Friday, 5 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsके टू हिमालको शिखरमा नेपाली टोली : हिउँदमा आरोहणको कीर्तिमान

के टू हिमालको शिखरमा नेपाली टोली : हिउँदमा आरोहणको कीर्तिमान


काठमाण्डौं । १० जना नेपाली आरोहीहरुको समूहले किर्तिमान कायम गर्दै पाकिस्तानमा रहेको के टू हिमालको सफल आरोहण गरेको छ । अत्यन्तै खतरनाक मानिने के टू हिमालमा हिउँदयाममा अहिलेसम्म कोही पनि आरोही पुगेका छैनन् । सबैभन्दा कम समयमा विश्वका १४ वटै हिमाल आरोहणको रेकर्ड बनाएका आरोही निर्मल पूर्जासहितको टोली शनिबार बेलुकी सवा पाँच बजे शिखरमा पुगेको टोलीमा सहभागी मिङ्मा डेभिड शेर्पाले जानकारी दिएका छन् ।

आठ हजार छ सय ११ मिटर अग्लो के टू हिमाल विश्वकै दोश्रो अग्लो हिमाल हो । जहाँ अहिले माइनस ६२ डिग्री सेल्सियस तापक्रम रहेको र प्रतिघण्टा एक सय किलोमिटरको गतिमा हावा चल्ने गरेको आरोही टिमका शेर्पाले जानकारी दिए । सफल आरोहणपछि आरोही निर्मल पूर्जाले सामाजिक सञ्जाल इन्स्टाग्राममा मानव जातिका लागि इतिहास बनाइयो भन्दै नेपालका लागि इतिहास बन्यो भनेर लेखेका छन् । के टू हिमालको सफल आरोहण गर्नेहरुमा आरोही निर्मल पूर्जासहित मिङ्मा डेबिट शेर्पा, मिङमा तेन्जी शेर्पा, ग्याल्जेन शेर्पा, पेम चिरी शेर्पा, दावा तेम्बा शेर्पा, मिङमा जी, दावा तेन्जिङ शेर्पा, किलु पेम्बा शेर्पा र सोना शेर्पा रहेका छन् । उनीहरु फरक–फरक तीनवटा आरोहण दलबाट शिखरमा पुगेका हुन् । सबै आरोही शनिबार १० बजे चौथो शिविर फर्किएका छन् ।

विगत ३४ वर्षयताको हिउँदयाममा के टू आरोहणका लागि कम्तीमा चारवटा आरोहण दलका दर्जनौं आरोहीले प्रयास गरेपनि हिमालको ७ हजार मिटरभन्दा माथिको उचाइमा पुग्न सकेका थिएनन् । यो सिजनमा के टू हिमाल आरोहण गरेको नेपाली टोलीले विश्व रेकर्ड बनाएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ