Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsअमेरिकी संसदमा दुई शताब्दीपछि हमला, विश्वभरबाट निन्दा

अमेरिकी संसदमा दुई शताब्दीपछि हमला, विश्वभरबाट निन्दा


काठमाडौं । अमेरिकी संसद् भवनमा दुई शताब्दीपछि पहिलो पटक हमला भएको छ । यो हमला कुनै फौज वा बाह्य शक्तिबाट नभई राष्ट्रपति डोनाल्ड ट्रम्पकै समर्थकबाट भएको हो ।

नोभेम्बर ३ मा भएको राष्ट्रपति निर्वाचनमा डेमोक्र्याटिक पार्टीका उम्मेदवार जो बाइडेन नभइ ट्रम्प नै विजयी भएको घोषणा हुनुपर्ने मागसहित उनका समर्थक संसद भवनमा हुलदुंगा गर्न पुग्दा भएको बुधबार र बिहिबारको झडपका क्रममा चार जनाको मृत्यु भएको छ । यो हमला सन् १८१२ को युद्धपछिको पहिलो भएको यूएस क्यापिटल हिस्टोरिकल सोसाइटी एक्सपर्टलाई उद्धृत गर्दै विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । सन् १८१४ मा ब्रिटिश फौजले डिसीलाई अतिक्रमण गरेर निर्माणाधीन भवनमा आगो लगाइदिएको थियो ।

सिंगो अमेरिकीलाई लज्जित बनाउने घटना
पछिल्लो हिंसात्मक घटनापछि अमेरिका पूर्वराष्ट्रपतिहरूले चुनावमा पराजय हुन नचाहेका ट्रम्प र उनका समर्थकले गरेका कामले अमेरिकालाई लज्जित बनाएको प्रतिक्रिया दिएका छन् । इतिहासले आजको घटनालाई विधिवत् चुनावको नतिजाबारे बारम्बार आधारहीन झुटो बोल्ने बहालवाला राष्ट्रपतिले उक्साएको घटनाका रूपमा सम्झनेछन्– पूर्व राष्ट्रपति बाराक ओबामाले भनेका छन् ।

यो देशको लागि ठूलो अनादर भएको र देशवासी समेत लज्जित भएको यो दिन इतिहासले सम्झिने ओबामाले दाबी गरेका छन् । पूर्वराष्ट्रपति विल क्लिन्टनले अमेरिकी संसदमा बुधबार भएको हमला जबरजस्ती फैलाइएको गलत सूचनाको उपज भएको प्रतिक्रिया दिएका छन् । उनले गलत सूचना फैलाएर गरिएको चार वर्षको विषाक्त राजनीतिलाई सुधार्नुपर्ने बताएका छन् । पूर्वराष्ट्रपति जर्ज डब्ल्यु बुस समेत चुनावी नतिजाको यस्तो विवाद अस्थिर राजनीतिमा मात्र हुने दाबी गरिरहेका छन् ।

विश्वभरबाट घटनाको निन्दा
अमेरिकी संसद्‌मा भएको घटनाको विश्वभरबाटै निन्दा गरिएको छ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसले प्रजातान्त्रिक प्रक्रियाको सम्मान गर्न आन्दोलनरत पक्षलाई आग्रह गरेका छन्। फ्रेन्च राष्ट्रपति एमानुअल माँक्रोले उक्त हमलालाई अमेरिकी चरित्रसँग अमिल्दो भनेका छन् । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले घटनालाई लज्जाजनक दृश्य भन्दै शान्तिपूर्ण र व्यवस्थित तरिकाले शक्ति हस्तान्तरण गर्न आग्रह गरेका छन्।

युरोपेली सङ्घका विदेश मामिला प्रमुख जोसेफ बोरेलले विश्वको नजरमा अमेरिकी लोकतन्त्र घेराबन्दीमा परेको टिप्पणी गरेका छन् भने आयरल्यान्डका विदेशमन्त्री साइमन कोभेनीले उक्त घटनालाई पदमा रहेका राष्ट्रपति र उनका समर्थकद्वारा जानीबुझीक नै गरिएको लोकतन्त्रमाथिको हमला भनेका छन् । क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले घटनालाई ‘प्रजातन्त्रमाथिको हमला’ भनेका छन् ।

ट्रम्पको जिम्मेवारी खोसिने चर्चा
संसदमा भएको हमलासँगै ट्रम्पलाई जनवरी २० मा सत्ता हस्तान्तरण गर्नु अगावै हटाउने चर्चा चुलिएको छ । ट्रम्पकै मन्त्रिपरिषद्ले संविधानको २५औँ संशोधनलाई ब्युँताउन सक्ने चर्चा पनि गरिदैछ । राष्ट्रपतिले आफ्ना जिम्मेवारी वहन गर्न नसकेको अवस्थामा उनको जिम्मेवारी अन्तै सारेर उनलाई जिम्मेवारीविहिन बनाउन सक्ने व्यवस्था भएकै आधारमा यस्तो गर्न बहुमत मन्त्रीहरू र उपराष्ट्रपति माइक पेन्सले संसद्का नेताहरूलाई पत्र लेखेर ट्रम्प अक्षम रहेको घोषणा गर्नुपर्नेेहुन्छ । यस्तो अवस्थामा उपराष्ट्रपतिलाई कार्यवाहक राष्ट्रपति बनाउन सक्ने प्रावधान रहेको छ । यस्तो व्यवस्था अमेरिकामा सन् १९६७ यता ब्युँताइएको छैन । निक्कै कम समय मात्रै ट्रम्प सत्तामा बस्ने भएकाले पनि यो हतारो नहुने कतिपयको आँकलन छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ