरुद्ध प्रदर्शन गरेको हो ।

प्रदर्शनमा सहभागी भएका थिए । सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला लगायत सबै केन्द्रीय सदस्यहरु शक्ति प्रदर्शनलाई शसक्त बनाउन भन्दै जिल्लाजिल्लामा खटिएका थिए । हटौंडाको विरोध सभालाई सम्बोधन गर्दै सभापति शेरबहादुर देउवाले देशमा वर्तमान व्यवस्थाको विरुद्धमा राजावादीहरुको प्रदर्शनमा कम्युनिस्ट सरकारले उक्साएको आरोप लगाए । ‘देशमा राजा आउ, देश बचाउ भनेका छन् । किन भनिरहेका छन् भन्दा कम्युनिस्ट सरकारका कारण ।’ सभापति देउवाले भने । राजा फर्किने अवस्था नभएको दाबी गरेका देउवाले गणतन्त्रलाई ठीक पार्ने र लोकतन्त्रलाई संस्थागत गर्ने पार्टी कांग्रेस मात्रै भएका बताए । पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले ओली सरकार र कम्युनिस्ट सरकारको गतिविधिका कारण जनता आजित भएको जिकिर गर्दै अदालतलाई पनि कम्युनिस्टकरण गर्न खोजेर सरकारले निष्पक्ष न्यायपालिकालाई समेत प्रभाव पारेको बताए ।

काठमाडौंमा भएको सरकारविरुद्धको विरोध सभालाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले सडकमा ‘राजा आऊ देश बचाऊ’ को पक्षमा आवाज उठ्नुमा कम्युनिस्ट सरकार जिम्मेवार भएको आरोप लगाए । नेता पौडेलले यो सरकारले जनतामा सन्त्रास फैलाएको र जनतालाई आफ्नो ईशारामा चल्न बाध्य बनाएको दाबी गरे । भ्रष्टाचार हेर्ने आयोग र निकायहरु जनताको भावनाका विपरीत सरकारको ईशारामा चलेको र भ्रष्टाचारमा मुछिएका ठूला माछालाई पक्राउ नगरिएको उहाँको दाबी थियो । कांग्रेसका नेता गगनकुमार थापाले धनगढीको बिरोध सभामा सम्बोधन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीलाई आफूसँग चुनाव लड्न चुनौती दिए । नेता थापाले राष्ट्रपतिको राजनीतिक सक्रियताको आलोचना गरेका थिए । भ्रष्टाचारी खोज्न बालुवाटार गए हुन्छ भन्दै प्रधानमन्त्रीको समेत नेता थापाले आलोचना गरेका थिए । कांग्रेस नसकेर सरकारविरुद्ध सडकमा नआएको भन्दै थापाले कोरोना संक्रमण नियन्त्रण गर्न सरकारलाई सघाउन र जिम्मेबार बन्नाउन सडकमा आएको जिकिर गरे । सडकमा आएको कांग्रेस सरकारको मनोमानी र जनताको चाहाना भावना विपरितको गतिबिधिमा चुप लागेर नबस्ने नेता थापाको उद्घोष थियो । हटौंडामा भएको सभामा सम्बोधन गर्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले कम्युनिष्ट सरकारले कात्रोमा समेत भ्रष्टाचार गरेको आरोप लगाए । वर्तमान सरकार भ्रष्टाचारमा लिप्त भएको शर्माको आरोप थियो ।

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँमा गरिएको दुर्व्यवहारले सरकार सर्वसत्तावाद तर्फ लम्किएको भन्दै कांग्रेसले सरकारविरुद्ध शक्ति प्रदर्शन गरेको हो । देशका ७७ वटै जिल्लामा केन्द्रिय स्तरका नेताहरुले बिरोध सभालाई सम्बोधन गर्दै सरकार नसच्चिदासम्म आन्दोलन जारी रहने बताएका थिए । भ्रष्टाचार, जनजीविकाको सवालमा देखिएको बेवास्था लगायतका विषयमा सरकार बेमतलबी देखिए थप शसक्त विरोध प्रदर्शनको सामना गर्नुपर्ने चेतावनी समेत नेताहरुले दिएका थिए ।।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ