Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalइलामको शीतभण्डार प्रयोगमा नआउँदा करोडौँको क्षती

इलामको शीतभण्डार प्रयोगमा नआउँदा करोडौँको क्षती


काठमाडौं, इलाम । नौ वर्षअघि इलाम नगरपालिकाले छ करोड खर्चेर तयार गरेको शीतभण्डार प्रयोग विहिन भएको छ । भारतीय दूतावासको आर्थिक सहयोगमा ठूलै तामझामका साथ जिल्लामा उत्पादित फलफूल, तरकारी भण्डारण गर्ने उद्देश्यले नगरले भवन बनाएपनि अहिले प्रयोगमा आउन नसकेको हो ।

लामो समय फलफूल र तरकारी नटिक्ने तथा जिल्ला बाहिरबाट भित्र्याउनु पर्ने समस्या हल गर्न शीतभण्डारण बनाइएको थियो । तर भण्डारण गरेर नगरले फाइदा लिनुको साटो मासिक बिजुलीको महसुल मात्रै तिर्दै आएको छ । इलाम नगरपालिका–९ मा रहेको शीतभण्डारको क्षमता दुई हजार टनको छ । शीतभण्डार प्रयोगमा नआउँदा भवन लड्ने अवस्थामा पुगेको छ । भवन प्रयोगमा ल्याउन नगरले ठेक्काका लागि सूचना पनि निकाल्यो, तर ठेक्का लागेन । त्यही कारण अहिले भवन प्रयोगविहीन अवस्थामा छ । नगरका बासिन्दाले बाहिरबाट तरकारी आयात गरिरहेका छन् । नगरका सूचना अधिकारी एवं प्रशासकीय अधिकृत रामकुमार साह टेण्डर लागेन, किसानले राख्ने आँट गरेनन्, बिग्रिन्छ कि भनेर डराएका कारण प्रयोगविहिन भएको बताए ।

शीतभण्डार बनाए पनि प्रयोग नहुँदा लागत रकम नाश भएको छ भने भवन बिग्रिने अवस्थामा पुगेको छ । नगरले दूरदर्शिता अपनाउन नसक्दा शीतभण्डार प्रयोगमा आउन नसकेको हो । एकपल्टमा एकैखाले उत्पादन मात्र भण्डारण गर्न मिल्ने ‘सिङ्गल च्याम्बर’को भएकाले पनि शीतभण्डार सञ्चालनमा ल्याउन कठिनाइ भएको बताइएको छ । फरकफरक जातका कृषिजन्य उत्पादन भण्डारण गर्न फरकफरक नै तापक्रम आवश्यक पर्दछ ।

फरकफरक तापक्रममा फरक खाले तरकारी र फलफूललगायतका कृषिजन्य उत्पादन राख्न सक्ने गरी ‘मल्टि च्याम्बर’ बनाउनु पर्ने भए पनि हचुवाका भरमा शीतभण्डारको निर्माण गरिएकाले प्रयोगमा आउन नसकेको कतिपयको आरोप छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ