Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsयमनमा प्रधानमन्त्री र मन्त्रि लक्षित विस्फोट, २२ जनाको मृत्यु (भिडियोसहित)

यमनमा प्रधानमन्त्री र मन्त्रि लक्षित विस्फोट, २२ जनाको मृत्यु (भिडियोसहित)


एजेन्सी । यमनको एडन विमानस्थलमा प्रधानमन्त्री र मन्त्रिपरिषद सदस्यहरूलाई लक्षित गरी भएको आक्रमणमा परेर कम्तीमा २२ जनाको मृत्यु भएको छ । आक्रमणमा ५० भन्दा बढी घाइते भएको जनाइएको छ । द्वन्द्वग्रस्त यमनका नवनियुक्त मन्त्रीहरू सवार विमान अरेबियाबाट आएर अवतरण गरेको केहीबेरमै विस्फोट भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

सहायतामा जुटेकाहरू पनि अन्धाधुन्ध चलाइएको गोलीबाट हताहत भएको जनाइएको छ । प्रधानमन्त्री मीन अब्दुल मलिकले आफू र मन्त्रिपरिषद् सदस्यहरू ‘सकुशल’ रहेको बताएका छन् ।

यमनको समाचार पोर्टल अल–मस्दरका अनुसार श्रम मन्त्रालयका उपसचिव मारिएको र दुई जना उपमन्त्री घाइते भएका छन् । सूचना मन्त्रीले हुथी विद्रोहीहरूले ‘कायरतापूर्ण आतङ्कवादी कार्य’ गरेको आरोप लगाएका छन् । बीबीसीको एउटा भिडिओ फुटेजमा यात्रीहरू उत्रिँदै गरेका बेला ठूलो विस्फोट भएको देख्न सकिन्छ । मन्त्रीहरूको स्वागतका लागि पुगेकाहरुबीच नै एयरपोर्ट टर्मिनलबाट बाक्लो धुवाँ निस्किएपछि भागाभाग मच्चिएको थियो ।

हेरौँ बीबीसीको भिडियो

कम्तीमा दुई वटा विस्फोट भएको र त्यसको केही बेरमै बन्दुक प्रहारको आवाज सुनिएको जनाइएको छ । साउदी अरेबियाले नेतृत्व गरेको अरब राष्ट्रहरूको समूहले हुथी विद्रोहीहरूलाई परास्त गर्न र राष्ट्रपति अब्दराबा मन्सुर हादीको शासन स्थापित गर्न सैन्य कारबाही सुरु गरेसँगै यमनमा आक्रमणका घटना बढ्न थालेका छन् । सन् २०१५ देखि द्वन्द्वको चपेटामा परेको यमनमा अहिलेसम्म १ लाख १० हजार भन्दा बढीले ज्यान गुमाइसकेका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ