
गणेश थापा, अमेरिका । संयुक्त राज्य अमेरिकाको ४६औं राष्ट्रपतिको रूपमा आज सपथग्रहण गरेका जो बाइडेनले आप्रवासी सम्बन्धी नयाँ नीति अख्तियार गर्ने तयारी थालेका छन् । डेमोक्रेटिक पार्टीको तर्फबाट उम्मेदवार बनेर गत नोभेम्वर ३ मा सम्पन्न राष्ट्रपतीय निर्वाचनको प्रतिस्पर्धामा उत्रिदाताका नै आप्रवासी सम्बन्धी नरम नीति लिने संकेत गर्दै आएका बाइडेनले राष्ट्रपतिको कार्यभार सम्हाले लगत्तै संसदमा यस सम्बन्धी प्रस्ताव पेश गर्न लागेका हुन।
अमेरिकाले १ जनवरी २०२१ भन्दा अगाडि प्रवेश गरेका सम्पूर्ण कागजपत्रविहिन आप्रवासीहरूलाई ५ वर्षभित्र ग्रीनकार्ड र ८ वर्षभित्र नागरिकता प्रदान गर्ने सम्बन्धी नयाँ खालको अध्यागमन नीति ल्याउने तयारी गरेको कुरा विभिन्न संचार माध्यमहरूले सार्वजनिक गरेका छन् ।यसबारेको विस्तृत अध्यागमन सम्बन्धी विधेयक नयाँ राष्ट्रपति जो बाइडेनले कंग्रेस (संसद) मा तत्कालै पेश गर्ने तयारी गरेका हुन। यस कार्यक्रमले अमेरिकामा रहेका एक करोड बढी आप्रवासीलाई समेट्ने अनुमान गरिएको छ ।
यो विधेयक पारित भएमा कागजपत्रविहिन हजारौं नेपालीले समेत ग्रीनकार्डहुँदै नागरिकता प्राप्त गर्नेछन् । संसदको दुवै सदनमा राष्ट्रपति बाइडेनको दल डेमोक्रेटिक पार्टीको बहुमत रहेकोले यो विधेयक सहजै पारित हुने प्रवल संभावना रहेको अमेरिकामा रहेका बरिष्ठ कानून व्यावसायी खगेन्द्र जिसीले उल्लेख गरेका छन् ।