Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsफ्रान्सले हजारौँ आप्रवासीलाई किन दिदैछ द्रुत प्रक्रियाबाट अङ्गीकृत नागरिकता ?

फ्रान्सले हजारौँ आप्रवासीलाई किन दिदैछ द्रुत प्रक्रियाबाट अङ्गीकृत नागरिकता ?


काठमाडौं, एजेन्सी । फ्रान्सले कोरोनाभाइरस विरुद्धको अग्रमोर्चामा खटिएका सयौँ आप्रवासीहरूलाई द्रुत प्रक्रियाबाट अङ्गीकृत नागरिकता दिने कामलाई तिब्रता दिएको छ । आन्तरिक मन्त्रालयले कोभिड–१९ को नियन्त्रण प्रयासमा खटिएकाहरुलाई द्रुत रूपमा उपलब्ध गराइने अङ्गीकृत नागरिकताका लागि निवेदन दिन आह्वान गरेको हो ।

गएको सेप्टेम्बरमा फ्रान्सले द्रुत रूपमा नागरिकता दिने अभियान घोषणा गरेसँगै अहिलेसम्म ७४ जनाले फ्रान्सको राहदानी पाइसकेको र अरू ६९३ जना अन्तिम चरणमा रहेको बताइएको छ । यसरी नागरिकता पाउनेमा स्वास्थ्य क्षेत्रमा काम गर्ने पेसाकर्मी, सरसफाइकर्मी र पसलमा काम गर्ने कामदार रहेका छन् ।

हालसम्म २ हजार ८९० को निवेदन
फ्रान्समा अङ्गीकृत नागरिकताका लागि निवेदन दिने व्यक्ति त्यहाँ पाँच वर्ष बसेको हुनुपर्ने, स्थिर आम्दानी हुनुपर्ने र फ्रान्सेली समाजसँग राम्रोसँग भिजेको हुनुपर्ने व्यवस्था रहेको छ । यी प्रवधान पुरा गरेकाले निवेदन दिनेक्रमले तिब्रता पाएको छ ।

सम्मानका लागि नागरिकता
प्रान्स सरकारले कोभिड नियन्त्रणको क्षेत्रमा काम गरेका व्यक्तिहरूलाई उनीहरूले पुर्याएको योगदानलाई ध्यान दिँदै दुई वर्ष फ्रान्समा बसेकै आधारमा नागरिकताका लागि योग्य हुने उल्लेख गरेको छ । फ्रान्समा नागरिकता पाउने प्रक्रिया अप्ठेरो र लामो रहदैआएको छ । सन् २०१९ मा अघिल्लो वर्षको तुलनामा १० प्रतिशत कमलाई अङ्गीकृत नागरिकता दिइएकोमा यो बर्ष र आगामी वर्ष बढ्ने अपेक्षा गरिएको छ ।

फ्रान्सले बहादुरी र योगदान पुर्याए बापत् बारम्बार नागरिकता दिएर सम्मान गर्दै आएको छ । सन् २०१८ मा मालीका एक जना व्यक्तिलाई प्यारिसमा कौशीबाट खस्न लागेका एक जना सानो बच्चालाई उद्धार गरेसँगै फ्रान्सको नागरिकताले सम्मानित गरिएको थियो ।

कोरोनाभाइरसबाट सबैभन्दा बढी प्रभावित १० देशमध्ये फ्रान्स पनि एउटा हो । प्रान्समा यो समाचार तयार पार्दासम्म २५ लाख ५९ हजार बढीमा संक्रमण पहिचान भएको छ भने ६२ हजार ७४६ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । फ्रान्समा अहिले पनि २३ लाख बढी सक्रिय संक्रमित रहेको कोरोनाको विश्वव्यापि अपडेट गरिरहेको वल्डोमिटरले जनाएको छ । Photo : gettyimages



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ