Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपालमा चिनियाँ चासो, उच्चस्तरिय टोली राजनीतिक भेटघाटमा व्यस्त

नेपालमा चिनियाँ चासो, उच्चस्तरिय टोली राजनीतिक भेटघाटमा व्यस्त


काठमाडौं । आइतबार साँढे १ बजे नेपाल भ्रमणमा आएको चिनियाँ कम्युनिस्ट पार्टीको टोलीले राजनीतिक भ्रमणलाई तिब्रता दिएको छ । आइतबार राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग उपमन्त्री गुओ येझोउ नेतृत्वको चार सदस्यीय टोलीले भेटवार्ता गरेको छ ।

चिनियाँ टोलीले आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग राष्ट्रपति भवन शीतल निवासमा पुगेरसाँझ ५ बजेदेखि ६ बजेसम्म भेटवार्ता गरेको थियो । उक्त भेटघाटमा भएको छलफल राष्ट्रपति कार्यालयले सार्वजनिक गरेको छैन । यो भेटवार्ता लगत्तै बालुवाटार पुगेर प्रधानमन्त्री ओलीसँग सिष्टाचार भेटवार्ता भएको थियो । प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले सिष्टाचार भेट भएको स्विकार गर्दै भेटघाटको विषयवस्तुबारे भने जानकारी दिएका छैनन ।

टोलीले आज पनि राजनीतिक भेटलाई जारी राखेको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रचण्ड निवास खुमलटार पुगेर चिनिया टोलीले भेट गरेको छ । भेटमा नेकपाको विभाजन, संसद विघटन लगायतका समसामयिक विषयमा कुराकानी भएको बताइएको छ । नेकपा प्रचण्ड नेपाल समूहका अर्का अध्यक्ष माधवकुमार नेपालसँगै जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई लगायतलाई भेट्ने कार्यक्रम छ । विपक्षी दलका केही नेतासँग पनि भेटघाट गर्ने भनिए पनि हालसम्म सार्वजनिक गरिएको छैन ।

छापामार शैलिमा चिनियाँ नेताको भ्रमण
विमानस्थलहुँदै विदेशी पाउनाको हरेक भ्रमणमा बाक्लो रुपमा सुरक्षाकर्मीको परिचालन हुनेगरेको अभ्यास भएपनि अहिलेको चिनियाँ नेताहरुको भ्रमणमा त्यस्तो देखिएन । चिनियाँ पाहुना येचौलाई सुरक्षा थ्रेटको आँकलन भएपनि उनले भ्रमण र भेटघाटलाई गोप्य राख्ने उद्देश्यले सुरक्षाकर्मी राखेनन । दूतावासमै रहेका सहचरीलगायतबाट सुरक्षा लिएको पाइएको छ । प्रधानमन्त्री ओलीले संसद विघटनको निर्णय लिएलगत्तै नेकपा ओली र प्रचण्ड–माधव नेपाल समूहमा विभाजित भएपछि चिनियाँ अधिकारीहरुले असन्तुष्टि व्यक्त गर्दै आएका छन् ।

नेकपाभित्र विवाद चर्केको र संसद विघटन भएको अवस्थामा चिनियाँ पक्षको उच्चस्तरीय भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ । चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग उपमन्त्री गुओ येझोउको नेतृत्वको चार सदस्यीय टोली अहिले अकस्मात राजनीतिक भ्रमणमा नेपालमा आएको छ । नेकपा नेताहरुले भने चिनियाँ कम्युनिस्ट पार्टीका नेताको यो भ्रमण सरकारी स्तरको नभएर पार्टीस्तरको राजनीतिक भ्रमण भएको दाबी गरेका छन् । दुई साताअघि भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवाले काठमाडौं आएजस्तै चिनियाँ नेता येचौ पनि सरकारी स्तरको भ्रमणमा नभएर पार्टीगत भेटघाटका लागि मात्र आएको बताइएको छ ।

नेकपाभित्र खटपट हुँदा यसअघि चिनियाँ राजदूत होउ यान्छी सक्रिय भएकी थिइन् । उनले राष्ट्रपति भण्डारी, पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा माधव नेपालसँग भेट गरेकी छन् । स्थायी कमिटी सदस्य कृष्णबहादुर महरा, वर्षमान पुन लगायतलाई भेट गरेर पछिल्लो घटनाक्रमबारे चासो व्यक्त गरेकी थिइन् । त्यसक्रममा उनले चीनले नेकपा एकजुट भएको हेर्न चाहेको सन्देष प्रवाह गरेकी थिइन् । चीनले औपचारिकरुपमा भने नेकपा विवादबारे कुनै प्रतिक्रिया दिएको छैन ।राजदूत यान्छीको दौडधुप तीब्र भएकैबेला चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरु काठमाडौं आएर भेटघाटमा व्यस्त हुनु सबैका लागि चासोको विषय बनेको छ ।

अझ, ०७४ फागुनमा येचौ नेपाल आएको तीन महिनापछि तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण भएको थियो । यसलाई संयोग नै मान्नुपर्छ, पार्टी एकीकरणअघि नेपाल आएका उनै विदेशी पाहुना अहिले पार्टी फुटेपछि फेरि नेपाल आएका छन् । नेकपाको पार्टी विवादसँग जोडेर हेरिएको यो भ्रमणले नेकपा तथा नेपालको राजनीतिमा कस्तो प्रभाव पार्छ त्यो पनि प्रतिक्षाको विषय बनेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ