Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsपेट्रोल पम्पको जोखिम : काठमाडौं उपत्यका यसकारण बन्दैछ एम्बुसको शहर

पेट्रोल पम्पको जोखिम : काठमाडौं उपत्यका यसकारण बन्दैछ एम्बुसको शहर


पुण्यप्रसाद धमला,काठमाडौं । कमजोर भू–धरातल र जमिनको क्षमताभन्दा बढी जनघनत्व भएका कारण काठमाडौं उपत्यका भासिने जोखिममा रहेको आँकलन गरिदैगर्दा घनाबस्तीमा रहेका पेट्रोल पम्पले थप जोखिम बढाएका छन् । हिजो १ सय फिट गहिराईमा भेटिने पानीको सतह अहिले २ सय फीट तल पुगिसकेको छ ।

बढ्दो बस्ती र जमिन मुनिको पानीबाटै अभाव टार्नुपर्ने बाध्यताले काठमाडौंको धरातललाई कमजोर बनाउँदैगर्दा पेट्रोलपम्प नै पेट्रोल पम्पका कारण काठमाडौं उपत्यका एम्बुसको शहर जस्तो बनेको छ । नेपाल आयल निगमका अनुसार काठमाण्डौँ उपत्यकामा करिब १७० वटा पेट्रोल पम्प छन् । अधिकांश पेट्रोल पम्प घना बस्ती अनि सडकको छेउमै टासिएका छन् । सडकभन्दा पनि घना बस्तीमा रहेका पेट्रोल पम्पहरुले सुरक्षा चुनौती बढाएका छन् । काठमाडौँको तीनकुने, चाबहिल, बालकुमारी र कोटेश्वरमा रहेका पेट्रोल पम्पमा आगलागी भइसकेका छन् । आइतबार साँझ मात्रै ललितपुरको ग्वार्कोस्थित उज्वल पेट्रोल पम्पमा तेल खन्याउने क्रममा ना ४ ख ९७४ नम्बरको ट्याङ्करमा आगोलागी भएको छ ।

अहिलेसम्मका आगोलागीहरु समयमै नियन्त्रणमा आउँदा ठूलो मानविय र भौतिक क्षती हुन पाएको छैन । पेट्रोल खन्याउनेक्रममा खुल्ला रहेको ट्यांकर वा जमिनमुनी भण्डारण गरिएको पेट्रोलिय पदार्थको ट्याङ्कीमा केहीगरी अगोलागी भएमा आसपासको बस्ती र भौतिक संरचनामा मात्रै नभएर नजिकका अन्य पेट्रोल पम्पमा समेत आगोलागीको निसाना बन्नसक्ने देखिन्छ । हुन त, यो तथ्यलाई नेपाल आयल निगमन लगायतका सरकारी अधिकारीहरुको अनुगमन संयन्त्रले नै स्विकारि सकेको छ । अनि सडक आसपास लगायत विभिन्न स्थानका १८ वटा पेट्रोल पम्पलाई अन्यत्र सार्न भन्दै सरकारले नेपाल आयल निगमलाई निर्देशन दिएको नै १ वर्ष पुग्न लागेको छ । तर अहिलेसम्म सरकारी निर्देशन कार्यान्वयन भएको छैन । जोखिमको आँकलन गरेर सार्न भनिएका पेट्रोल पम्प अहिले पनि निर्वाध सञ्चालनमा छन् ।

सरकारले सडक नजिक तथा घना बस्तीबीच रहेका पेट्रोल पम्प स्थानान्तरण गर्ने योजना अघि बढाएपनि प्रभावकारी नदेखिएको कतिपयको बुझाई छ । ‘नेपाल आयल निगम बिक्रेता नियमावली, २०७५’ कार्यान्वयनमा आए पनि काठमाडौँ उपत्यकामा अहिलेसम्म ‘नमुना पेट्रोल पम्प’ स्थापना हुन सकेको छैन । यतिधेरै पेट्रोल पम्प भएको उपत्यकामा २४ घण्टा पेट्रोल उपलब्ध हुनसक्ने अवस्था छैन ।

सडक र घनाबस्तीबाट सार्न ताकेता गरिएका पेट्रोल पम्पहरु
कोत थुकु पेट्रोल पम्प, बालाजु
जयन्ती पेट्रोल पम्प, थापाथली
कनक पेट्रोल पम्प, कालीमाटी
मायाराम भोलाराम पेट्रल पम्प, थापाथली
बाबा पेट्रोल पम्प, कलङ्की
श्यामा पेट्रोल पम्प, कलङ्की
त्रिशूल पेट्रोल पम्प, कलङ्की
भ्याली रिकेश पेट्रोल पम्प, कोटेश्वर
कामाख्या पेट्रोल पम्प, कोटेश्वर
जुबी पेट्रोल पम्प, बौद्ध
बराल पेट्रोल पम्प, बौद्ध
सीता पेट्रोल पम्प, महाराजगञ्ज
बज्रबराही पेट्रोल पम्प, चापागाउँ, ललितपुर
बालकुमारी पेट्रोल पम्प, चापागाउँ, ललितपुर
टीका भैरव डिजेल स्टोर, चापागाउँ, ललितपुर
साझा पेट्रोल पम्प, जावलाखेल, ललितपुर
एच पी इन्टरनेसनल, जावलाखेल, ललितपुर
गायत्री पेट्रोल पम्प, जावलाखेल, ललितपुर

यी पेट्रोल पम्पहरूलाई सरकारले अन्यत्र सार्न निर्देशन दिएपनि स्थानान्तरण त्यति सहज देखिदैन । किन कि यी पेट्रोल पम्पहरु काठमाडौं उपत्यकामा जनघनत्व कम हुँदा राज्यको नियम कानुन पालना गरेरै सञ्चालन भएका हुन् । मुलुकको सङ्घीय राजधानीमा व्यवस्थित सहरीकरण नहुनुमा आफूहरूको दोष नरहेको व्यवसायीहरुले दाबी गर्दै आएका छन् । नेपाल पेट्रोलियम डिलर राष्ट्रिय एसोसिएसन वर्षौँ पहिले बनेका पम्पलाई एउटा सूचनाका आधारमा बलपुर्वक हटाउने नभई सरकारले उपयुक्त स्थान र उचित क्षतिपूर्तिको व्यवस्था गरेर व्यवस्थापन गर्नुपर्ने अडानमा छ ।

नक्सालस्थित नेपाल प्रहरीले सञ्चालन गरेको पेट्रोल पम्प मात्रै होइन, भद्रकालिस्थित नेपाली सेनाले सञ्चालन गरेको पेट्रोल पम्प समेत अहिले सडक विस्तारका कारण बाटोमै जोडिएका छन् । पूर्वाधार विकासका नाममा अन्य क्षेत्रमा देखिएको समस्या समाधानका लागि सरकारले तत्कालको र दिर्घकालिन व्यवस्थापनको अवधारणा नै बनाएर अघि बढ्नुपर्ने देखिएको छ ।

ट्यांकरमा सहजै आगो नलाग्ला अनि ट्याङ्की जमिनमुनि हुने हुँदा त्यहाँसम्म आगोलागीको जोखिम तत्काल नहोला तर भूलबस वा कुनै चुहाओटका कारण आलोलागी भएमा सोचेभन्दा भयानक मानविय र भौतिक क्षती व्यहोर्नुपर्ने निश्चित छ । पानीको सहत घट्दै जाँदा भासिने जोखिम बढेको काठमाडौं उपत्यकामा पेट्रोल पम्पले बढाउनसक्ने भयानक जोखिम रोक्ने सरकार र सरोकारवाला बेलैमा गम्भिर बन्नुपर्छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ