Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsविदेशका नेपालीलाई ठूलो राहत, अनलाइनबाटै यसरी लिनुहोस् पुनः श्रम स्वीकृति

विदेशका नेपालीलाई ठूलो राहत, अनलाइनबाटै यसरी लिनुहोस् पुनः श्रम स्वीकृति


काठमाडौं । वैदेशिक रोजगार विभागले शुक्रबारदेखि अनलाइन माध्यमबाट पुनः श्रम स्वीकृति दिन सुरु गरेको छ । योसँगै श्रम स्वीकृति लिनका लागि श्रम कार्यालय जानै पर्ने बाध्यताबाट सेवाग्राहीलाई मुक्ति पाउने भएका छन् । शुक्रबार पहिलो दिन भएका कारण अनलाइन माध्यमबाट पुनः श्रम स्वीकृति लिनेको चाप निक्कै कम देखिएको विभागले जानकारी दिएको छ । अब पुनः श्रम स्वीकृति लिन चाहने व्यक्तिले म्यादी जीवन बिमा र कल्याणकारी कोषको रकम भुक्तानी गरी भौतिक उपस्थिति बिनै अनलाइनमार्फत आवेदन दिन सक्नेछन् ।

यसरी लिनुहोस पुनः श्रम स्वीकृति

अनलाइनबाट पुनः श्रम स्वीकृति लिनुअघि ७ थरी कागजात आवश्यक पर्छ । विवरण भर्दा आफूले प्रयोग गर्ने इमेल ठेगाना र मोवाइल नम्बर पनि आफ्नै भर्नुपर्छ । किनकी त्यहाँ श्रमका आवश्यक सूचना प्राप्त हुनेछन् ।

यी कागजात आवश्यक पर्छन

१. पासपोर्ट साइजको फोटोको स्क्यान कपी
२. राहदानीको पेज २, ३ र ३१ को स्क्यान कपी
३. भिसाको स्क्यान कपी
४. पुरानो भिसा भए सो राहदानी र हालको भिसा दुबैको स्क्यान कपी ।
५. अध्यागमन कार्यालयले राहदानीमा लगाएको डिपार्चर र अराइभल स्टाम्प भएको राहदानीको पानाको स्क्यान कपी ।
६. यसअघि श्रम स्वीकृति पाएको भन्दा फरक रोजगारदाताकोमा काम गर्न जाने कामदारको लागि रोजगारदाताले उपलब्ध गराएको जब अफर लेटर वा सम्झौता पत्रको स्क्यान कपी ।
७. रोजगारदाता मुलकस्थित नेपाली दूतावास वा नियोगको प्रमाणीकरण पत्र आवश्यक पर्ने भनि तोकिएको अवस्थामा सोको स्क्यान कपी र अन्य कुनै प्रमाण कागजातहरु भए ती सबै स्क्यान गरेर तयारी अवस्थामा राख्नु पर्नेछ ।

यसरी भरौँ अनलाइन फारम

पहिलो चरण
सुरुमा www.dofe.gov.np मा गई अनलाइन श्रम स्वीकृतिमा क्लिक गर्नुहोस् । अथवा तपाईले सिधै feims.dofe.gov.np/ मार्फत खोल्न सक्नु हुनेछ । तपाईले यसअघि श्रम स्वीकृति लिनु भएको भए पासवर्ड तपाईसँगै सुरक्षित हुनेछ । तपाईले सो युजरनेम र पासवर्ड प्रयोग गरेर साइन इन गरेपछि अर्को पटक श्रम स्वीकृति लिन, श्रम स्वीकृतिको अवस्था थाहा पाउन, वैदेशिक रोजगार विभागमा कुनै उजुरी वा गुनासो गर्न र वैदेशिक रोजगारसम्बन्धी विवरणहरु हेर्न सक्नुहुनेछ ।

दोश्रो चरण

पहिलो चरणका सबै प्रक्रियाहरु पूरा गरेपछि तपाईंको व्यक्तिगत विवरण सहितको प्रोफाइल खुल्नेछ । प्रोफाइल पेजमा रहेको तपाईको व्यक्तिगत विवरण अद्यावधिक गर्नुपर्ने भएमा प्रोफाइल मेनुमा क्लिक गरेपछि देखा पर्ने इडिट अप्सन मार्फत अद्यावधि गर्न सक्नु हुनेछ ।

प्रोफाइल पेजमा स्टार चिह्न भएकाहरु सबै अनिवार्य भर्नुपर्ने हुन्छ । यसअघि पुरानो पासपोर्टबाट श्रम स्वीकृति पाएको तर अहिले नयाँ पासपोर्टबाट श्रम स्वीकृति लिनुपर्ने भएमा न्यू पासपोर्ट इन्फोमा गएर नयाँ पासपोर्टको विवरण सहित सो पासपोर्टको २, ३ र ३१ पेजको स्क्यान कपी अपलोड गर्नुपर्छ । त्यसपछि सवमिट बटनमा थिचेर सेभ गर्नुपर्नेछ । तपाईले भरेको विवरण ठीक छ कि छैन यकिन गरी सच्याउनु पर्ने भएमा प्रोफाइल मेनुको इडिट बटनमा क्लिक गरी सच्याउन सक्नुहुनेछ । अर्को प्रक्रिया सुरु भइसकेपछि भने सच्याउन सम्भव हुन्न ।

तेश्रो चरण
पुनः श्रम स्वीकृति माग गर्न रिइन्ट्री मेनुमा भएको इम्प्लोइमेन्ट डिटेल्समा क्लिक गर्ने र यसो गर्दा देखिएको एड न्यू बटनमा क्लिक गरी माग गरिएका कागजातहरुको स्क्यान कपी सहित फरम भरेर अपलोडसँगै सबमिट गर्नुपर्नेछ ।

चौथो चरण
स्वीकृति प्राप्त बिमा कम्पनीमा गई बिमा गर्नुपर्ने हुन्छ । अनलाइनमा अपलोड भएको वा नभएको यकिन गर्नुपर्ने हुन्छ ।

वैदेशिक रोजगार प्रवद्र्धन बोर्डबाट वैदेशिक रोजगार कल्याणकारी कोषको रकम जम्मा गर्न अनुमति पाएको कुनै बैंकमा गएर कल्याणकारी कोषको खातामा २ वर्षदेखि ३ वर्ष अवधि भए १ हजार ५ सय रुपैयाँ र ३ वर्ष भन्दा बढी समय भए २ हजार ५ सय रुपैयाँ रकम जम्मा गर्नुपर्छ । बैंकले रकम जम्मा भएको विवरण अनलाइनबाटै पठाउँने छ । बिमा गर्न र कल्याणकारी कोषको रकम जम्मा गर्न मान्यता प्राप्त भुक्तानी सेवा प्रदायक संस्थाबाट समेत गर्न सकिनेछ ।

पाँचौँ चरण

रि–इन्ट्रि मेनुमा भएको इन्डिभ्यूजअल रि–इन्ट्री रिक्वेस्टमा क्लिक गरी इन्स्योरेन्स र क्यास डिपोजिटमा ठीक चिह्न लागेको भएमा दाहिने कुनामा भएको एक्सन आइकन क्लिक गरी रिक्वेस्ट बटनमा क्लिक गर्नुपर्छ । यसपछि आउने उपलब्ध शाखा र सो शाखाले उपलब्ध गराएको दिनको टोकन मिति रुजु गरौँ । हालका लागि अनलाइन श्रम स्वीकृतिका लागि अनलाइन ब्रान्च छान्न सक्नुहुनेछ ।

माथिका सबै स्टेपहरु पूरा भएपछि अनलाइनमार्फत श्रम स्वीकृतिका लागि तपाईको आवेदन पेश हुन्छ । श्रम स्वीकृतिको निस्सा प्रिन्ट गर्न आवश्यक भएकामा प्रिन्ट कपि समेत लिन, सेभ गर्न सक्नुहुनेछ । विभागले पहिले आएको आवेदनलाई पहिलो नम्बरमा स्वतः मिलेर बस्ने व्यवस्था मिलाएको जनाएको छ । स्वीकृति प्रदान भएपछि वा कुनै कारणले आवेदन अस्वीकृत गर्नुपर्ने भएमा कारण सहित फारम भर्दा उल्लेख गरेको मोवाइल वा इमेलमा सूचना प्राप्त हुनेछ ।

अहिले पुनः श्रम स्वीकृतिमात्रै अनलाइनबाट लिन सकिने व्यवस्था शुरु गरेको विभागले आगामी माघ १ देखि सबै प्रकारका श्रम स्वीकृति अनलाइनबाटै लिन सकिने दाबी गरेको छ । विभागका महानिर्देशक कुमार दाहालले यो सेवा लागू भएसँगै पुनः श्रम स्वीकृति लिनका लागि विभागको कार्यालय धाउनुपर्ने बाध्यता अन्त्य हुने जानकारी दिए । एकपटक विभागबाट आईडी लिएका, फिङ्गर प्रिन्ट गराएका, बायोमेट्रिक लिइसकेका व्यक्तिहरुलाई पुरानै विवरणको आधारमा श्रम स्वीकृति दिने व्यवस्था मिलाइएपछि अनलाइनबाटै आवेदन दिएर निःशुल्क सेवा लिन सकिने व्यवस्था गरिएको दहालको दाबी छ ।

नयाँ श्रम स्वीकृतिका लागि विभागले मेनपावर, मेडिकल र ओरेन्टेशन संस्थाहरुबाट बायोमेट्रिक विवरण तानेर अनलाइनबाट श्रम स्वीकृति दिने व्यवस्था गर्ने विषयमा छलफल गरिरहेको बताइएको छ । अनलाइनबाट पुनः श्रम स्वीकृति लिने व्यवस्था शुरु भएसँगै अब विदेशमा बसेका नेपालीहरुलाई श्रम स्वीकृति लिन नेपाल आउनुपर्ने बाध्यता हट्ने विश्वास गरिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ