Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsहिमपात जारी रहँदा हुम्लाको तापक्रम माइनस ८ डिग्री, जनजीवन कष्टकर

हिमपात जारी रहँदा हुम्लाको तापक्रम माइनस ८ डिग्री, जनजीवन कष्टकर


हुम्ला, काठमाडौ । हिमपातसँगै बढेको चिसोका कारण हुम्लाको जनजीवन कष्टकर बन्दै गएको छ । हुम्ला उच्च हिमाली जिल्ला भएकाले भारी हिमपातपछि सदरमुकाम सिमकोटसहित उत्तरी नाम्खा गाउँपालिका क्षेत्रमा अत्यधिक चिसो बढेसँगै जनजीवन बष्टकर बनेको हो ।

आइतबार अपराह्नदेखि सिमकोटलगायत जिल्लाका उच्च क्षेत्रमा हिमपात भएको र बेँसीमा वर्षा भएसँगै चिसोले जनजीवन कष्टकर बनेको स्थानीयले जानकारी दिएका छन् । हिउँदयाम शुरु भएसँगै हुम्लाका सबै क्षेत्रमा अत्यधिक चिसो हुने गर्छ । अत्यधिक चिसो र हिमपात भएपछि यहाँका नागरिक चिसो छल्न आगो ताप्ने गर्छन् भने केही बस्ती बेसी झर्ने गरेका छन् । अहिले हुम्लाको तापक्रम माइनस ८ डिग्री सेन्टिग्रेडमा झरेको छ । सडकमा हिउँ जमेपछि सिमकोट आसपास चल्ने आन्तरिक यातायात अवरुद्ध भएका छन् । समुद्री सतहदेखि करिब एक हजार मिटर उचाइसम्म हिमपात भएपछि हुम्लासँगै आसपासका जिल्लामा समेत चिसो अत्यधिक बढेको छ ।

चिसो बढ्दै गएपछि सदरमुकाम सिमकोट बजारमा बसोबास गर्दै आएका व्यापारी, गाउँघरका सर्वसाधारणहरु बिहानैदेखी आगो तापेर बस्न थालेका छन् ।  चिसोले सरकारी तथा गैरसरकारी सङ्घसंस्थाको सेवा समेत प्रभावित भएको छ । कर्मचारीहरूले हिटर तापेर काम गरिरहेका छन् । चिसो बढेसँगै दैनिकरूपमा कार्य गर्दै आइरहेका काम पनि ठप्प भएका छन् । स्थानीय कमल भण्डारीले चिसोले गाई बाख्रा मेलापातमा पनि समस्या भएको बताएका छन् । सदरमुकाम सिमकोट आसपासका क्षेत्र बाक्लो हिउँले ढाकिएको छ।

स्थानीयवासीलाई आऊजाऊ गर्नै समस्या भएको छ। उत्तरी हुम्लाका प्राय बस्तीका बासिन्दाले यसअघि नै गाउँ छोडिसकेका छन । हिमपात भएपछि सदरमुकाम सिमकोट वरिपरिका रुख र जमिन सेताम्मे बनेका छन्। आज बिहानदेखि भने सिमकोटमा चिसोसँगै हावाहुरी चलिरहेको छ । बाक्लो बादलसँगै अझै हिमपात निरन्तरता पाउने आँकलन गरिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ