Friday, 26 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsभागरथी बलात्कारपछि हत्या : निर्मलाकै नियति दोहोरिने चिन्ता, कहिले पक्राउ पर्ने अभियुक्त ?

भागरथी बलात्कारपछि हत्या : निर्मलाकै नियति दोहोरिने चिन्ता, कहिले पक्राउ पर्ने अभियुक्त ?


काठमाडौं । सुदूरपश्चिम बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि बिभत्स हत्या भएको पोष्टमार्टम रिपोर्ट र प्रहरी अनुसन्धानले पुष्टि गरेको छ । तर आफू पढ्ने स्कुल र प्रहरी चौकी नजिकैको जंगलमा मृत अवस्थामा शब भेटिएको एक साता बित्दा पनि अपराधी पक्राउ पर्न सकेका छैनन ।

प्रहरी अनुसन्धानको दायरा ‘साँघुरो’ बन्दै गएको भनिदैगर्दा अपराधमा को को संलग्न थिए भन्ने एकिन भएको छैन । सुदूरपश्चिमकै कञ्चनपुरकी १३ वर्षीय निर्मला पन्तको बलात्कारपछि हत्या भएको साढे २ वर्षभन्दा धेरै हुँदा समेत घटनाका दोषी पक्राउ गर्न नसकिरहेको अवस्थामा फेरी बैतडीमा भागरथीले निर्मलाकै नियति भोग्नु परेको घटनालाई धेरैले चिन्ताको विषय बनाएका छन् । घटनाको निष्पक्ष छानविन गरेर दोषीमाथी कारबाही गर्न चौतर्फी दबाब बढिरहेको छ ।

कसरी घट्यो घटना ?
स्थानीय सनातन धर्म माध्यमिक विद्यालयमा कक्षा १२ मा पढ्ने भागरथी माघ २१ गते बिहान सधै झै स्कुल गइन् । साँझसम्म घर नफर्किएपछि परिवारजनले खोजी थालेपनि रातभर खोज्दा उनको अवस्था पत्ता लागेन । भोलिपल्ट बेलुकीपख घरबाट करिब एक किलोमिटर टाढा लवलेक सामुदायिक वन क्षेत्र माडिएको देखेपछि हल्लाखल्ला भयो । स्थानीय र प्रहरी सो स्थानमा पुगेर उनको शव फेला पारे घर र स्कूलको दूरी करिब तीन किलोमिटर छ ।

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार इलाका प्रहरी कार्यालय, खोचलेक र विद्यालयबाट करिब दुई किलोमिटरको दूरीमा घाँटी निमोठिएको, हातमा धारिलो हतियार प्रयोग गरिएको र बलात्कार गरी आधा शरीर निर्वस्त्र पारिएको अवस्थामा उनको शव भेटिएको थियो । बजारसम्म उनी साथीहरूसँग भए पनि घर जाने बाटो अलग भएकोले छुट्टिएर एक्लै हिँडेकी थिइन् । उनी सधैँ हिँड्ने बाटो लवलेक सामुदायिक वनकै थियो । शव फेला परेको स्थान उनको स्कुलभन्दा दुई किलोमिटर पर छ । त्यस दिन एक्लै घर फर्केकी भागरथीलाई कोही बाटो ढुकेर बसेको थियो वा कसैले पछ्याइरहेको थियो भन्ने अहिलेसम्म खुलेको छैन ।

परिवारले बुझेनन शव
घटनाको एक सातासम्म पनि आफन्तले शव बुझेका छैनन् । घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाहीका लागि दबाब दिन शव नबुझेको भागरथीका आफन्त शिवराज भट्ट बताउँछन् । प्रहरीले घटनामा संलग्नको पहिचान समेत गर्न नसकेकाले निर्मला पन्तको घटनाजस्तै अपराधी उम्किनसक्ने आशंकाकाबीच आफन्तले शव नबुझेर दबाब दिएको समेत कतिपय बताउँछन् ।

अनुसन्धान तिब्र
भागरथीको बलात्कारपछि हत्या भएको निष्कर्ष निकालेको प्रहरी विभिन्न पाटो केलाएर अनुसन्धानमा जुटेको छ । अनुसन्धानका लागि सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख डीआईजी उत्तमराज सुवेदी आफै घटनास्थल पुगेका छन् । माघ २३ गते बैतडी पुगेका डीआईजी सुवेदीले किशोरी हत्याको घटनालाई गम्भीरतापूर्वक लिएर अनुसन्धानमा जुटेको बताएका छन् । ‘फराकिलो तरिकाले सम्भावित सबै प्रक्रिया अपनाएर अनुसन्धान गरिरहेका छौँ । शंकास्पद केही व्यक्तिहरूमाथी समेत अनुसन्धान गरिरहेका छौँ ।’ सुवेदीले भने ।

घटनाको अनुसन्धानका लागि संघीय प्रहरी एकाइ कार्यालय, कैलालीबाट एसएसपी जनकराज पाण्डेको नेतृत्वमा सीआईबीसहितको टोली खटिएको छ । संघीय प्रहरी कार्यालय, धनगढीका एसएसपी मुकेश सिंहसहितको टोली पनि तालिमप्राप्त कुकुरसहित घटनास्थल पुगेर अनुसन्धानमा जुटेको छ । प्रहरीले घटना भएको क्षेत्रमा त्यस दिन हिँड्डुल गरेकाहरूसँगै खोचलेक–चडेपानी सडकखण्डमा माघ २१ र २२ गते चलेका सवारी साधन र यात्रुमाथी समेत सोधपुछ र अनुसन्धान गरिरहेको छ । डिआइजी सुवेदीले केही दिनमै घटनाको सत्यतथ्य बाहिर ल्याउने गरि अनुसन्धानमा जुटेको दाबी गरेका छन् ।

बलात्कारपछि हत्या
जिल्ला अस्पताल, बैतडीले जिल्ला प्रहरी कार्यालयलाई बुझाएको पोस्टमार्टम रिपोर्टअनुसार भागरथीको बलात्कारपछि हत्या भएको पुष्टि भएको छ । शवको प्रकृति र पोस्टमार्टम रिपोर्टबाट घटनामा धेरै जना संलग्न थिए कि एक जनामात्रै भन्ने पुष्टि हुन नभए पनि प्रहरीले विभिन्न कोषणबाट अनुसन्धान जारी राखेको छ । पोस्टमार्टम रिपोर्टअनुसार भागरथीको घाँटी थिचिएको छ र यौनाङ्गमा चोट छ ।

शरीरका अन्य भागमा चोट छैन । ‘सामूहिक बलात्कार हुँदा देखिने प्रमाणहरू भेटिएका छैनन्, घटना के हो भन्ने विषयमा केही समय पर्खिनुपर्ने हुन्छ, विधिविज्ञान प्रयोगशालाको रिपोर्ट आउनुपर्छ ।’ डीआइजी सुवेदीले भने । घटनास्थलका प्रमाणहरू रगत, भेजाइनल स्वाब र कपडा परिक्षणका लागि प्रयोगशालामा पठाइएको छ । भागरथीको बलात्कारपछिको हत्यामा परिचित व्यक्ति नै संलग्न रहेको बलियो आधार भेटिएपनि थप अनुसन्धानपछि सत्यतथ्य सार्वजनिक गर्ने प्रहरीको दाबी छ ।

गृहमन्त्री बादलको यस्तो दाबी
गृहमन्त्री रामबहादुर थापा (बादल)ले भागरथी हत्याको घटना निर्मला पन्तको जस्तो जटिल नभएको दाबी गर्दै अनुसन्धानमा छिट्टै सफलता मिल्ने बताएका छन् । नेपाल विद्यार्थी संघको ज्ञापनपत्र बुझ्दै मन्त्री थापाले सरकारको अनुसन्धान र प्रशासनिक निकाय पूर्णरूपले बैतडीमा केन्द्रित रहेको जानकारी दिएका थिए ।

‘हामी करिब अपराधीको नजिक पनि पुगिसकेका छौँ । अब केही दिनमै नतिजा बाहिर आउँछ ।’ गृहमन्त्रीले यस्तै दाबी गरेपनि २०७५ साउन १० गते कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्न व्यक्ति अहिलेसम्म फेला नपरेको घटनाले धेरैलाई प्रहरी र मन्त्रीको आश्वासनको विश्वास टुटाएको छ । भागरथीको बलात्कारपछि हत्या भएको घटनामा संलग्नहरु तत्काल कानुनी दायरामा आउन । आमा, छोरी, चेलीहरु बलात्कार र हत्याको सिकार बन्न नपर्नेगरि सरकारको सुरक्षा संयन्त्रले काम गरोस् यतिबेला हरेक नागरिकले यस्तै कामना गरिरहेका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ