Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsप्रधानमन्त्री, चार जना पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुख विरुद्ध सर्वोच्चमा अपहेलना मुद्धा

प्रधानमन्त्री, चार जना पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुख विरुद्ध सर्वोच्चमा अपहेलना मुद्धा


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानन्यायाधीश अनुपराज शर्मा, मीनबहादुर रायमाझी, कल्याण श्रेष्ठ र सुशीला कार्कीसँगै पूर्वसभामुख दमननाथ ढुंगानाविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता भएको छ ।

मंगलबार सर्वोच्च अदालत प्रशासनमा प्रधानमन्त्री ओलीविरुद्ध अदालतको अवहेलनाको दुईवटा मुद्दा दर्ता भएको हो । वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य र अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले छुट्टाछुट्टै अवहेलना मुद्दा दर्ता गराएका हुन् । आचार्यको ५२२१ नम्बरमा र न्यौपानेको ५२२६ नम्बरमा मुद्धा दर्ता भएको छ । प्रधानमन्त्री ओलीले माघ ९ गते काठमाडौंको कार्की ब्याङ्केटमा भएको कार्यक्रममा वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा बहस गरेको विषयमा निन्दायुक्त टिप्पणी गरेको उनीहरुको जिकिर छ । त्यतिबेला प्रधानमन्त्री ओलीले ‘एक जना बाजे वकिललाई सर्वोच्च लगेर तमासा देखाएछन् भन्ने टिप्पणी गरेका थिए ।

वरिष्ठ अधिवक्ता आचार्यले दायर गरेको अवहेलना मुद्धामा प्रतिनिधिसभा विघटनको मुद्धामा सर्वोच्च अदालतमा भइरहेको बहसलाई ‘तमासा’ र बहस गर्ने कानुन व्यवसायीलाई ‘बाजे’ भन्ने निन्दायुक्त शब्द प्रयोग गरेर प्रधानमन्त्रीले अदालतको अवहेलना गरेको भन्दै ओलीमाथि न्याय परिषद् ऐन २०७३ को दफा १७ अनुसार हदैसम्मको सजाय माग गरिएको छ । आचार्य गत आइतबार र न्यौपाने सोमबार सर्वोच्च पुगेपनि सर्वोच्च प्रशासनले अध्ययन गर्ने भन्दै मुद्धा दर्ता गरेको थिएन । ‘खड्गप्रसाद शर्मा ओलीले प्रयोग गरेको शब्द लवज र उहाँले प्रदर्शन गरेको व्यवहारले अदालत र इजलासको अवहेलना भएकाले उहाँलाई अवहेलनामा कारबाही गरी सजायसमेत गरी पाउन अनुरोध छ’, प्रधानमन्त्रीविरुद्धको निवेदनमा भनिएको छ ।

यस्तै, चारजना पूर्व प्रधानन्यायाधीशविरुद्ध पनि अवहेलना मुद्दा दर्ता भएको छ । प्रतिनिधिसभा विघटन असंवैधानिक भन्दै विज्ञप्ति सार्वजनिक गर्ने चार पूर्वप्रधानन्यायाधीश अनुपराज शर्मा, मीनबहादुर रायमाझी, कल्याण श्रेष्ठ र सुशीला कार्कीविरद्ध अधिवक्ता राजाराम घिमिरेले अवहेलना सम्बन्धी रिट दायर गरेका हुन् । प्रतिनिधिसभा विघटन सम्बन्धी विचाराधिन मुद्धामा पूर्वप्रधानन्यायाधीशले असंवैधानिक भनेर अदालतको अवहेलना गरेको दाबी निवेदनमा गरिएको छ । निवेदनमा पूर्वप्रधानन्याायाधीशलाई आफै उपस्थित भएर जवाफ दिन भनिएको छ । पुस २४ गते सर्वोच्च अदालतका चार पूर्वप्रधानन्यायाधीशले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भन्दै विज्ञप्ति जारी गरेका थिए ।

यस्तै, पूर्वसभामुख दमननाथ ढुंगानाविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता भएको छ । मंगलवार राजाराम घिमिरेसहित २ जनाले पूर्व सभामुख ढुंगानाविरुद्ध अवहेलना मुद्दा दर्ता गरेका हुन् । ढुंगानाले केहीदिन अघि अदालतले शतप्रतिशत संसद ब्यूँताउनुपर्छ, सडकबाट न्यायाधीश तान्ने दिन आउन सक्ने भन्दै टिप्पणी गरेको विषयलाई लिएर अपहेलना भएको रिटमा दाबी गरिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ