Tuesday, 9 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsअष्ट्रेलियाका नेपालीकाे व्यवहारबाट हिस्स परे, विश्व साईकल यात्री पुष्कर शाह

अष्ट्रेलियाका नेपालीकाे व्यवहारबाट हिस्स परे, विश्व साईकल यात्री पुष्कर शाह


सहयाेग घाेषणा कार्यक्रम, सिड्नी तस्बिर- हेमन्त काफ्ले

डिसेम्वर ३  विश्वकाे १ सय ५० देश साईकल चढेर घुमेका पुष्कर शाह नेपालकाे सरकारी संयन्त्र र नेताकाे व्यवहारबाट वाक्कदिक्क  बनेर सहयाेगकाे आशामा गत सेप्टेम्बरमा अष्ट्रेलिया छिरे । 

अष्ट्रेलियामा भाडा माझेकाे तस्विर उनले सामाजिक संजालमा पाेष्ट गरेपछि यहाँकाे नेपाली समाजकाे ध्यान खिच्याे । नेपालीकाे नाम उचाेँ पारेका पुष्करलाई सहयाेगकाे घाेषणा गर्ने नेपालीकाे घुईचाे लाग्याे । तर, घाेषणा गर्ने काम चाहिँ नगर्ने नेपालीकाे पुरानै राेगले अष्ट्रेलियाका नेपाली पनि ग्रस्त छन् । जसका कारण सगरमाथा आराेहि समेत रहेका पुष्कर शाह अष्ट्रेलियामा घर न घाटकाे अवस्थामा पुगेका छन् । नेपाल ट्युब अष्ट्रेलियासंग कुरा गर्दै पुष्कर प्रश्न गर्छन् – भाेकाे मान्छेलाई खान दिन्छु भनेर दिएन भने के हुन्छ ? 

कसरी झुलाईयाे पुष्करलाई ? 

गत  सेप्टेम्बर २७ तारिखमा सिड्नीमा भएकाे गैर आवासिय नेपाली संघ एनआरएनएकाे स्टुडेण्ट टाक्स फाेर्स कार्यक्रममा पुष्करलाई पनि अतिथि बनाईयाे । 

कार्यक्रममा भेला भएका एनआरएनएका पदाधिकारी, अभियन्ता र युवाहरु पुष्करकाे वेदना सुनेर भावुक बने । पुष्करले काठमाडाैमा राेजीराेटीका लागि क्याफे खाेल्ने चाहाना भएपनि आर्थिक अभाव भएकाे दुखेसाे पनि पाेखे ।  

एनआरएनएका निवर्तमान उपाध्यक्ष दिनेश पाेखरेल, काेमलराज पाठक र नेपालकाे विमानस्थल सफा गरेर नाम कमाएका अभियन्ता खेम शर्माले ६० जनाले प्रतिव्यक्ति ५ सयका  दरले ३० हजार डलर उठाएर पुष्करकाे क्याफेमा सहयाेग गर्ने प्रतिवद्धता जनाए । 

एनआरएनएका उपाध्यक्ष नन्द गरुङ, सचिव देव गुरुङ लगायत करिब २० जनाले याे अभियानमा सहयाेग गर्ने प्रतिवद्धता जनाए । 

एनआरएनएका पदाधिकारी र संचारकर्मीकाे अगाडी नाेभेम्बर २४  तारिखमा हुने नेपाल फेष्टिवलमा रकम हस्तान्तरण गरिने घाेषणा भयाे । 

दंग हुदै नेपाल फर्किएका पुष्कर नेपाल फेष्टिवलमा सिड्नी त आए । तर, फेष्टिवलमा त के कार्यक्रम सकिएकाे हप्ताैसम्म पनि सहयाेग रकम नपाएपछि  उनी सिड्नीकाे सडकमा भाैतारिन बाध्य बनेका छन् । 

पैसा उठाउने जिम्मा लिनै मान्दैनन् घाेषणाकर्ता । 

भावनामा बगेर नाम कमाउने लाेभमा हतार हतार सहयाेग गर्न तम्सिने तर, काम गर्नुपरेपछि कुना लुक्ने जमात ठुलै छ अष्ट्रेलियामा । पुष्कर पनि यसैकाे सिकार बन्न पुगे । 

सार्वजनिक कार्यक्रममा पुष्करलाई सहयाेगकाे प्रतिवद्धता गर्नेहरु नै पैसा उठाउने अभियानकाे नेतृत्व लिन  पन्छिरहेका छन् । 

एनआरएन अष्ट्रेलियाका प्रवक्ता दिला खरेलका अनुसार पुष्कर शाह सहयाेग अभियान कार्यन्वयनकाे जिम्मा दिनेश पाेखरेल, काेमल पाठक र खेम शर्मामा लिनुपर्छ । 

उता पाेखरेल भने अभियानकाे अवधारणा काेमल र खेमले ल्याएकाले उनीहरुले नै जिम्मा लिनुपर्ने बताउछन् । तर, अरु कसैले नगरे पनि आफुले भने सहयाेग गर्ने पाेखरेलकाे भनाई छ । 

त्यसाे त, एनआरएनका सक्रिय युवा काेमल पाठक आफुले पैसा दिने प्रतिवद्धता गरेपनि पैसा उठाउने जिम्वेवारी भने लिन नसकिने बताउछन् । 

पुष्कर शाहले क्याफेकाे ठाेस याेजना ल्याए सहयाेग अभियान अघि बढाउन सकिने पाठककाे धारणा छ । 

उता खेम शर्माकाे पनि कुरा उस्तै छ । विजेनेस प्लान आए पैसा उठाउन सजिलाे हुने उनकाे बुझाई छ । शर्माले भने जिज्ञासा राख्ने बितिकै पुष्कर शाहकाे खातामा ५ सय डलर जम्मा गरिदिएका छन् । 

एनआरएनले पनि केही दिएन । 

त्यसाे त एनआरएनए अष्ट्रेलियासँग पनि पुष्करकाे गुनासाे छ । नेपाल फेष्टिभलमा सद्भावना दूत बनेका पुष्कर आफ्नै खर्चमा हवाई टिकट काटेर अष्ट्रेलिया आउनु पर्दा दुखी छन् । फेष्टिभलकै लागि १ लाख २५ हजारकाे टिकट काटेका शाह सिड्नीमा पनि आफ्नै खर्चमा बसिहेकाे बताउछन् । सद्भावना दूत त बनाए पुष्कर भन्छन् यसाे दुख पनि बुझिदिए राम्राे हुन्थ्याे कि ! 

तर, एनआरएनए अष्ट्रेलियाका प्रवक्ता खरेल भने पुष्करकाे उचित मुल्याकंन गरिने बताउछन् । केही दिनमा हामी बैठक बसेर उहाँलाई माेटै रकम सहयाेग गर्नेछाै – खरेल भन्छन् । 

गाला डिनर पुष्करलाई राहत

घाेषणा भएकाे रकम नजुटेपछि केही सक्रिय युवाले पुष्कर शाहका लागि डिसेम्बर १३ मा च्यारिटी डिनरकाे आयाेजना गरेका छन् । यसबाट कम्तिमा ६ हजार डलर संकलन हुने बताईएकाे छ । 



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ