Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsसंसद विघटनविरुद्ध प्रचण्ड नेपाल समूहको शक्ति प्रदर्शन, सच्चिएला त प्रतिगमन ?

संसद विघटनविरुद्ध प्रचण्ड नेपाल समूहको शक्ति प्रदर्शन, सच्चिएला त प्रतिगमन ?


पुण्यप्रसाद धमला ,काठमाडौं । नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनविरुद्ध नेपाल कम्युनिस्ष्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहले मंगलबार देशभर विरोध प्रदर्शन गरेको छ । बागमति प्रदेशको काठमाडौं उपत्यकामा र अन्य सबै जिल्ला तहमा विरोध प्रदर्शन भएको छ । केन्द्रीय संघर्ष समितिका सहसंयोजक योगेश भट्टराईले प्रदर्शनमा जनसहभागिता उत्साहजनक देखिएको जानकारीसहित केही दिनमै थप कार्यक्रम घोषणा हुने जानकारी दिनुभएको छ ।

सबै जिल्लामा बिरोध प्रदर्शन भैरहँदा काठमाडौंमा केन्द्रित गरिएको बागमती प्रदेश स्तरीय प्रदर्शन राजधानीका विभिन्न स्थानबाट शुरु भएको र्याली प्रदर्शनीमार्ग पुगेर विरोधसभामा परिणत भएको थियो । सभालाई शीर्षनेताहरु पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल र झलनाथ खनाल र बागमती प्रदेश संयोजक अष्टलक्ष्मी शाक्यले सम्बोधन गरे । सम्बोधनका क्रममा नेताहरुले असंवैधानिक र अराजनीतिक ढंगबाट गरिएको संसद विघटनको निर्णय स्वीकार्य नहुने बताए । सँगै, नेताहरुले बैशाखसम्मै संघर्षका कार्यक्रम जारी रहने जानकारी सहित केपी ओलीले पार्टी र जनतामाथी गद्दारी गरेर पतनको बाटो रोझेको आरोप लगाए । केपी शर्मा ओलीलाई गैरकम्युनिष्ट र तानाशाहीकै संज्ञा दिएका नेताहरुले संसद विघटन गर्ने कदमप्रति ओलीले गम्भीर माफी माग्दै सच्चिन तयार भए फेरि पनि मिल्न राजी हुने प्रष्ट पारेका थिए । विशेषगरी प्रचण्ड र माधव नेपालले ओलीले माफी मागे सबै कुरा बिर्सन तयार हुने बताएका थिए ।

शिर्ष नेताले के–के भने ?

प्रचण्डको आक्रोस – जबजम्म केपी ओलीले पश्चात गर्ने छैनन्, आफैंले बनाएको संविधानको बलात्कार गरेँ, म अपराधी हुँ भन्ने छैनन्, तबसम्म इतिहासले माफी दिने छैन, नेपाली जनताले क्षमा दिने छैनन् । माफी मागेर सच्चिए अझपनि ओलीसँग मिल्न तयार, वैशाखपछि केपी ओली प्रधानमन्त्री रहँदैनन् । गणतन्त्रवादी आन्दोलनको पक्षमा नभएका ओलीको बयलगाढाको सिद्धान्त स्मरण गराएका प्रचण्डले गणतन्त्र, संघीयता र धर्म निरपेक्षता विरोधीले सच्चिए भन्दैमा विश्वास गरेर प्रधानमन्त्री बनाउन पुगेकोमा जनतासँग माफी नै मागे । संसद विघटन गर्ने प्रतिगामी कदम जनताले सडकबाटै सच्याउने अवस्थामा आउँदा ओली सकिने प्रचण्डको चेतावनी थियो ।

माधव नेपालले भने –केपी ओली गणतन्त्र र धर्म निरपेक्षताविरोधी भए, अझपनि कम्युनिस्ट शैली, प्रवृत्ति र आचरणमा आएर केपी ओलीलाई सच्चिने अन्तिम मौका छ । तत्कालीन राजा ज्ञानेन्द्रले मलाई बोलाएर भन्नुहुन्थ्यो, गिरिजाप्रसाद विदेशी दलाल हो, यसले त देश नै खाने भयो, नेपाली कांग्रेस काम नै लाग्दैन । म त्यहाँबाट हिँडेपछि गिरिजाबाबुलाई बोलाएर भन्नुहुन्थ्यो, कम्युनिस्टहरु तानाशाहहरु हुन्, नेपालमा यसको नामेट गर्नुपर्छ ।’ हो ओलीको शैली यस्तै द्धेद चरित्रको रहेछ । केपी ओलीलाई सुधार्न भनेर कोहीकोही कमरेडहरु प्रयास गरिरहनु भएको छ । त्यो प्रयास जारी राख्नुहोस् । बालुवाटारको बालुवा पेल्दापेल्दा तेल निस्कन्छ कि ! तेल निकाल्न सक्नुहुन्छ भने म स्याब्बास भन्छु ।’

झलनाथ खनालले जे भने – जनताले भरोसा गरेका र पार्टीले विश्वास गरेका ओली पार्टीलाई सत्तामा पुग्ने भर्याङ बनाएर तानाशाह बने, बालुवाटार पुगेको दिनदेखि पार्टी बिर्सनु भो, पार्टीको नीति बिर्सनुभयो, यो तीन वर्षमा मरिचमान सिंहले गरेजति पनि गरेनन् । नगेन्द्रप्रसाद रिजालले जति पनि काम गरेनन् । खोइ पानी जहाज ? खोइ घरघरमा ग्यास पाइप ?

नेताहरुले यो आन्दोलनलाई टेलर मात्रै भएको बताएका छन् । आगामी आन्दोलन झनै सशक्त हुने घोषणा गरेका नेताहरुले बैशाखमा चुनाव हुने भ्रममा परेर प्रतिगमनको सहयोगी नबन्न नेपाली कांग्रेसका नेताहरुको ध्यानाकर्षण गराएका थिए । नेताहरुले निर्वाचन आयोग र सर्वोच्च अदालतलाई पनि आफू वैधानिक नेकपा भएको सन्देश दिए । जिल्ला जिल्लामा पुगेर भीम रावल, वर्षमान पुन लगायतका नेताहरुले सत्ता र पदका लागि नभई ओलीको प्रतिगमन बिरुद्ध आन्दोलित हुनुपरेको नेता कार्यकर्तालाई शन्देष दिएका थिए ।

प्रधानमन्त्री ओलीको सिफारिसमा पुस ५ मा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेपछि यसको पुनस्थापना र निर्वाचन आयोगलाई आफूहरु नै नेकपा भएको देखाउँदै पार्टी निर्माण उद्देश्यले नेकपाले चरणवद्ध भेला, बैठक र प्रदर्शन गरिरहेको छ । नेपाली कांग्रेस, जनता समाजवादी पार्टी लगायतका दल, विभिन्न अधिकारकर्मी, पेशाकर्मी लगायतले समेत दिनहु प्रधानमन्त्री ओलीले संबिधानमाथी कु गरेको भन्दै बिरोध जारी राखेका छन् । दोस्रो चरणको विरोधसभालाई सर्वदलीय बनाउने योजनासहित प्रचण्ड–नेपाल समूह अघि बढेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ