Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsकोरोना प्रभाव : हवाई यात्रुको संख्यामा उल्लेख्य कटौँती

कोरोना प्रभाव : हवाई यात्रुको संख्यामा उल्लेख्य कटौँती


काठमाडौं । कोभिड–१९ कोरोना महामारीका कारण अन्य क्षेत्रजस्तै हवाई क्षेत्रमा पनि ठूलो असर परेको छ । अर्थतन्त्रका अन्य क्षेत्रमध्ये पर्यटन क्षेत्र सबैभन्दा शिथिल बन्दा हवाई क्षेत्रले नराम्ररी आर्थिक क्षति बेहोर्नुपरेको छ ।

कोभिड–१९ सङ्क्रमण नियन्त्रणका लागि अघिल्लो वर्ष चैत ११ देखि देशभर लागू गरिएको बन्दाबन्दी र त्यसपछिको निषेधाज्ञाका कारण लामो समय अन्तर्राष्ट्रिय उडानमाथी प्रतिबन्ध लाग्यो । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना सङ्क्रमणको जोखिमले विदेशी पर्यटक नेपाल आउने वातावरण भएन । अन्तर्राष्ट्रिय मात्र नभई आन्तरिक उडान पनि उसैगरि प्रभावित भयो । भदौँ १६ देखि नियमित अन्तर्राष्ट्रिय उडान र असोज ५ देखि आन्तरिक उडान सञ्चालनमा आएपनि उडान भने यात्रुको संख्या भने न्यून देखिएको छ । कोभिड महामारीकै कारण सन् २०२० मा अन्तर्राष्ट्रिय तथा आन्तरिक उडानका यात्रुको संख्यामा भारी गिरावट आएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को विवरणमा सन् २०२० को नौ महिनाको अवधिमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर आउने यात्रुको सङ्ख्या विगतको तुलनामा घटेको छ । यो वर्षको सेप्टेम्बरसम्म यात्रु सङ्ख्या नौ लाख २७ हजार २०८ रहेको छ । सन् २०१९ मा ४१ लाख ३८ हजार ४८२ ले नेपालको उडान भरेका थिए । जुन संख्या अघिल्लो वर्षको तुलनामा ४.६ प्रतिशतले बढि थियो । सन् २०१८ मा अघिल्लो वर्षको तुलनामा ११.६९ प्रतिशतले वृद्धि भई कूल ४३ लाख ४२ हजार ४८६ यात्रु नेपाल आएका थिए । सन् २०१७ मा अन्तर्राष्ट्रिय उडानतर्फ कूल ३८ लाख ८७ हजार ८४५ यात्रुको आवागमन भएको क्यानले जानकारी दिएको छ । आन्तरिकतर्फ यस वर्षको सेप्टेम्बरसम्म यात्रु सङ्ख्या सात लाख ८७ हजार ४० रहेको छ । अघिल्लो वर्ष अर्थात सन् २०१९ मा यात्रु आवागमन सङ्ख्या ३१ लाख ८८ हजार ४८७ रहेको थियो । जुन सन् २०१८ को तुलनामा ११.९६ प्रतिशतले बृद्धी भएको थियो । सन् २०१८ मा २८ लाख ४७ हजार ७५२ यात्रुको आवागमन भएको थियो । सन् २०१७ मा २४ लाख ५१ हजार ३९० यात्रु आवागमन भएको थियो ।

सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको थियो । यस वर्ष उल्लेखनीय सङ्ख्यामा विदेशी पर्यटकको नेपाल आगमन हुने अपेक्षा गरिएकोमा कोभिडको महामारीका कारण हवाई तथा पर्यटन क्षेत्रमा उल्लेख्य असर पर्न पुग्यो । यात्रुको संख्यामा उल्लेख्य कटौती भएपनि अन्तर्राष्ट्रिय उडानतर्फ तीन नेपाली र २७ विदेशी वायुसेवा गरी ३० वटा वायुसेवाले १५ मुलुकका ३२ गन्तब्यमा उडान सञ्चालन गरिरहेका छन् भने आन्तरिक उडानमा नौ फिक्सड विङ वायुसेवा र १० हेलिकप्टर कम्पनी सञ्चालनमा छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ