Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaमृगौला रोगी युवाको उपचारका लागि ब्रिजवेनमा मम र चाउमिन अभियान

मृगौला रोगी युवाको उपचारका लागि ब्रिजवेनमा मम र चाउमिन अभियान


ब्रिजवेन
केही महिनादेखि मृगौला रोग लागेर जीवन र मरणको दोसादमा रहेका नेपाली युवा श्याम रौनियारको उपचारका लागि ब्रिजवेनमा मम चाउमिन अभियान सुरु भएको छ ।
उपचारका लागि आर्थिक सहयोग जुटाउनका लागि मम, चाउमिन र लगायत नेपाली परिकार बनाएर बिक्री गर्न थालिएको हो । परिकार बिक्रीबाट संकलित सबै नाफा रकम श्यामको उपचारका लागि सहयोग गरिने आयोजकले जनाएको छ । ब्रिजवेनका युवा बिपिन कार्कीले रौनियारको उपचारका लागि सहयोग जुटाउने अभियान सुरु गनुभएको हो । त्यहि अभियानमा थप रकम जम्मा गर्न मम चाउमिन बिक्री पनि सुरु गरिएको कार्कीले फेसबुकमार्फत जानकारी गराउनुभएको छ ।
ब्रिजवेनमा हालै सम्पन्न हिमालयन कप फुटबल प्रतियोगिताको खेल मैदानमा नेपाली परिकार बिक्री गरेर सुरु यो अभियान अहिले टेक अवेसम्म आइपुगेको हो । बजार भाउकै मुल्यमा चिकेन, भेज र बफ मम बिक्रीमा राखिएको छ भने चाउमिन, खसीको भुटनको खाजा सेट पनि बिक्री गरिने बताइएको छ । एक जना नेपाली युवाको ज्यान जोगाउन सुरु यो अभियानमा सबैले खानेकुरा किनिदिएर सहयोग गरिदिन आयोजकले अनुरोध गरेको छ ।
खाना किन्नका लागि ब्रिजवेनवासीले बिपिन कार्कीको मोवाइलमा सम्पर्क गर्नु सक्नुहुनेछ । ममको १० देखि १२, चाउमिनको १० देखि १२ र खाजा सेटको १३ डलर मुल्य तोकिएको छ ।
श्याम रौनियारको मृगौला उपचारका लागि यस अघि गैरआवासिय नेपाली संघ कुन्सल्याण्डले गो फन्ड मिबाट साढे २२ हजार डलर संकलन गरेको थियो । तर, भारतमा लगेर उपचार गर्न कम्तिमा पनि ७० हजार डलर खर्च हुने देखिएको छ । एनआरएनए अभियानबाट सोचे जत्ति रकम संकलन नभएपछि अप्ठ्यारोमा परेका रौनियारलाई रकम जुटाइदिन विपिन कार्की अगाडी आउनुभएको छ ।
४० हजार डलर संकलन गर्न विपिनको नेतृत्वमा केही महिना अघि घरदैलो अभियान नै सुरु भएको छ । नेपालीले संचालन गरेको व्यवसायको कार्यलयमै पुगेर कार्की समुहले सहयोग संकलन गरिरहेको छ । हालसम्म २८ हजार डलर संकलन भइसकेको विपिनले फेसबुकमार्फत उल्लेख जानकारी गराउनुभएको छ । थप १२ हजार डलर संकलन गर्नका लागि मम चाउमिन अभियान थप गरिएको बताइएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ