Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsकाठमाडौंमा वायु प्रदुषण रोक्ने बहसः एउटा घरमा दुई वटा बिरुवा कि ५ वटा गमला ?

काठमाडौंमा वायु प्रदुषण रोक्ने बहसः एउटा घरमा दुई वटा बिरुवा कि ५ वटा गमला ?


काठमाडौं । तीन दिनअघि काठमाडौंमा प्रदूषणले आपकालको तह पार गरेर विश्वकै वायु प्रदूषणको एक नम्बर शहरको उपमा पायो । हरियाली तथा बोटबिरुवा मासेर कंक्रिटको जंगल भइसकेको काठमाडौं शहरभित्र अहिले बोट विरुवा बिरलै भेटिन्छन । अहिले विज्ञहरुहरियाली मासेकै कारण वातावरणीय प्रदूषण उच्च भएको निष्कर्षमा पुगेका छन् ।

घरै–घरले भरिएको काठमाडौं महानगरपालिकाभित्र त झन बोट–विरुवा भेट्नु पछिल्लो समय निक्कै गाह्रो पर्न थालेको छ । हुन त, काठमाडौं महानगरपालिकाले बोट विरुवा प्रवर्द्धनको लागि स्पष्ट नीति नै बनाएको छ, एउटा घरमा दुई वटा रुख नभएमा वा नरोपेमा भवन निर्माण सम्पन्नको प्रमाणपत्र नदिने । तर, नीति कार्यान्वयन गर्न काठमाडौं महानगरपालिका जिम्मेवार ढंगले लागेको देखिदैन । नियमअनुसार एक घरमा दुई वटा विरुवा नभई भवन निर्माण सम्पन्न भएको प्रमाणपत्र नपाइने भएपनि बाध्यकारी भने छैन । काठमाडौंमा २ पैसा जग्गामा पनि घर बनाउन अनुमति दिने गरिएकाले २ वटा बोटविरुवा लगाउन नसक्ने भन्दै सजिलो वैकल्पिक व्यवस्था गरिएको छ, दुई वटा विरुवा रोप्न नसक्ने घरधनीले ५ वटा गमलामा विरुवा रोपेको भए निर्माण सम्पन्नको प्रमाण पत्र पाउने ।

तर यो नियम पनि अधिकांश घरधनीले मानेको देखिदैन । महानगरपालिकाका नक्सा विभागका प्रमुख सुरज शाक्यका काठमाडौंमा जग्गा थोरै मात्रै उपलब्ध रहेकाले सबैले दुईवटा विरुवा रोप्ने अवस्था नरहेको दाबी गर्छन । यहिकारण ५ वटा गमलामा विरुवा रोपेमा नक्सा जाँचपास हुन्छ, निर्माण सम्पन्न भएको प्रमाणपत्र समेत दिनेगरेको शाक्य बताउँछन् । ’सबै घरमा विरुवा रोप्न ठाउँ हुँदैन, तर कोसीमा गमालामा विरुवा रोप्न धेरैजसोलाई सहज नै छ ।’यो नियमलाई भने पुराना घरधनी र नयाँ सबैले पालना गरिदिन शाक्यको आग्रह छ । हुन त, गमलामा कस्ता विरुवा रोप्ने भन्ने महानगरको नियममा प्रष्ट छैन । गमलामा तरकारी र सिजनल फलफूलकै विरुवा रोपेपनि महानगरपालिकाले निर्माण सम्पन्न भएको प्रमाणपत्र दिनेगरेको छ । यस्ता तरकारी सधै नहुने भएकाले पनि काठमाडौंको वातावरण प्रदुषण रोक्न हरियाली वातावरणको अभाव देखिएको छ । रुख नै अनिवार्य गर्दा व्यवहारिक नहुने र कतिपय घरमा जग्गा उपलब्ध भएपछि घाम नलाग्ने भएकाले विरुवा हुर्किन नै सम्भव नहुने अवस्था काठमाडौं उपत्यकामा देखिदैन ।

जमिन उपलब्ध भएसम्म घरधनीले विरुवा रोप्न रुचाउने र जग्गा नै नभएको खण्डमा कौसीमा गमलाको उपयोग भइरहेको तर्क शाक्यले गर्दै आएका छन् । हुन त, काठमाडौं महानगर लगायत उपत्यकाका नगरपालिका समेतले हरियाली प्रवर्धन तथा स्वच्छ वातावरणमा स्थानीयलाई घुलमिल गराउन भन्दै हरियाली पार्कको विकास गरिरहेका छन् । तर बढ्दो आभाष र जनघनत्वका कारण यो अभियान समेत प्रभावकारी बन्न सकेको छैन । जसका कारण काठमाडौं उपत्यका बारम्बार प्रदुषणको जाखिममा पर्दै आएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ