Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपालमा कोरोनाविरुद्धको खोप, खोप लगाएका फन्टलाइनर चिकित्सकको अनुभव यस्तो

नेपालमा कोरोनाविरुद्धको खोप, खोप लगाएका फन्टलाइनर चिकित्सकको अनुभव यस्तो


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बिहान १० बजे भर्चुअल विधिबाट खोप अभियानको उद्घाटन गरेसँगै देशैभर खोप लगाउने कामले तिब्रता पाएको छ । पहिलोदिनबाटै खोप पुग्न बाँकी देशका १३ जिल्ला बाहेकमा खोप लगाउन थालिएको छ ।

कोरोना भाइरस (कोभिड १९) विरुद्धको खोप अभियानको पहिलो दिन बुधबार देशभर ९ हजार ८४ जना फन्टलाइनरले खोप लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६४ जिल्लाका ९३ खोप केन्द्रबाट ९०८४ जना स्वास्थ्यकर्मी र फ्रन्टलाइन कर्मचारीले कोरोना खोप लगाएका हुन । स्वास्थ्य मन्त्रालयका अनुसार प्रदेश १ मा १ हजार २५५, प्रदेश २ मा ७२६, बागमतीमा २ हजार ६९४, गण्डकीमा १ हजार ८४३, लुम्बिनमा ७३३, कर्णालीमा ७५१ र सुदूरपश्चिममा १ हजार ८२ जनाले खोप लगाएका छन् । खोप लगाएका व्यक्तिहरुमा अहिलेसम्म कुनै पनि साइड इफेक्ट अर्थात समस्या नदेखिएको बताइएको छ ।

छोटो समयमा खोप तालिम, ढुवानी तथा वितरण, सञ्चार र खोप केन्द्रहरुको व्यवस्थापन गरेर खोप अभियान सुरु गरिएपनि कोरोना भाइरस संक्रमितको उपचारमा जस्तै स्वास्थ्यकर्मीले यो अभियान सफल पार्न समेत भरपुर मेहनत र सहयोग गरेको भन्दै स्वास्थ्यमन्त्रालयले नेतृत्वदायी नेतृत्वदायी भूमिका खेलेकोमा सबैलाई धन्यवाद दिएको छ । पहिलो चरणमा भारतले अनुदानमा दिएको १० लाख डोज कोरोना खोप लगाइने र बाँकी खोपको खरिद प्रक्रिया सुरु गरेर तीन महिनाभित्र सबै नेपालीलाई कोरोनाविरुद्धको खोप लगाउने तयारीमा सरकार जुटेको छ ।

के भन्छन खोप लगाएका फन्टलाइनरहरु ?
कोरोना भाइरस (कोभिड–१९) विरुद्ध खोप लगाउने पहिलो दिन स्वास्थ्यकर्मी तथा अस्पतालका कर्मचारीको मुहारमा जिज्ञासा मिश्रित खुसी देखिएको छ । खोप लगाएका कतिपय स्वास्थ्यकर्मीले ऐतिहासिक दिनको साक्षी बस्न पाएको भन्दै खुसी साटेका छन् । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागर राजभण्डारी, डा. अनुप बास्तोला र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुना झा कोरोनाविरुद्धको खोप लगाउँदा उत्साहित देखिन्थे । डा. राजभण्डारी, डा. बास्तोला र डा.झाले भने, ‘भ्याक्सिनसँग कोही पनि त्रसित हुन जरुरी छैन, हामीले ढुक्क भएर लगायौं, तपाईंहरु पनि लगाउनुस् ।’

कोरोना महामारी सुरुवात भएदेखि नै टेकु अस्पतालसहित देशैभरका स्वास्थ्यकर्मीको दिनचर्या तनावमै बित्यो । सीमित स्रोत र साधनका बाबजुद कोरोना महामारी नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मीहरु कोरोना फैलिएको एक वर्षमै खोप लगाउन पाउँदा दंग छन् । नेपालको पहिलो संक्रमित भेटिएदेखि उपचारमा खटिएका डा. अनुप कोरोनाकालमा फैलिएको अफवाह चिर्न भूमिका खेलेका स्वास्थ्यकर्मी समेत हुन, उनी भन्छन्, ‘हरेक खोपले केही न केही असर गर्छ, त्यसो भयो भने गलत प्रचार नगरियोस् ।’ महामारीको समयमा इपिडिमियोलोजी तथा रोग नियण्त्रण महाशाखाको नेतृत्व गरेका भाइरोलोजिस्ट डा. वासुदेव पाण्डे भन्छन ‘हामी त साह्रै भाग्यमानी ! कोरोना संक्रमित पनि पहिला देख्यौं, खोप पनि पहिले नै पायौं, अलिअलि साइडइफेक्ट त भात खादा पनि हुन्छ नि कोरोना खोपविरुद्ध डराउनुपर्ने कुनै कारण नै छैन ।’

कोभिड देखिएपछि चिकित्सककै भागाभाग चलिरहेको समयमा कोरोना परीक्षणमा खटिएकी थिइन् डा. मोनी सुवेदी । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा खटिएकी मोनीसँग कुनै समय परिवार, समाज र चिनेजानेका मानिससमेत डराउँथे । कोरोनाविरुद्धको खोप लगाएकी उनी अब जोखिमबाट केही मुक्ति मिलेको बताउँछिन । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड उपचार केन्द्रका फोकल पर्सन डा. बुद्धिसागर लामिछाने, ल्याब टेक्निसियन शंकर भण्डारीले सरकारले फ्रन्टलाइनरलाई पहिलो चरणमा खोप लगाउने निर्णय गरेपछि जनतालाई ऊर्जा भर्न पनि आफूले लगाउने दायित्व सम्झिएको बताए । गण्डकी प्रदेशकै स्वास्थ्यकर्मीको ऊर्जा भर्ने कामको सुरुआत पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. वुद्धिबहादुर थापाले गरेका छन् ।

प्रदेश १ मा पहिलो पटक कोसी अस्पताल विराटनगरका मेडिकल सुपरीटेण्डेन्ट डाक्टर चुमनलाल दास र वरिष्ठ फिजिसियन डाक्टर दीपक सिग्देलले खोप लगाए । डाक्टर द्धयले खोपका विषयमा समाजमा अनेकखालका आशंकाहरु भएपनि खोप सुरक्षित रहेको प्रतिक्रिया दिए । कर्णाली प्रदेशमा कोरोना भाइरसविरुद्धको खोप अभियान सुरु गरेका स्वास्थ्य निर्देशनालयका निर्देशक डा.रविन खड्का, प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्का र कोभिड–१९ खोप व्यवस्थापनका संयोजक एंव बाल रोग विशेषज्ञ डाक्टर नवराज केसीले कोरोनाविरुद्धको खोप ढुक्क भएर लगाउन सुझाब दिएका छन् ।

कतिपय चिकित्सक तथा स्वास्थ्यकर्मीलाई गाउँ, छिमेक र परिवारलेसमेत खोप नलगाउन भनेका छन् । रपनि हिजो अग्रपंक्तिमा रहेर काम गर्दा जसरी गर्व गरेका थिए, त्यसरी नै पहिलो चरणमा पहिलो लहरमै बसेर खोप लगाएर आम सर्वसाधारणको चासो र चिन्ता स्वास्थ्यकर्मीले नै हटाउन भूमिका खेलेका छन् । कोरोना संक्रमितको उपचारमा खटिएकै कारण थुप्रै स्वास्थ्यकर्मीहरुले दुर्वचनरदुव्यर्वहार सहनुप¥यो । भर्खरभर्खर कोरोना संक्रमित भेटिएको बेला जस्तै त्रास र अफवाह अहिले खोप आउँदा पनि दोहोरिन्छ कि भन्ने चिन्तामा रहेका चिकित्सकहरु सबै मिलेर यो अफबाह चिनुपर्ने बताइरहेका छन् ।

मापदण्ड विपरीत प्रदेश २ का मन्त्रीले लगाए कोरोना खोप
सरकारी मापदण्डलाई उल्लंघन गर्दै प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले कोरोना खोप लगाएका छन् । कोरोना खोपलाई लिएर अफवाह समेत रहेकाले त्यसलाई चिर्न आफूले खोप लगाएको मन्त्रीको दाबी छ ।
प्रादेशिक अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. प्रमोद यादव पनि त्रास हटाउन मन्त्री आफैंले खोप लगाएको जिकिर गर्छन ।

कस्ता व्यक्तिले खोप लगाउन हुन्न
१८ वर्ष उमेर नपुगेकाले खोप लगाउनुहुन्न । कोरोनासँग मिल्दोजुल्दो लक्षण भएका, ज्वरो आएका, सुत्केरी, गर्भवतीलाई पनि खोप नलगाउन चिकित्सकहरुले सुझाव दिएका छन् ।

चिकित्सकहरुका अनुसार खोप लगाएको ८ हप्ताभित्र शरीरमा कोरोनाविरुद्ध एण्टीबडी विकास हुन्छ । पहिलो डोज लगाएको २८ दिनपछि दोस्रो डोज लगाउनुपर्छ । तर खोप लगाएपनि माक्स लगाउने, हात धुने, भौतिक दूरी कायम गर्नेजस्ता जनस्वास्थ्यका मापदण्ड पालना गर्न चिकित्सकको सुझाब छ । महामारी नियन्त्रणको अचुक अस्त्र नै भ्याक्सिन भएको भनिदैगर्दा प्रधानमन्त्रीले भनेजस्तै तीन महिनामा सबै नेपालीले कोरोनाविरुद्धको खोप लगाउन पाउँछन वा खरिद प्रक्रियामै झमेला हुन्छ, अबको चासो यसमा छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ