Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsबेलायतमा देखिएको नयाँ स्वरुपको कोरोना भाइरसको प्रभाव नेपालसहित विश्वभर

बेलायतमा देखिएको नयाँ स्वरुपको कोरोना भाइरसको प्रभाव नेपालसहित विश्वभर


काठमाडौं । बेलायतमा देखिएको नयाँ स्वरूपको कोरोना भाइरसले विश्वभर प्रभाव पार्ने देखिएको छ । यसको प्रत्यक्ष/अप्रत्यक्ष प्रभाव नेपालमा पनि देखिन थालेको छ । बेलायतमा देखिएको नयाँ स्वरूपको कोरोना भाइरस नियन्त्रणका लागि विभिन्न देशले कडा कदम चालेका छन । यसले नेपालको पुनर्उत्थानउन्मुख पर्यटनसँगै वैदेशिक रोजगार क्षेत्रमा प्रत्यक्ष असर परेको छ ।

यसैहप्ता साउदी अरेबिया, कुवेत र ओमानले निश्चित समय तोकेर विदेशबाट आफ्ना विमानस्थलमा हुने हवाई उडानमा रोक लगाएका छन् । यूएई, कतार लगायत देशले पनि एक दुई दिनभित्र नै यस्तो प्रतिबन्ध लगाउने तयारीमा रहेको खबर बाहिरिएको छ । नेपालका मुख्य श्रम गन्तव्य मुलुकहरूले नयाँ किसिमको भाइरसको फैलावट रोक्न विभिन्न प्रतिबन्धात्मक व्यवस्था गरेको यो अवस्थाले हाम्रो वैदेशिक रोजगारीमा ठूलो प्रभाव पार्ने देखिन्छ ।

वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालले पनि साउदी अरेबिया, कुवेत र ओमान जान प्रक्रिया पूरा गरेका नेपाली श्रमिक कोरोनाको दोश्रो लहरका कारण रोकिएको स्विकार गर्दै सम्बन्धित देशको अध्यागमन तथा उड्डयन नियमका आधारमा रोकिएका यात्रु प्रतिबन्ध खुलेपछि जान पाउने बताउनुभयो । विदेश जान एक वर्षदेखि प्रतीक्षारत श्रमिकलाई यस्तो प्रतिबन्धको प्रत्यक्ष असर परेको म्यानपावर व्यवसायीहरु बताउँछन् । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले बिस्तारै तङ्ग्रिन थालेको वैदेशिक रोजगारीमा फेरि खतराको घण्टी बजेको जनाएको छ । कोभिड–१९को खोपहरू प्रयोगमा आउन थालेसँगै पलाएको आशामा नयाँ स्वरूपको भनिएको कोरोना भाइरसले फेरि ठूलो असर गरेको म्यानपावर व्यवसायीहरुले बताउन थालेका छन् ।

बेलायतसहितका युरोपेली मुलुकको यात्रामा कडाइ गरिएको र स्पेन लगायतका मुलुकले केही महिनासम्म नै लकडाउन घोषणा गरेकाले त्यसको असर खाडी देशहरुमा देखिएको छ । खाडीको अर्थतन्त्रमा असर पर्दा नेपाली श्रमिकले मौका नपाउनसक्ने र नेपालको अर्थतन्त्रमा समेत प्रभावपर्ने कतिपयको मत छ । कोरोना भाइरसको महामारी अन्त्य नभएपनि नियन्त्रण उन्मुख भएसँगै पछिल्ला महिना नेपालबाट वैदेशिक रोजगारीमा जाने संख्या बढ्दो क्रममा थियो । चैतमा गरिएको लकडाउनपछि ३ महिना शून्यमा झरेको वैदेशिक रोजगारीमा जाने संख्या कात्तिकमा ९ हजार ३८० पुगेको थियो । अधिकांश श्रमिकहरु खाडीका श्रम गन्तव्य मुलुक पुगेका थिए ।

वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो चार महिना अर्थात् साउनदेखि कात्तिकसम्म करिब ४५ हजार नेपाली काम गर्न विदेश गइसकेका छन् । तर, कोरोना भाइरसको नयाँ रूप देखिएसँगै जारी गरिएका प्रतिबन्धका कारण श्रमका लागि विदेश जान भिसा कुरिरहेका नेपाली श्रमिक निरास बन्न थालेका छन् । अन्तर्राष्ट्रिय उडान रोकेका साउदी अरेबिया, कुवेत र ओमानले जोखिम विश्लेषण गरेर मात्रै उडानबारे नयाँ निर्णय लिने जनाएसँगै नेपालको वैदेशिक रोजगारीमा कोरोनाको नयाँ स्वरुपले थप केही समय प्रभाव पर्ने देखिन्छ ।

श्रम गन्तव्य मुलुक कहाँ कहाँ प्रतिबन्ध ?
– साउदीको आन्तरिक मन्त्रालयले सोमबारबाट लागु हुने गरी एक हप्तासम्म साउदी प्रवेश गर्ने सम्पूर्ण अन्तर्राष्ट्रिय हवाई र स्थलमार्ग स्थगन गरेको छ । जोखिमका आधारमा यो अवधि लम्बिन सक्ने जनाइएको छ

– ओमान सरकारले मंगलबारदेखि लागू हुनेगरी २९ डिसेम्बरसम्म हवाई र स्थलमार्गबाट हुने आवागमन बन्द गरेको छ । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) महामारीको मूल्याङ्कन गरिरहेको ओमानको सर्वोच्च कमिटीले पछिल्लो घटनाक्रम र महामारी नियन्त्रणका लागि विभिन्न देशले अवलम्बन गरेका रणनीति लगायत हेरेर र थप जोखिमको आँकलनका आधारमा थप निर्णय लिइने जनाएको छ ।

– यूएई, कतार लगायतका देशले पनि एक दुई दिनभित्र जोखिमको आँकलनसहित प्रतिबन्ध लगाउने लगायतको कोरोना रोकथामका निर्णय सार्वजनिक गर्ने तयारी गरेको जनाइएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ