Friday, 5 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsअमेरिकी राष्ट्रपति ट्रम्पमाथी दोश्रो पटक महाअभियोगको मुद्दा

अमेरिकी राष्ट्रपति ट्रम्पमाथी दोश्रो पटक महाअभियोगको मुद्दा


एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि एउटै कार्यकालमा दोस्रोपटक महाअभियोगको मुद्दा दायर भएको छ । सोमबार डेमोक्र्याटिक सांसदहरुले तल्लो सदनमा राष्ट्रपति ट्रम्पमाथी गत साता क्यापिटल हिलमा भएको भयानक हमलाको आधारमा महाअभियोगको मुद्दा दायर गरेका हुन् ।

यो प्रस्तावमाथि यही साताको अन्त्यतिर मतदान हुने जनाइएको छ । जनवरी २० मा नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले सत्ता लिनु ९ दिनअघि ट्रम्पमाथि महाअभियोगको प्रस्ताव दर्ता भएको छ । महाअभियोग प्रस्तावमा ट्रम्पको लगातारको चुनाव जितेको दाबी र गत जनवरी ६ को भिडमा गरेको भाषणको सन्दर्भ उल्लेख गरिएको छ । यसमा ट्रम्पले जर्जियाका मन्त्रीलाई आफूलाई जित्न पर्याप्त मत व्यवस्था गर्न गरेको फोन कल र अमेरिकी कंग्रेसमा भएको हमलाबारे पनि उल्लेख गरिएको छ ।

डेमोक्रयाटिकका सांसदहरुले यसअघि नै ट्रम्पले राजीनामा नदिए उनीमाथि महाभियोग लगाउने चेतावनी दिए पनि ट्रम्पले भने आफ्ना समर्थकहरुमाझ नियमित रुपमा उत्तेजित र विवादित अभिव्यक्ति दिँदैआएका थिए । डेमोक्र्याट्सहरुले ट्रम्पलाई सत्ताबाटै बर्खास्त गर्ने गरी संशोधनका लागि उपराष्ट्रपति माइक पेन्ससँग आग्रह गरे पनि रिपब्लिकनहरुले यसलाई अस्वीकार गरेपछि रोकिएको थियो ।

राष्ट्रपतिको चुनावको तयारी हुँदैगर्दा डिसेम्बर १७ मा समेत राष्ट्रपति ट्रम्पले महाअभियोग सामना गर्नुपरेको थियो । तल्लो सदनमा ट्रम्पमाथि महाअभियोग लगाउने प्रस्तावको पक्षमा २२९ मत परेर पारित भएपनि शक्ति दुरुपयोगको आरोपसहित लगाइएको महाअभियोग सिनेटको दुई तिहाई बहुमतले पारित गराउनुपूर्व नै टरेको थियो । एउटै कार्यकालमा दोस्रोपटक महाअभियोगको मुद्दा व्यहोर्ने राष्ट्रपति ट्रम्प अमेरिकाको इतिहासकै पहिलो व्यक्ति बनेका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ